दिल्लीको ढावामा सरदारजीको अर्ती


शनिबार विशेष

मोटामोटी पन्ध्र वर्षअघिको कुरो हुनु पर्ने हो। अहिले सम्झिँदा त्यस्तै लाग्छ।

मेरा तीन जना मित्रहरूका साथ दिल्ली जानुपर्ने भयो। हामी लौहपथ गामिनी अर्थात्, रेल चढेर वीरगंजसित टाँसिएको भारतीय सहर रक्सौल हुँदै बाटो लाग्यौँ। मित्रहरूको चलनचल्तीको सांसारिक नाम जे भए पनि मेरो यो संस्मरणमा त्यसले फरक पार्दैन। तैपनि सुविधाको लागि राम, श्याम वा हरि बुझे हुन्छ।

मेरो झिटीगुन्टामा बाटोको लागि भनेर मेरी गृहस्वामिनीले सबै साथीहरूलाई पुग्ने गरी बडो जतनका साथ रोटी र सुख्खा तरकारी हालिदिएकी थिइन्। साँझ खाना खाने बेलामा हामी आफ्‍नो पोकोपन्तरो खोल्ने तरखरमा थियौँ।

‘तात्तानो खाना….’ कसैले उँचो स्वरमा हाँक दिँदै गरेको आवाज हाम्रो कानमा ठोक्कियो। हाँक दिने मान्छे हामी बसेकै ठाँउमा आइपुग्यो। उसको हातमा रहेका खानाका प्याकेटहरूतिर दृष्टि जाने बित्तिक्कै हाम्रो ज्ञानचक्षु एक्कासी चलयमान भयो। एकातिर आफूसँगै ल्याएको रूप न रङको चिसो खाना, अर्कोतिर आकर्षक प्याकिङ र रूपरङ भएको तात्तातो खाना।

त्यहाँबाट आइरहेको बासनाबाट हामी झनै लठ्ठिएका थियौँ। हामीबीच केही बेर गन्थनमन्थन चल्यो।

‘घरबाहिर पनि घरकै खाना? त्यो पनि एक दिन पुरानो भइसकेको सुख्खा रोटी र बरफजस्तै चिसो तरकारी, छ्या!’ यसो भन्दै सबैले नाकमुख खुम्च्याए। एकछिन अगाडिसम्म स्वीकार्य भएको खाना हामीलाई अस्वीकार्य भयो। यस्तै त हो हामी मानवको आचरण। गतिलो विकल्प मात्र पाउन पर्छ, ठाँउ, नाक, कान अथवा जिब्रो फेर्न बेर लगाउँदैनौ। खैर, जित बजारु खानाकै भयो। घरायसी खानालाई पुन पोकोमै थन्क्याएर तातो खानाको रसास्वादनतिर लाग्यौँ।

अर्को दिन बिहान दिल्ली पुग्यौँ। करोलबागस्थित हाम्रो सदाबहार होटलमा हामीले झिटीगुण्टा बिसायौँ। म र श्याम एउटा कोठामा, राम र हरि अर्को कोठामा। नुहाइधुहाइ र खानपिन सक्याएर हामी आ–आफ्‍नो काममा व्यस्त भयौं। चार दिनसम्म दौडधुप चलिरह्यो।

पाँचौं दिन साँझ बल्ल अलि फुर्सद पाएका थियौँ। आज कुनै पीभीआर सिनेमा हलको लक्जरी क्लासमा बसेर हिन्दी सिनेमा हेर्नुपर्छ भनेर मेरो मनमा हुटहुटी जाग्यो। मेरो प्रस्ताव साथीहरूको संसदमा सर्वसम्मतीबाट पारित भयो। नजिकको पटेलनगरमा सत्यम् सिनेमा हल छ, एकदम गतिलो। करोलबागबाट पटेलनगर अटोरिक्सामा जाने, उतैकतै खाना खाने र रातिको ९ देखि १२ बजेको फिलिम हेर्ने योजना बनायौं।

जति योजना गुने पनि क्या गर्नु? भारतीय राजधानीको ट्राफिक नेपाली राजधानीको ट्राफिकभन्दा कहाँ कम हुनु! धुँवा र धुलोको अवस्था पनि हामीतिरको भन्दा दुर्बल थिएन।

करोलबागबाट पटेलनगरको पाँच किलोमिटर बाटो काट्न हामीलाई एक घन्टा लाग्यो। ठीक ठाँउमा पुग्दापुग्दै ८ः३० बजिसकेको थियो। एकातिर आन्द्रापुरका मुसाहरूले जिन्दावाद मुर्दावादको नारा घन्काउन सुरु गरिसकेका थिए, अर्कोतिर सिनेमा सुरु हुन थोरै समय बाँकी थियो। हामीहरू हतारहतार छेउछाउमा चितबुझ्दो रेष्टुरेन्ट खोज्न थाल्यौ। तर, बिडम्बना भनौ, जुन रेष्टुरेन्टमा छिरे पनि सबै टेबल ग्राहकले भरिभराउ, भित्र गोडा टेक्न पनि ठाँउ नभएको।

बूढाहरूले ठीकै भनेका छन्, ‘असल नियतले गरिएको प्रयास कहिल्यै खेर जाँदैन।’ हाम्रो प्रयास पनि खेर गएन। दस मिनेटको गहन सर्च अपरेशनपश्चात् हामीले चित्त बुभ्mदो भोजन गृह (उताको भाषामा पञ्जाबी ढावा) भेटायौं। त्यो ढाबा सानै थियो, तर सफासुग्घर र चिटिक्कको। सबैभन्दा चित्त बुझ्दो कुरो, एउटा टेबल खाली थियो। ग्राहक भर्खर उठेकोले होला, एक जना पिलपिले केटो टेबल सफा गर्दै थियो।

खानेकुराबारे हामीले आतुरीमा सोध्यौँ। भावशून्य पारामा उसले तत्क्षण फर्कायो, ‘तन्दुरी रोटी और आलु पनिर की सब्जी।’

वास्तवमा तात्तातो भातदाल खाने इच्छा थियो। तर, समयको संवेदनशीलतालाई ध्यानमा राख्दै अग्रसर भएर मैले सौदा कबुल गरेँ, ‘ठीक है, जल्दी से आठ तुन्दुरी रोटी, दो प्लेट आलुपनिर की सब्जी ले आओ। किन्तु ध्यान रखना रोटी एक दम करारी होनी चाहिए।’

संकटकालमा धेरै नखरा देखाउनु हुदैन भनेर साथीहरूले बुझेका रहेछन्। विरोध जनाएनन्। अथवा, भनौ मौन सहमति जनाए।
दस मिनेट बित्यो, तर खाना आएन। हाम्रो ब्यग्रता थेगिनसक्नु हुँदै गएको थियो। हामीहरू कुनै पनि हालतमा फिलिमको सुरुवाती अंश छुटाउने मनस्थितिमा थिएनौँ।

‘यार! सुरुकै सिन छुट्यो भन्ने फिलिमको असल चार्म नै सकिन्छ।’ साथीहरू गनगन गर्न थाले।

‘चाँडै गर! अन्यथा हाम्रो फिलिम छुट्छ।’ हामी टेबलबाटै कराउन थाल्यौँ। ढाबाका साहु अलि पर हाम्रो हल्लाखल्ला सुन्दै थिए।

उनी हटात् हामीनजिक आएर मधुरो स्वरमै भए पनि असन्तोष प्रकट गरे, ‘बाबुजी आपलोग फिलिम से तुलना करके ईश्वरीय प्रसाद का इस तरहा अपमान ना करे। बाँकी, आपलोग तो पढेलिखे लोग हो।’

म त अक्कनबक्क। उनको व्यङ्ग्यवाण सोझै मेरो छातीमा ठोकिएको थियो। औसत लम्बाई र पाको उमेरका। सरमा पगडी गुथेंका हुनाले उनी सिख समुदायका हुन् भनेर सहजै अनुमान गर्न सकिन्थ्यो।

‘क्या हुआ सरदारजी? हमलोग खाना ही तो माँग रहे है, वह भी पैसे देकर।’ मैंले प्रतिवाद गरेँ। रिसले मेरो कन्पारो रातो भएकै थियो। साथीहरूले पनि नमीठो मानेका थिए।

‘माफ करना बाबुजी, आपके लिए यह खाना महज पेट भरने का साधन होगा, मैं मूलतः किसान परिवार से हुँ ना, मेरे लिए तो यह ईश्वरीय प्रसाद की तरह है।’ उनको जवाफ सुनेर मलाई झोंक चल्यो।

‘तपाईलाई के लाग्छ? हामी मंगल ग्रहबाट आयातित एलियन हौ? हाम्रा पुर्खाहरू पनि कुनै न कुनै कालखण्डमा किसान त थिए।’ उल्टो फर्काउन खोजेँ, तर सकिनँ।

उनले हाम्रो मनोभाव बुझिसकेका थिए क्यारे। दायाँबायाँ पल्याकपुल्लुक हेर्दै थपे, ‘बाबुजी, छोटे मुह बडी बात होगी। आपलोग पढेलिखे लोग हो। फिर भी याद दिलाना चाहुंगा कि किसान दिनरात धरती माँ की सेवा करते है, खेतो को जोतते है। बिज डालते हैं, धरती माँ को सिंचते हैं र अपने बच्चो से ज्यादा पौधो का देखभाल करते हैं। तब ईश्वर की मेहर बरसती हैं और ईश्वरीय प्रसाद की उत्पती होती हैं।’ हामीे ट्व्वाँ परेर उनको कन्था सुनीरह्यौ।

‘बाबुजी, बात उतने पे ही खतम नहीं होती, आपके टेबल तक पहुचने से पहले ये सारे ईश्वरीय प्रसाद को लम्बी यात्रा करनी पडती है। मण्डी (बजार), कलकरखाने, दुकानदार इत्यादि जैसे कई चरणों से गुजरना होता है। हमजैसे होटलवाले हो या हमारे घर की गृहणियाँ, उनकी भूमिका भी कम जिम्मेदारीवाली नहीं होती । खाना सुपाच्य तो हो ही, साथसाथ जायकेदार (स्वादिष्ट) भी हो, विशेष ध्यान रखना पडता है। बडे भाग्यशाली है वे लोग जिन्हें प्लेट पर सजासजाया, गरमगरम और जायकेदार खाना मिल जाता हैं। वरना संसार में आज भी करोडों अभागे लोग हैं, जो हप्ताें भुखे पडे रहते हैं। उन्हे रुखीसुखी रोटियाँ भी नसिब नहीं होती।’

सरदारजीको कन्थो अझै सकिएन। हाम्रो धैर्यको बाँध फुटेर बाढीपहिरो जाने संभावना बढ्दै गएको थियो। म बुरुक्क उफ्रिहालेँ, ‘यार! आप तो प्रवचन झाडे जा रहे हो? फटाफट खाना लगा दिजिए, बस हो गया।’

साथीहरू पनि नेपालीमै सरदारजीलाई सराप्न  थाले, ‘ठूलै दिमाग चाटुको चक्करमा पर्‍यौँ। छ्या! आज खाना र सिनेमा दुवै छुट्ला जस्तो छ।’ सरदारजी साथीहरूको मर्म बुझिसकेका थिए। तैपनि अन्यथा मानेनन्।

‘बाबुजी, जिसे आप होटल समझ कर आए हो, वो असल में आपका अपना घर हैं। ऐसे जल्दीबाजी ना करे। आपलोग पहले फिल्म देख कर आईए, आधी रात हो जाए तो भी यह घर आपलोगो के लिए खुला रहेगा। आइए, तसल्ली (आराम) से बैठिए, एकदम जायकेदार खाना बनाकर खिलाउँगा, आपलोग उंगलिया चाटते रह जाओगे।’

हाम्रो मुटुभित्र आफ्नो भाषामा ‘सेल्फ रेस्पेक्ट’ अरुको भाषामा इगोको बाढीपहिरोको प्रहार सुरु भयो। हामीहरू मुरमुरिँदै जुरुक्क उठ्यौँ। र, त्यहाँबाट हिड्यौँ।

सिनेमा हलभित्र पपकर्न र कफीबाहेक केही थिएन। त्यसैलाई इन्धन मान्दै आन्द्रापुरलाई आपूर्ति गर्यौ। फिलिम हेर्दै गर्दा मेरा आँखा स्क्रिनतिर अवश्य नै गडेका थिए, तर कानमा सरदारजीकै स्वर गुजिँदै थिए। फिलिम समाप्त हुँदासम्म सरदारजीप्रति हाम्रो रोष पनि मत्थर भइसकको थियो। तर, आन्द्रापुरमा विद्रोहीहरूले पुन शिर उठाउन थालेका थिए। छेउछाउका सबै होटल बन्द भइसकेका थिए।

‘राति ११ः३० मा खानाको लागि अन्दाजी कताकता भौतारिँदै हिँड्ने, बरु सरदारजीकै ढाबामा जाउँ, उनले आउन भनेकै थिए,’ रामले सुझाव दियो।
‘दिल्लीका मान्छेलाई तिम्ले अझै चिनेको छैनौ। त्यहाँ पनि तिम्ले ताल्चाबाहेक केही भेटिने छैनौँ,’ मैले उसको कुरो काटेँ।

‘चान्स लिएर हेरौँ न। मुस्किलले सय पाइला त भित्र पस्नु पर्ने हो,’ श्यामले जोर दियो। हरिले पनि उही कुरामा जोड दियो, ‘भोख लाग्या छ, इगोको चक्करमा परेर आफैँलाई किन दुःख दिनु पर्यो? लेट्स ट्राई।’

हो रैछ। सरदारजी साँच्चिकै हाम्रो प्रतीक्षामा बसेका थिए। उनको भान्साकोठा, तन्दुरी र काम गर्ने पिलपिले केटो सबैथोक दुरुस्त थिए। उनले बडो प्रेमपूर्वक तात्तातो तरकारी र तन्दुरी रोटी तयार गरे। ग्राहकको नाममा हामीबाहेक एउटा मुसो पनि थिएन। खानेकुरा टेबलमा आइसकेपछि उनले आग्रह गरे, ‘भोजन सुरु गर्नुभन्दा अगाडि आफ्नो ईश्वरलाई सम्झिँदै उनीप्रति आभार प्रकट गर्नोस्। र, प्रार्थना गर्नोस्, यस संसारमा मानिस मात्र होइन, कुनै पनि प्राणीलाई भोकभोकै सुत्नु नपरोस्।’

हामीले अनुशासित शिष्यजस्तै उनको आग्रहको अनुसरण गर्‍यौँ।

खाना साँच्चिकै स्वादिष्ट थियो। हामीले आनन्दपूर्वक थपीथपी खायौँ। उनी आफैँ कुदीकुदी थप रोटी ल्याउँदै गरे। जति मज्जाले खाए पनि अर्डर गरिएकामध्ये दुईटा रोटी बाँकी नै रह्यो। भ्याउनै सकेनौँ। नमीठो मान्दै सरदारजी रोटीतिर गडेर हेरे, तर केही भनेनन्।

‘जितु, ये बची हुई रोटियाँ निकालकर कर देना, जितु बेटा। रास्ते में गाई, कुत्ते जो दिखेंगे, उन्हे खिला देना।’ त्यही पिलपिले केटोतिर हेर्दै उनले उर्दी जारी गरे। भुक्तानी लिने बेलामा उनले दुवै हात जोर्दै भने, ‘बाबुजी, मेरी बातों से चोट पहुँची हो तो क्षमा किजिएगा। क्या करुँ? अनपढ हूँ, दिल में जो रहता है, बिना किसी लागलपेट (औपचारिकता) के कह देता हुँ।’

‘होइन, होइन, तपाईंले भनेका कुरा मननयोग्य नै छन्। खाना पनि मीठो लाग्यो,’ भन्दै हामी पनि त्यहाँबाट उम्कियौं।

बाटोभरि एकापसमा कुरो गरिरह्यौं, ‘सरदारजी बोलीाचनको हिसाबले अलि रुखो खालका लागे पनि समग्रमा त ठीकै मान्छे रैछन्।’

अर्को दिन बिहान, म ल्यापटपमा ईमेल खोतल्दै थिएँ। नेपालबाटै मित्र विजय कायस्थले सम्झनुभएको रहेछ। ‘मित्र, भरपेट खाना पाएका छौँ भने हामीहरू साँच्चिकै भाग्यमानी नै रहेछौँ। अन्यथा यसै भूगोलभित्र पर्ने यस्ता ठामहरू पनि छन्, जहाँ मान्छे खान नपाएर मर्दै छन्।’

उनको ईमेलसँगै केही फोटोहरू पनि राखिएका थिए। सबै फोटो हृदयविदारक। सबै फोटोमा सोमालिया र सुडानतिरका जनताको कुपोषण एवं भोखमरी दर्शाइएको। एउटा फोटो त यस्तो भयावह थियो कि आङ्ग नै सिरिङ्ग भएर आयो। भोखमरीको मारमा परेका दुई प्राणीको फोटो थियो। फोटोमा एकातिर भोखमरीको कारणले मर्न आँटेको एउटो सानो बच्चा थियो भने त्यही फोटोमा अलि पर एउटा गिद्ध व्यग्रतापूर्वक त्यही बच्चाको मृत्यु कुर्दै थियो।

मेरा स्तब्ध आँखा ती फोटोहरूतिर नै गडेका थिए। मनमनै रोदन चल्दै थियो, ‘हे ईश्वर! तिमी किन यति निष्ठुर, निर्मम र संवेदनहीन भयौ? सबै त तिम्रै सन्तान हुन्, यिनीहरूलाई भेटपेट खाना उपलब्ध गराउनु तिम्रो जिम्मेदारी होइन?’

हरिको नाके स्वर कानमा ठोक्कियो, ‘छ्या! के गन्हाएको? तिम्रो मोजा त होइन?’

मेरो ध्यान ऊतिर मोडियो। ऊ नुहाइधुहाइ सक्याएर बाथरुमबाट निस्केकै थियो। उसले भनेजस्तै मैले पनि नाक खुम्च्याउँदै लामो स्वास लिँदै गन्ध थाहा गर्ने प्रयास गरेँ। कुनै चिज कुहिएकोजस्तो गन्धको अनुभव मलाई पनि भयो। हाम्रा मोजाहरू निर्दोष भेटिए। हामीहरू असल अपराधीको खोजीमा लाग्यौँ। अनुसन्धान अनुगमन गर्दै जाँदा अपराधी त मेरो खानेकुराको पोको पो रहेछ।

घरबाट ल्याइएका रोटीतरकारी ढुँसी लागेर पूरै बिग्रिसकेका रहेछन्। गृहस्वामिनीले ब्यागमा स्याउ र सुन्तला पनि राखिदिएकी थिइन्। ती फलफुल गलेर हलुवा भएछन्।

मेरो अवस्था सबुतप्रमाणसहित समातिएको अपराधी जस्तो भयो। छेउको कुर्सीमा अडेस लिएर बसेँ। मेरो आँखाअगाडि घरी गृहस्वामिनीको अनुहार, घरी सरदारजीको अनुहार, घरी इमेलसँगै आएका फोटोहरू प्रकट हुन थाले। कुहिएको गन्ध ती खानेकुरोबाट होइन, बरु मेरो मनको भित्री कुनाबाट आउँदै छ भनेर लाग्न थाल्यो।

ठ्याक्क त्यही बेला मोबाइल गुनगुनाउन थाल्यो। गृहस्वामिनीले सम्झिएकी थिइन्। फोनतिर गडेर हेरिरहेँ, उठाउने आँट नै भएन।

कथाः रङ्गमञ्च


अखिलेशबाबु नेपालका अति प्रतिष्ठित उद्योगपति हुन् । उनलाई नपत्याउने कुनै राजनैतिक शक्ति नै छैन देशमा । धितोजमानी केही नराखे पनि उनले जुनसुकै बैंकबाट जति पनि कर्जा पाउन सक्छन् । जस्तोसुकै उद्योग स्थापना गर्न चाहे, सहजै अनुमति पाउन सक्छन् । उनी सम्पन्न परिवारका मुखिया हुन् भनेर उनको शरीरको वजन र आयतनबाट सहजै अनुमान गर्न सकिन्छ । उनी ख्यालख्यालमा सफल भएका होइनन् । मैत्रीकलाको मामिलामा उनले विद्यावारिधि नै गरेका छन् । “जसरी लाभ नदिने औषधी प्रयोग गर्नुको कुनै औचित्य हुँदैन, ठीक त्यस्तै लाभ नदिने मित्रसित टाँसिएर बसिराख्नुको कुनै औचित्य हुदैन,” भन्ने उनको मान्यता रहेको छ । त्यही भएर होला, उनी प्रभावशाली अथवा शक्तिसम्पन्न व्यक्तिहरूसित मात्र मित्रता राख्न रुचाउछन् । सानातिना मान्छेसित हात मिलाउनु पनि अपव्यय नै लाग्छ उनलाई ।

उनको अर्को पनि ठम्याइ छ, जसरी हरेक औषधीको प्रयोग म्याद हुन्छ, त्यस्तै मित्रहरूको प्रयोगको पनि म्याद हुन्छ । त्यही भएर होला, उनी कुनै सेवानिवृत्त हाकिम अथवा सत्ताच्युत पार्टीको नेतासित मित्रता राख्दैनन् । जसरी बजारमा डिस्पोजेबल सामग्रीहरुको प्रयोग बढ्दो हो, त्यस्तै उनी पनि डिस्पोजेबल अर्थात युज एण्ड थ्रो खाले मित्रतामा विश्वास राख्छन् । क्यालकुलेटर त उनको मगजमै जडान गरिएकोजस्तो लाग्छ मलाई । त्यही भएर होला, उनी बेलाबखत भनिराख्छन्, ‘कुनै पनि निर्णय हृदयनगरबाट होइन, मगजपुरबाट लिनु पर्छ । कस्तो आपतविपद् कसरी लगानी गर्दा मूल, सुद, नाफा र प्रसिद्धि असुलउपर गर्न सकिन्छ भन्ने काइदा उनले खुबै जानेका छन् । त्यही भएर होला, उनी हरेक खाले दैवीयविपदामा अग्रणी भूमिका निर्वाह गरेका हुन्छन् ।

माफ गर्नु होला, मैले आफ्नै परिचय दिन छुटाएँ । म उनकी निजी सचिव हुँ, दामिनी । बेलाबखत उनकी परिचारिकाको भूमिका निर्वाह गर्छु । उनीसँगै नेपालबाहिर गएको बेला उनको सहधर्मिणीको भूमिका मैले नै निर्वाह गर्नु परेको हुन्छ । सो बापत उनले अतिरिक्त सुखसुविधा र शुल्क पनि इमन्दारीपूर्वक बेहोर्ने गरेका छन् । निसंकोच भन्छन्, “दामिनी जबसम्म तिम्रो जवानी र मेरो पहलमानीमा दम रहन्छ, तबसम्म म कुनै बेइमानी गर्दिनँ ।”

उनको जति ठूलो कार्यभार उति नै गहन व्यस्तता । तथापि उनी जति व्यस्त भए पनि सुस्वास्थको मामिलामा कुनै किसिमको हेलचेक्र्याईं गर्दैनन् । बिहान आँखा खुल्नेबित्तिक्कै उनी दिनहुँ सिरानी मुनिबाट योगप्राणायामबारे लेखिएको एउटा मोटो किताब झिक्छन् । पानाहरू पल्टाएर कम्तिमा एक दर्जन जति आसन ध्यानपूर्वक नियाल्छन् । र, श्रद्धापूर्वक निधारमा छुवाएर सो किताब पुनः त्यही सिरानीमुनि राख्छन् । त्यही ओछ्यानमै बसेर दुई-तीन मिनेट अनुलोमविलोम र कपालभाँति गर्छन् । र, दस मिनेट जति शवासन गर्छन् । अन्त्यमा कार्वन डाइअक्साईड विसर्जनका साथ आफ्नो शारीरिक व्यायामको विधिवत् समापन गर्छन् ।

योगप्राणायामपछि उनको फोन सम्वाद सुरू हुन्छ । एक दर्जन ठाँउमा फोन घुमाउँछन्, अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर, क्रुड आयल र सुन इत्यादिको अद्यावधिक मूल्य जाँचपडताल गर्छन् । तत्पश्चात् मलाई निर्देशन दिन्छन् । नेपालमै भएको बेलामा फोनमार्फत, अन्यथा कोठामै बोलाएर । बल्ल उनको तल्लो उदरमा कुतकुती सुरू हुन्छ र उनी बाथरुममा पस्छन् । उनको उदर खन्याउने अभियान कम्तिमा एक घन्टा चल्दो रै’छ । त्यही भएर उनले समयको कदर गर्दै उनी ट्वीट, फेसबुक आदिमा आफ्ना प्रेरणादायी सन्देश सम्प्रेषित गर्ने काम बाथरुमभित्रै सक्छन् ।

“उनी धर्मकर्ममा समय दिँदैनन्” यसो भन्न पनि मिलेन । बिहान तयार भएर उनी सर्वप्रथम घरभित्रै अवस्थित भगवानकोठामा पस्छन्, अगरबत्ति बालेर लगभग एक दर्जनजति मागपत्र ईश्वरसमक्ष प्रस्तुत गर्छन् । कुनै अन्यथा नलागोस्, उनी एकतर्फी रुपमा माग मात्र राख्दैनन्, बरु दुई तर्फी लेनदेनको प्रस्ताव नै राख्छन् । हे भगवान्, तिमी मलाई अमूकअमूक खालको लाभ गराई देऊ, सट्टामा म पनि तिम्रो दरबारमा फलानोफलानो भेट चढाउने छु । भगवानलाई उनको प्रस्ताव आकर्षक लागेर होला, उनको प्रार्थना कहिल्यै टार्दैनन् । उनको आम्दानी दिन‑दोब्बर रात्री‑चौब्बर हुँदै गएको छ ।

एक वर्ष पुरानो घटना हो । दिपावलीको पूर्वसन्ध्याको अवसर थियो । साँझ उनी आफ्नो कारमा कतै जाँदै थिए, सँगै म पनि थिएँ । बाटामा एउटा मन्दिरतिर उनको ध्यान गयो, पूर्ण रुपेण अँध्यारोमा डुबेको मन्दिर ! उनलाई अनौठो लाग्यो । हामी गाडीबाट ओर्लिएर मन्दिरभित्र पस्यौँ । मन्दिरको पुजारीलाई सोध्दा थाहा भयो- अपर्झट लोडसेडिङको मारमा परेर मन्दिर भित्र-बाहिर अँध्यारो भएको हो । “छ्या ! दिपावलीको अवसरमा त मन्दिर झनै झिलिमिली हुनु पर्ने थियो ।” उनलाई उकुसमुकुस भयो । उनले दुवै हात जोर्दै भगवानलाई मनमनै प्रस्ताव राखे, “हे भगवान ! तिम्रो यो मन्दिरलाई तीन दिनसम्म झिलीमिली राख्ने जिम्मा मेरो भयो । बरू सोधभर्नामा तिम्ले पनि मेरो एउटा सानो काम फत्ते गरिदिनु पर्ला । मन्त्रालयमा एउटा फाइल अडकेको छ, त्यो फुकुवा गराइदिनु पर्ला ।”

प्रस्ताव सकिएलगत्तै उनले पुजारीलाई उदार मालिकको पारामा सोधे, “पुजारी बाबा, यो मन्दिरलाई तीन दिनसम्म तैलीय दियोबत्तीले झिलिमिली गरिराख्न कति खर्च वहन गर्नु पर्ला ?” पुजारीले आभारभावका साथ जजमान पाँच हजार जति रुपैयाँ भयो भने तपैँले चिताएजस्तै झिलिमिली गर्न सकिन्छ ।”

“जम्मा पाँच हजारले काम चल्छ ?” अखिलेशबाबुलाई अचम्भ भयो ।

“हो चल्छ,” पुजारीले आत्मविश्वासका साथ दोहर्याए । उनले आफ्नो गोजीबाट आतुरीमा पाँच हजार झिकेर पुजारीको हात राखे । गाडीमा फर्किएपछि उनले मलाई हाँस्दै भने, “दामिनी, आज मभित्र उदारताको सुनामी नै चलेको थियो, पुजारीले लाख रुपैयाँ पनि मागेको भए म सजिलै दिन्थेँ तर खै, मेरो उदारता ठम्याउनै सकेनन् उनले ।” भन्दै उनी हो हो गरी हाँस्न थाले । त्यो दिन मैले बल्ल बुझेँ, “उनी त ईश्वरभन्दा ठूला भएका छन् । जुन ईश्वरको कृपा भएर उनले त्यत्रो धन आर्जन गरेका छन्, त्यही ईश्वरको घर आज उनको उदारतामा निर्भर भएको छ ।”

उनी आम्दानीको निमित्त मात्र मरिहत्ते गर्छन् भन्ने कुरो पनि होइन रहेछ । समाजसेवामा खर्चिनु पर्दा अप्ठेरो मान्दैनन् । गरिब-दीनदुःखीको पीडा देख्नै सक्नु हुन्न । खासगरी दुरुस्त काया र सुन्दर मुहारकी अप्ठेरोमा परेकी कोही महिला आँखाअगाडि पर्ने बित्तिक्कै भने उनको उदारमन झनै फराकिलो भइदिन्छन् । उनीभित्र लुकेको कामदेव सक्रिय भइदिन्छ । उनले इच्छाएअनुसारको कुरो मिल्यो भने बाक्लो सहयोग, अन्यथा थोरबहुत भए पनि आर्थिक सहयोग अवश्य नै गर्छन् ।

गत सोमबारका दिन उनको अति ब्यस्तम् दिन भएको थियो । “आज बेलुकी मलाई साँझ ४ बजे होटल हयातमा एक बहुराष्ट्रिय कम्पनीका डेलिगेट्सका साथ बस्नु नै पर्ने । बैठक छुट्नुको अर्थ करोडको परियोजना गुम्न सक्ने । तीन महिनादेखिकै तयारी ! दुर्भाग्यवस ठ्याक्क त्यही बेला मलाई आर्यघाट पनि पुग्नु पर्ने भयो । मेरो एकजना बाल सहपाठी मित्रको आकस्मिक मृत्यु भएको छ । ऊ कम्तिमा आफ्नो मृत्युवरण एक दिन अगाडिपछाडि पनि गर्न सक्थ्यो नि ! तर उसलाई आज नै मर्नुपर्ने थियो । उसको छोरो नेपाल सरकार प्रथम श्रेणीको राजपत्रांकित कर्मचारी छ । आज होइन भने भोलि त कुनै न कुनै काम परिहाल्छ । फेरि आज नै साँझ ६ बजे सम्मानीय प्रधानमन्त्रीले निमन्त्रणा गर्नु भएको रात्रिभोजमा सामेल हुनु पर्ने । भोलि बिहान जर्मनीको निमित्त उड्नु पर्ने,” यावत अपर्झट आइपरेको धर्मशंकटउपर उनी बिहानदेखि नै गनगन गर्दै थिए ।

तर जेहोस्, अखिलेशबाबु त बहुमुखी प्रतिभाका धनी रहेछन् । दुई बजेसम्म उनले अनौठा जुक्ति निकालिसकेका थिए । बेलुकी चार बजे आर्यघाट नगई एक घन्टाअगावै दिवंगत मित्रको घरमा पुग्ने, साधारण कुर्तापैजामाको पहिरन लगाएर । त्यहाँ शोकसन्तप्त परिवारको बीचमा आधा घन्टाजति समय व्यतित गरेर त्यहाँबाट उम्किने । ह्यातको काम सकाएर छ बजेसम्म बालुवाटार छिरिहाल्ने । उनले आफ्नो योजनाबमोजिम सेता रङको तैयारी कुर्तापैजामा झिकाइसकेका थिए ।

बेलुकी दुई तीसमा उनी अफिसबाट सेतो कुर्तापाइजामामै निस्के, सँगै म पनि थिएँ । दिवंगत मित्रको घरभित्र गोडा टेक्न नपाउँदै अखिलेशबाबुको रोदनक्रन्दन र विलाप सुरु भयो । दिवंगतको पार्थिव शरीरसित टाँसिएर उनले निकै बेरसम्म अश्रुका थोपा चुहाइराखे । उनको अवस्था देखेर त मेरा आँखा पनि रसाएका थिए । आधा घन्टाको विलापपछि उनी कसैलाई कुनै सुईको लाग्न नदिई त्यहाँबाट लुसुक्क हिँडे, सँगै म पनि । गाडीमा बस्दासम्म उनी फरक मान्छे भइसकेका थिए । उनको अनुहारमा एकपैसोको दुःख अथवा पीडाको छनक देखा परेन । त्यो दिन म उनको रङ्कौशलको कायल नै भएको थिए ।

उनले गाडीमा बस्याबस्यै कुर्तापैजामा फुकालेर सुटबुट र गरगहना धारण गरे । घडी, औँठी र सिक्री इत्यादि जोरेर हिसाब निकाल्ने हो भने दसपन्ध्र लाख रुपैयाँका सरसमान त उनले आफ्नो पहिरनमा सामेल गरिसकेका थिए । केही बेरअगाडिसम्म शोकाकुल परिवारका अगुवाझैँ देखिने अखिलेशबाबु यतिखेर सेलिब्रेटी हिरो जस्तै भएका थिए । एकसरो उनीतिर नै हेर्दै गरेको भेउ पाएर उनले मलाई स्पष्ट्याए, “हेर दामिनी, आजको आडम्बरी जमानामा तिमी भित्रबाट कति चोखी छ्यौ, कसैले वास्ता गर्दैन, बाहिरबाट आफू चिटिक्क परेकी र सम्पन्न देखाउन सक्नु पर्छ ।”

सम्बन्धित पोस्टहरु

ह्यातमा उनको तार्किक प्रस्तुति र आत्मीय व्यवहारबाट पाहुनाहरु सम्मोहित नै भएका थिए । उनको साझेदारीमा सोलार बिजुलीको उद्योग लगाउने पाहुनाहरूले सहमति जनाए । स्याम्पेन खोलियो, चियर्सभन्दै दुई प्रतिष्ठित प्रतिष्ठानबीचको साझेदारी दीर्घकालीन रहोस् भनेर कामना गरियो । गम्भीर बैठक हँस्यौलीठट्यौलीमा परिणत भयो । समय बित्न बेर नै लागेन । बाध्य भएर मैले नै उनलाई साउती गरे, “सर अब निस्किनु पर्यो, पाँच तीस भयो ।”

उनी र म हतारहतार त्यहाँबाट निस्कियौ । गाडीभित्र बस्याबस्यै उनी पुनः आफ्नो पहिरन फेर्ने उपक्रममा लागे । यो पटक उनी दाउरा सुरुवाल र ढाका टोपी लाउने सुरमा थिए । मलाई अचम्भ भयो, “सुट‑टाई पनि हजुरलाई सुहाएकै थियो, किन फेर्नु पर्यो ?”

“कस्तो लाटीजस्तो कुरो गरेकी ? पाँच वर्षदेखि मेरो निजी सचिव छ्यौ, यति पनि अर्थ्याउन सक्दिनौ ?” मायालु पारामा मलाई हप्काउँदै उनले स्पष्ट्याए, “हेर, रात्रिभोजमा थुप्रै मन्त्री र उच्चपदस्थ सरकारी हाकिमहरू पुग्ने छन् । विभिन्न वैदेशिक नियोगका राजदूतहरू पनि पुग्दैछन् । त्यस्तो अवस्थामा आफूलाई कट्टर राष्ट्रवादीको रुपमा प्रस्तुत गर्न पाउने मौका मैले कसरी चुक्नु ?”

कसैलाई फोन गरेर उनले सल्लाह गरे, “मैले कुनकुन कुरा, कसोकसो राख्दा प्रधानमन्त्री मख्ख पर्नु हुन्छ ? बाफ रे यिनी त कहिल्यै नथाक्ने कर्मयोगी पो रहेछन्, मनमनै गम्न म बाध्य भएँ ।

खैर मलाई मेरो फ्ल्याटसम्म पु्र्याएर उनी बालुवाटारको निमित्त हिँडे । अर्को दिन म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलि चाँडै पुगेँ । अखिलेशबाबुको त्यस्तै निर्देशन थियो । सुरक्षा जाँच आदि सकेर बोर्डिङ लन्जमा बसेकी थिए । उनी हस्याङ्गफस्याङ्ग गर्दै बोर्डिङ लन्जमा पुगे । रिसाएको जस्तो भंगिमा बनाउँदै मभन्दा अलि परको कुर्सीमा बसे । मुख बङ्ग्याउँदै फोन गरेर भने, “हिजो मेरी श्रीमतीको जन्मदिन थियो, तिमीले किन सम्झना गराइनौ ? हिजो घर फर्किंदा कस्तो बेमज्जा भयो मलाई । श्रीमतीलाई फकाउन हम्मे पर्या थियो मलाई ।”

“ला, हजुरकी श्रीमतीको जन्मदिन पनि सदैव मैले नै सम्झाइराख्नु पर्ने ?” मैले अचम्म मान्दै मसिनो स्वरमा फर्काएँ ।

“हो त नि, एक हिसाबले तिमी पनि मेरी अघोषित श्रीमती नै हौ,” उनले दायाँबायाँ हेर्दै मसिनो स्वरमा थपे ।

प्लेनमा बस्दासम्म उनको रिस वाष्फ भइसकेकको थियो । केही बेरपछि उनी मेरो छेउको सिटमा आएर बसे । हाँस्दै भने, “ तिम्लाई थाहा छ दामिनी हिजो राती श्रीमतीको क्रोधलाई शान्त पार्न के गर्नु पर्यो मैले ?”

“हजुरले नभन्दासम्म कसरी थाहा हुनु ?” मलाई कौतुहल भयो ।

“श्रीमतीको रातोपिरो अनुहार हेर्नेबित्तिक्कै म बुझिसकेको थिए, दाल में कुछ काला है ! बस् मैले पनि मेरो रोदनक्रन्दनको एक्टिङ्ग दोहोर्याइदिएँ । लौ जा ! आर्यघाटमा मित्रको अन्त्येष्टि सकेर सोझै घर आउँदै छु । बेलुकादेखि केही खान नपाएर आन्द्राभित्र सुनामी चल्दै छ ।”

“अनि उनले पत्याइन् त ?” मैले अचम्भ मान्दै सोधेँ ।

“अरे, किन नपत्याउनु ? उसको क्रोध त करुणामा परिवर्तित भएको थियो । उनी त मलाई निकै बेरसम्म माया गरेर सुम्सुम्याई राखी । बरू याद राख्नू, जर्मनीबाट फर्किन लाग्दा उसका लागि कुनै दामी उपहार किनेर ल्याइदिनु पर्ला !”

उनको कुरो सुनेर मेरो मुखबाट हठात् निस्कियो, “मान गए उस्ताद !” केही बेरपछि मैले जिज्ञासा प्रकट गरेँ, “तपाईंभित्र त एक राजनीतिज्ञभित्र हुनुपर्ने सबै गुण छन्, राजनीतिमा किन छिर्नु भएन त ?“

उनको अनुहारमा मन्द मुस्कानको आभा प्रकट भयो, “तिमी हेर्दै जाऊ, लेनदेनको बार्गेनिङ चल्दैछ । आउँदो आमनिर्वाचनमा कुनै एक राजनैतिक पार्टीको समानुपातिक कोटाबाट सभासद् बन्ने तयारी गर्दैछु ।”

म ट्व्वाँ परेर उनीतिर हेरिरहेँ ।

अनि मेरो शीर लाजले निहुरियो


अचेल आफूजस्तै उमेर पाएको कुनै नयाँ मान्छेसित गफिन पाउँदा म प्रायः सोध्ने गर्छु, ‘तपाई कुन सालमा एसएलसी गर्नु भाको ?’ मान्छेको उमेर थाहा गर्ने मेरो सबैभन्दा सजिलो जुक्ति । म आफैं २०३७ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थी, अर्थात् आफ्नो जीवनको दुइतिहाइ भाग भोगिसकेको मनुवा । एसएलसी दिएपछि खास काम केही नभएर पिताजीको पसलमा बस्थें । उतिबेला नै सिनेमा जगतमा सानो पर्दाको शुरुवात भइसकेको थियो । स्थानीय बजारमा भिडियो क्यासेट र क्यासेट चलाउने भिसिआर (भिडियो क्यासेट रेकर्डर) प्रयोग हुन थालेको थियो । त्यसबेला ती सेवा दिने पसलहरू पनि प्रसस्तै खुलेका थिए । तीमध्ये कमल भिडियोको नाम त ‘मगजपुरको मेमोरी बैंक’मा अझै पनि सुरक्षित छ ।

गोजीमा गर्मी भएकारूले त प्रतिदिन प्रति क्यासेटको १० रूपैयाँदेखि १०० रुपैयाँसम्म (क्यासेटको मागअनुसार) भाडा तिरेर आफ्नै  घरमा भिडियो हेर्थे । तर थोरै आम्दानी भएकाको लागि वीरगंजको गल्ली–गल्लीमा अंग्रेजी र हिन्दी सिनेमा हेराउने भिडियो हल नै खुलेका थिए । अचेल खुलेका मःम पसलजस्तै । एउटा अति सामान्य कोठामा केही काठका बेञ्च राखिएका हुन्थे । कोठाभित्र एकातिर १४ इञ्चको टेलिभिजनमा सिनेमा सुरु भइसक्थ्यो । अर्कोतिरबाट नयाँ दर्शक पाँच रूपैयाँ तिरेर भित्र छिरिराख्थे ।

ब्रुस ली स्टाइल

कोठाभित्र समाजवादी किसिमको व्यवस्था हुन्थ्यो । त्यहाँ न ‘अप्पर क्लास अथवा लोअर क्लास’ । जसले जता खाली ठाँउ भेट्यो, उतै बस्दा हुने । जेहोस बेरोजगार युवाका लागि इन्द्रावती दरबार हुन्थे ती भिडियो हलहरू । चिउँडोदेखि नाइटोसम्म असिनपसिन भए पनि सिनेमा नसकुन्जेल कोही आफ्नै  स्थानबाट नहल्लिने ।   अचेल कहिलेकाहीँ बसमा भेटिएका ती दुवै हात गुमाएका युवाको आवाजले मेरो मन द्रविभूत हुन्छ । उनलाई सम्झेर मेरो शीर यसै निहुरिन्छ

तिनताक नै हो, ब्रुस लीको नाम चलेको । उसले खेलेका सिनेमा, बीग बोस, इन्टर दी ड्रागन, रिर्टन अफ दी ड्रागन, फिष्ट अफ फ्युरी इत्यादि अहिले पनि मानसपटलमा तरोताजै छन् । तिनै भिडियोको प्रभावका कारण हामीजस्ता युवामा ब्रुस लीजस्तै मार्शल आर्टमा परांगत हुने लहड सुरु भएको हो । हरेक युवाको घरमा ब्रुस लीको फोटो, हातमा ब्रुस लीले बोकेकोजस्तै ननचक्कु । यति मात्र होइन, कपालको स्टाइल, डे«स र जुत्ता ठ्याक्क ब्रुस लीकै जस्ता । त्यही बेला कतैबाट सूचना पायौं, ‘टिएस राई नाम भएका सितोरियो करातेमा परांगत गुरु वीरगंज आएका छन् । इच्छुक युवालाई उनले कराते सिकाउने रे । वीरगंजका थुप्रै ल्याउरे–ख्याउटे युवाको ठूलै जमात उनको शिष्य टोलीमा सामेल भए । तीमध्ये म पनि थिएँ ।

उतिबेला नेपालमा मार्शल आर्ट सिक्न र सिकाउन आमजनतालाई बन्देज लगाइएको थियो । त्यही भएर हामी रक्सौल जान्थ्यौं । त्यहाँको आर्यसमाज मन्दिर भनिने ठाउँमा हाम्रो कराँते प्रशिक्षण सुरु भयो । केही महिनापछि एसएलसी परीक्षाको नतिजा आयो । केही बाहेक मेरा प्रायः सहपाठी उत्तिर्ण भए । मैले आइकम (इन्टरमिडियट इन कमर्स)मा भर्ना लिएँ ।

मगजमा ब्रुस ली बन्ने सनक चढेको थियो, पढाईमा मन कसरी लाग्नु । स्कुलको बेला मेरो गन्ती पढाकु विद्यार्थीमा हुन्थ्यो । तर आफ्नो जस्तो इच्छा, कलेजमा त्यस्तै सङ्गत हुँदै गयो । कलेज जान्थें, तर कक्षामा बस्न मन लागेन भने साथीहरूसँग कतै हिडिदिन्थें ।

गजबको कराँते खेलाडी हुँ भनेर आफुभित्र ठूलै भ्रम पालेको थिएँ । कुनै खाली भित्ता देख्यो कि ब्याक किक हानी हाल्थें । रुखको हाँगा भेटियो कि एक फन्को राउन्ड हाउस किक घुमाइहाल्थें । कसैले चर्किएर कुरो गर्‍यो कि घम्साघम्सी गर्न तम्सिहाल्थें ।

आइकम पहिलो वर्ष परीक्षामा नेपाली विषयमा एक नम्बरले फेल भएँ । दुःख लाग्यो । संयोगवश एकजना बाहेक कक्षाभरिकै विद्यार्थी फेल भए । त्यो कुरो थाहा भएपछि मेरो घाउमा मल्हम लागेसरह भयो । यस्तै न हो, हामी मान्छेको मनोविज्ञान । हिलोमा आफु एक्लै परेपछि दुःखी त भइन्छ नै । तर त्यही हिलोमा अन्य साथी पनि परेछन् भने आफ्नो दुःख कम हुँदो रैछ ।’ आफ्नो कमी कमजोरीलाई ढाकछोप गर्न मैले थुप्रै तर्क जुराइसकेको थिएँ । ‘यसरी सबै एकमुष्ट फेल हुनुको कारण विद्यार्थीको लापरवाही नभएर कलेजकै शिक्षादिक्षामा समस्या हो,’ हामी हाकाहाकी भन्दै हिड्थ्यौं । विद्यार्थी नेताको सङ्गतले जिन्दावाद–मुर्दावादको नारा घन्काउन पनि सिकिसकेको थिएँ ।

सम्बन्धित समाचारमजस्तै पठनपाठनमा दुर्बल र एकजना सहपाठीले जानकारी गरायो, ‘सीमापारी मोतिहारीमा एउटा नयाँ कलेज खुलेको छ । त्यहाँको नियमित कक्षामा सशरीर उपस्थित भइराख्नु पर्दैन । अनि परीक्षाको तैयारी पनि एकदम सजिलो रैछ । बजारमा एकसे एक गेस पेपर उपलब्ध हुन्छन् । छ महिनापछि नै परीक्षा छ । गेस पेपरको हिसाबले तैयारी गरियो भने परीक्षामा मज्जाले पास भइन्छ ।’ यता नेपालमा यस्ता गेस पेपरको आगमन उतिबेला भइसकेको थिएन । साथीको प्रस्ताव सुनेर मनमा लोभ जाग्यो । यता ठाकुरराम बहुमुखी कलेजमा नियमित रुपमा कलेज नै पुग्नु पर्ने नियम छ । केहीगरी यताको कलेजमा दोस्रो वर्षको परीक्षामा  पनि फेल भइयो भने एक वर्ष स्वाहाः हुने भयो । हामीले मोतिहारीबाट नै आइकम गर्ने निर्णय गर्यौं।

मोतिहारीको कलेजमा मेरो नामांकन भयो । उताबाट हरेक विषयको गेस पेपर खरिद गरेर ल्याइयो । गेस पेपर अनुसार घरमै बसेर पठनपाठन सुरु गरे । सजिलोको लागि स्थानीय शिक्षकको ट्युसन पनि लिएँ । तैपनि हाजिरी जनाउन बीचबीच कलेज गइराख्नु पथ्र्यो ।

यसका दुइटै हात नभएर केही समाउन सक्या छैन । झट्का लाग्यो कि सन्तुलन बिग्रिहाल्दो रैछ । यसलाई माफ गरिदिनोस्

हामी समूहमै आवतजावत गथ्र्यौं । एक त विद्यार्थीको तक्मा, अनि कराँते खेलाडी हुनुको घमण्ड । साथमा रक्सौलका केही उपद्य्राहा केटाको सङ्गत । बोलीबचन र पहिरन पनि स्थानीय विद्यार्थी नेताजस्तै । बसको कन्डक्टरले पैसो माग्यो भने हेपेर कुरो गर्ने, आँखा तरेर हेर्ने । सहयात्रीसित अलि झर्केर कुरो गर्ने । आपसमै कुरो गर्दा पनि जानाजानी अपशब्दको प्रयोग गर्ने । कोही जोरी खोज्न आयो कि हान्ने, ठोक्नेतिर लागिहाल्थ्यौं । तर प्रतिपक्ष संख्यात्मक रुपमा बलियो छ भने हामी सम्झौता पनि उतिकै द्रुत गतिले गथ्र्यौं ।

खैर, एकपटक म र केही साथी मोतिहारीबाट रक्सौल फर्किदै थियौं । अँध्यारो हुन आँटेको थियो । बसमा समान्यभन्दा दोब्बर मान्छे कोचिएका थिए । आधा मान्छे सिटमा आधा प्यासेज उभिएका । म आफ्नो सिटमा बसेको थिएँ, मेरै छेउमा एकजना मान्छे सिटको अडेस लिएर उभिएको थियो । अलि झट्का लाग्यो कि ऊ मसित ठोक्किहाल्थ्यो । उसको शरीरबाट कडा पसिनाको गन्ध आइरहेको थियो ।

‘का ह भाइ का खोज तार, सोझ खडिया नैखे सकत ?’ भनेर उसलाई टर्रो स्वरमा सजग गराएँ । तर जति सजग गराउँदा पनि सरी भन्न त पर जाओस्, उसको ठक्कर दिने काम जारी नै रह्यो । “यो मान्छे जानाजानी निहु खोज्दै छ, यसलाई त एक दुई पञ्च दिनै पर्छ,” सँगैको साथीलाई मैले मुर्मुरिँदै भने ।

‘ध्यान राख्नु, कुनै लोकल दादाजस्तो लाग्छ भने ऊसित अल्झिनु यति बेला ठीक हुदैन,’ साथीले सजग गरायो । उसको कुरो त ठीकै थियो । म पनि सजग भएँ । तर एकछिन विचार गर्दा त्यो मान्छे दादाजस्तो लागेन । फेरि ऊ मसँग ठोक्कियो ।

उतिबेलासम्म मभित्र ब्रुस लीको प्रेतात्मा जागिसकेको थियो । म र मेरा अन्य साथी पनि जुर्मुराउँदै उफ्रिहाल्यौं । ‘हान सालेलाई !’ घरिघरि ठक्कर दिने मान्छेको सर्टको कलर समाउँदै चर्को स्वरमा तथानाम गाली गर्यौं । लगत्तै सम्बन्धित मान्छेले माफी पनि मागिहाल्यो । तैपनि मैले थप धमास जमाउन खोजें, ‘यो अन्तिम पटक हो । अब पनि निहुँ खोजिस् भने खान्छेस् ब्रुस ली ब्राण्ड मुक्का ।’

अँध्यारोमा उसको मुख पनि राम्ररी देख्न सकेको थिइनँ । उसको छेउमा उभिएको अर्को एकजना मान्छेलाई डराउँदै अड्की–अड्की मसिनो स्वरमा जनाउ दियो, ‘यसका दुइटै हात नभएर केही समाउन सक्या छैन । झट्का लाग्यो कि सन्तुलन बिग्रिहाल्दो रैछ । यसलाई माफ गरिदिनोस् ।’

उसको कुरो सुनेर म हतप्रभ भएँ । मेरो कराँतेको गर्मी बाफ भइसकेको थियो । ब्रुस लीको प्रेतात्मा पनि कतै कुलेलाम ठोकिसकेको थियो । ध्यानपूर्वक सम्बन्धित मान्छेलाई हेर्ने प्रयास गरें, हो रैछ उसका दुइटै हात थिएनन् । ‘जन्मेदेखि हो कि ?’ आफ्नो लज्जाबोधलाई सक्दो लुकाउँदै मैले सोधे । ‘बाल्यकालमा ट्रेन एक्सिडेन्टमा परेर काट्नु पर्‍यो । त्यही बेलादेखि जता गयो उतै हप्कीदप्की, छिःछि, दुरदुर खेप्दै आएको छु । आज पनि त्यही भएछ । खैर, केही छैन, जेही बिधी राखी राम, तेही बिधी रहिए ।’ यतिकुरा भनिसक्दा उसको घाँटी अवरुद्ध भएको थियो ।

अनुहार प्रष्ट हेर्न नपाए पनि ऊ आफ्ना रसाएका आँखालाई निकै कष्टले काँधमा दलेर सफा गर्न प्रयास गरे । मेरो अहंकारी मन आत्मग्लानीले पोल्यो । थप केही बोल्ने आँट भएन । केहीबेर निर्निमेष ऊतिर हेरिरहें । बसले अर्को झट्का दिँदा हामी दुवैको सन्तुलन  बिग्रियो । तर यो पटक उसले कसैलाई ठक्कर दिएन । बरु म नै छेउमा उभिएको अर्को मान्छेसित ठोक्किएँ ।

मेरो चेत बल्ल खुल्यो । उभिराख्न गाह्रो भइराखेको होला, मेरो सिटमा बस्नु नि,’ उसलाई आग्रह गरे । ‘मेरो चिन्ता लिनु पर्दैन । उभ्याउभ्यै आवतजावत गर्ने अभ्यास भइसकेको छ ।’ उसले मलिन स्वरमा भन्यो । म झनै गलें । ‘होइन, तपाइजस्तो अपाङ्ग मान्छे उभिराख्ने, अनि मजस्तो तन्दरुस्त मान्छे बसिराख्ने ?’ मेरो सम्बोधन तँबाट तपाईमा आएको थियो ।

‘धन्यवाद ! मैले यो सिटमा बस्न नपाएर खासै फरक पर्दैन । खासमा सताउने कुरो हो तिरस्कारपूर्ण व्यवहार । दिनहुँ कुनै न कुनै ठाँउमा कसैले न कसैले मलाई तथानाम गाली गरेर होच्याइराख्छ । कतिपय ठाँउमा धक्काधक्की लगाउन पनि बेर लगाउँदैनन् । जुन भोगाई आज भोगें, यो मेरो नित्य नै बनेको छ ।’ यति भनिसक्दा उसको स्वरमा अनौठो चिसोपन थियो । मलाई थप केही भन्ने आँट नै भएन । खैर, केही बेरपछि उसको गन्तव्य आइसकेको थियो । मतिर हेर्दै नहेरी ऊ ओर्लियो ।

केही दिनपछि बिहानको कराँते अभ्यास सकिएपछि हाम्रा सहायक गुरू श्याम दाइले उर्दी जारी गरे, ‘केटाहरू हो ! आ–आफ्नो  गी (करातेको युनिफर्म) चेन्ज गरेर पुनः भेला हुनु, टिएस गुरूले जरुरी कुरो गर्नुहुन्छ ।

बेल्ट ग्रेडिङको कुरो होला भनेर हामी मख्ख थियौं । सेतो बेल्टबाट सुन्तले हुँदै हरियोमा आइसकेका थियौं, खैरोमा जाने पालो थियो । हतारहतार कपडा फेरेर हामी गुरुका सामु उभियौं ।

उनले एकएक प्रशिक्षार्थीका आँखामा आँखा गडाउँदै भन्न थाले, ‘तिमीहरुलाई हेक्का रहोस्, असफल मान्छेभित्र सदैव दुष्ट प्रवृत्ति हावी रहन्छ । अरुलाई सताउनुमै आफ्नो जीत ठान्छ । सफलताको बाटोमा भर्खर हिड्न सुरु गरेको मान्छेभित्र पनि मैले गजबको सफलता हात पारे भन्ने ठूलै भ्रम पलाएको हुन्छ । ऊ आफुबाहेक अन्यलाई मान्छे नै गन्दैन । अनि सफल मान्छेको व्यवहारमा विनम्रता हुन्छ । अरुलाई होच्याउनु र आफ्नो सफलताको जथाभावी प्रर्दशन गर्नुमा उसको रुचि हुँदैन ।’

हामीजस्ता युवामा ब्रुस लीजस्तै मार्सल आर्टमा पारंगत हुने लहड शुरु भएको थियो । हरेक युवाको घरमा ब्रुस लीको फोटो, हातमा ब्रुस लीले बोकेको जस्तै ननचक्कु । यति मात्र होइन, कपालको स्टाइल, ड्रेस र जुत्ता ठ्याक्कै उस्तै

हामी एकोहोरो उनको कन्थो सुन्दै थियौं । ‘कुन्नि के भन्न खोज्दै हुन् ?’ मनमा जिज्ञासा खेल्दै थियो । उनले थपे, ‘सुन्दै छु । केही कराँते खेलाडी बजारमा जथाभावी झगडा–झन्झट र कुटपिट गर्दै हिड्न थालेका छन् । कमजोर र निर्धा मान्छेलाई सताउँछन् रे । कति सत्य हो ?’

कसैले केही फर्काउन सकेन । मेरो मनमा चिसो पस्यो । उनले आफ्नो  कुरोलाई अगाडि बढाए, ‘खेल मैदानभित्र भर्खर छिरेको कराँते खेलाडीको झुकाव अफेन्स अर्थात् आक्रमणमा हुनु स्वभाविक कुरो हो । तर खेलमैदानबाहिर पनि खेलाडी आक्रामक रह्यो भने त्यो उसको अहंकार हो । पोख्त कराँते खेलाडी आफ्नो कौशलको प्रदर्शन खेल मैदानभित्र मात्र गर्छ । मैदान बाहिर कुटपिट गर्नु त परै जाओस्, कसैसित चर्को स्वरमा कुरो समेत गर्दैन । ऊ त करुणाका खानी हुनुपर्छ । त्यही नै उसको सफलताको लक्षण हो ।’

उनले कुन्नि के के भन्दै गरे, केही ख्याल भएन । केही दिनअगाडि मोतिहारीबाट फर्किदै गर्दाको घटना मेरा आँखा अगाडि बारम्बर प्रकट हुँदै थियो । गुरु कुन बेला म नजिक आइपुग्नु भयो, थाहै भएन । उनका आँखासित मेरा आँखा जुधे । मैले शीर ठाडो राख्न सकिनँ । लज्जाले मेरो शीर निहुरेको थियो । मनभित्रको अहंकार पग्लिएर आँखाको डिलमा पुगिसकेकोे थियो । अचेल पनि कहिलेकाँही बसमा भेटिएका ती दुवै हात गुमाएका युवाको आवाजले मेरो मन द्रविभूत हुन्छ । उनलाई संझेर मेरो शीर यसै निहुरिन्छ ।

एउटै फिल्म हेर्न तीन दिन !


कुनै जमानामा वीरगन्जको ढुकढुकी भनिएको माईस्थानमा एउटा मात्र सिनेमाघर थियो, कीर्ति सिनेमा । काठ, पराल र माटोको सम्मिश्रणले जेनतेन ठड्याइएको टहराजस्तो । छाना पनि खपडाको ।

उति बेला म माईस्थान विद्यापीठ स्कुलमा पढ्थेँ । मौका मिल्यो कि त म तीन/चारजना स्कुले साथीहरूका साथ सिनेमा हेर्न पुगिहाल्थेँ । उक्त सिनेमाघरमा बाल्कनी, फर्स्ट, सेकेन्ड र थर्ड क्लास भनेर टिकट दर छुट्ट्याइएका हुन्थे ।

बाल्कनी क्लास सबैभन्दा महँगो । अनि, थर्ड क्लास सबैभन्दा सस्तो । थर्ड क्लासलाई हामी फुच्चेहरू ‘गान्धी क्लास’ भनेर सम्बोधन गर्ने गर्थ्यौँ । हामी त्यही क्लासको टिकट किन्थ्यौँ, त्यो पनि विद्यार्थी सहुलियत दरमा । अर्थात्, टिकटको दर हुन्थ्यो साठी पैसा, हामी तिर्थ्यौँ जम्मा ४५ पैसा ।

थर्ड क्लासमा कुर्सी अथवा बेन्च हुँदैनथ्यो । भुइँमै इँटा राखेर बस्नुपर्ने हुन्थ्यो । यसरी इँटाउपर बस्नु हाम्रो रहर होइन, डर हुन्थ्यो । कारण थियो, सिनेमाघरको कच्ची र सिमसार भूमि । गान्धी क्लासमा कहिलेकाहीँ पैताला डुब्ने गरी साक्षात् जलदेव पनि प्रकट भइदिन्थे ! त्यसमाथि लामखुट्टे देवको उपस्थिति पनि उत्तिकै बाक्लो ।

खैर, बाढीपीडितको शरणस्थलीजस्तो देखिए पनि उक्त सिनेमाघर हामी वीरगन्जेलीहरूका लागि इन्द्रको दरबारसरी थियो । उति बेला एउटा फिल्ममा एक–एक घण्टाका दुई मध्यान्तर हुन्थ्यो ।

पहिलो मध्यान्तरपछि हामीलाई स्कुले साथीहरूको अर्को डफ्फा सिनेमा बाहिर पर्खिरहेको हुन्थ्यो । तिनीहरूलाई परल मूल्यभन्दा आधा दरमा हाम्रा टिकट बिक्री गरेर हामीहरू स्कुल फर्किन्थ्याैँ ।

अर्को दिन त्यही फिल्मको पहिलो मध्यान्तरपछिको भाग हेर्न पुग्थ्यौँ । हामीभन्दा अघि फिल्म हेर्न पसेका स्कुले साथीहरूबाट आधी दरमा टिकट खरिद गरेर ।

र, दोस्रो मध्यान्तरपछि त्यो टिकट पुनः ३० प्रतिशत दरमा बिक्री गरेर पुनः स्कुल फर्किन्थ्यौँ । तेस्रो दिन बल्ल हामी सग्लो फिल्म हेर्न भ्याउँथ्यौँ ।

यसरी स्कुलबाट फरक–फरक समयमा केही विद्यार्थीहरू मात्र एक घण्टाका लागि बेपत्ता हुँदा कसैलाई शंका पनि नहुने, एउटा रोमाञ्चकारी अभियान सफलतापूर्वक सम्पन्न पनि हुने ।

अर्थात्, हामी फुच्चेहरूले उही बेलादेखि मितव्ययिताको सिद्धान्तलाई आत्मसात् गर्दै समूहगत समझदारीमा आफ्नो काम फतेह गर्ने काइदा सिकिसकेका थियौँ ।

उति बेलाका प्रायः फिल्ममा एक आदर्श सानीमा, आमा अथवा हजुरआमाको सशक्त भूमिकामा कुनै न कुनै पात्रालाई राखिएकै हुन्थ्यो । ती भूमिकामा सदैव प्रकट भइराख्ने दुर्गा खोटे र लीला मिश्रा मलाई औधी मनपर्थे । कारण, तिनको अनुहार र शरीरको बनोट मेरी हजुरआमासित मिल्दोजुल्दो थियो । हजुरआमाजस्तै सेतो सारी, सारीको सप्कोले हातमुख सफा गर्ने काइदा पनि उस्तै ।

सारीको आँचलले शिर ढाक्ने काइदा पनि उही, आँखा चौडा पार्दै अभिभावकीय पारामा बोल्दा हातमुख हल्लाउने दुवैको तौर–तरिका पनि उस्तै !

मेरी हजुरआमा बाथ र हात्तीपाइले रोगबाट आक्रान्त, कलिलै उमेरमा श्रीमान गुमाइसकेकी वृद्धा हुनुहुन्थ्यो । तैपनि, उहाँको कार्यक्षमता हेरेर हामी दंग पर्थ्यौँ । उहाँ दिनको एक समय मात्र भोजन गर्नुहुन्थ्यो । राति उपवास नै हुन्थ्यो । ओखर त दुई बंगाराबीच राखेर सेकेन्डमै फुटाल्नुहुन्थ्यो ।

हाम्रो घरमा चापाकल थिएन । सरकारी धाराबाट तोकिएको समयावधिका लागि मात्र पानी उपलब्ध हुन्थ्यो । हजुरआमा मोटामोटी पाँच सय फिट पर भएको चापाकलबाट करिब २५–२५ लिटर खाम्ने दुई बाल्टी पानी भरेर ठिमठिम गर्दै घरसम्म ल्याउनुहुन्थ्यो । दुई हातकै भरमा ती बाल्टी विस्तारै भर्याङ चढ्दै एक तलामाथि पुग्नुहुन्थ्यो । यसरी उहाँको दिनचर्या सुरु हुन्थ्यो, बिहानको चार बजे । अनि, सुत्न जानुहुन्थ्यो सारा घर सुतिसकेपछि ।

हजुरआमाको कोठासँगै सदैव ताल्चामा बन्द एउटा भन्डारगृह अर्थात् हजुरआमाको खजाना कोठा पनि हुने गर्थ्यो । त्यसको साँचो हजुरआमाले आफूसँगै राख्ने गर्नुहुन्थ्यो । खजाना कोठामा पिठो, चामलजस्ता अन्न त हुन्थे नै, साथमा हुन्थ्यो हामी भुराहरूले औधी नै मन पराउने अचार, पापड र मिठाइजस्ता सामग्री पनि ।

खजाना कोठामा प्रवेशको अनुमति पाउनु हामी फुच्चेहरूका लागि यूएस प्रवेशको अनुमति पाउनुजत्तिकै सम्मानजनक कुरो हुन्थ्यो । एक त उति बेला फोनको सुविधा थिएन, थप उहाँ बाथरोगबाट आक्रान्त ।

उहाँ सन्देशवाहक अथवा सहयोगीका रूपमा हामी फुच्चेहरूलाई नै ठाउँठाउँ कुदाइराख्नुहुन्थ्यो । पारिश्रमिकका रूपमा त्यही भन्डारगृहको भित्री कक्षमा प्रवेश अनुमति र आफूले इच्छाएको खानेकुराको रसस्वादन नै हुन्थ्यो ।

हजुरआमा निरक्षर हुनुहुन्थ्यो, तर बडेबडे ज्ञानी–पण्डित उहाँका अगाडि पराजित हुन्थे । हरेक ज्ञानका कुराको उद्गम उहाँको अनौठो उखानबाटै सुरु हुन्थ्यो । उहाँले हामी फुच्चेहरूलाई कुनै पनि काम अह्राउँदा हामीले ‘हुँदैन, सकिँदैन अथवा भ्याउँदिनँ’ भन्नै हुँदैनथ्यो । भन्यो कि उखान ठोकिहाल्नुहुन्थ्यो, “रोवतो जावँ मरा की खबर ल्याव !” (रुँदै जानेले त नराम्रै समाचार ल्याउने हो । अर्को शब्दमा, पराजित मानसिकताबाट घरबाट हिँडेको मान्छेले पराजयकै समाचार त ल्याउने हो ।)

उहाँ ईश्वरपरायण महिला हुनुहुन्थ्यो । साथै कर्म र परिणामको सिद्धान्तप्रति पनि उहाँको विश्वास उत्तिकै रहेको थियो । कसैको लापरबाहीले कुनै काम बिग्रियो अथवा आफ्नै बदमासीका कारणले चोट लगायौँ भने पनि उहाँ रिसले मुर्मुरिँदै भन्नुहुन्थ्यो, “चालनी मँ दूध दुहव, करम न रोव ?” (चाल्नोमा दूध दुहुन्छौ अनि भाग्यलाई सराप्छौ ? अर्को अर्थमा, होस पुरयाएर काम गरिएन भने दुःख त पाइन्छ नै ।)

हामी फुच्चेहरू पनि कम थिएनौँ, उहाँसित कुनै खानेकुरा अथवा पैसो तान्नुपर्दा अथवा अन्य कुनै कामका लागि फकाउनुपर्दा उहाँको प्रशंसागानमा लिप्त हुन्थ्यौँ । उहाँका गोडा मिच्न थाल्थ्याैँ । अनि, उहाँ मुस्कुराउँदै फर्काउनुहुन्थ्यो, “करनी न धरनी, नाम सुमरनी…” (कामधाम क्यै नगरेर नामको जपना मात्र गरिबस्नु ।)

अनि, हामी पनि एकसुरमा बोलकबोल गर्थ्याैँ, “हाम्लाई ठूलो त हुन दिनुस्, खुब काम गर्नेछौँ । हजुरका लागि पनि एकसे एक गिफ्ट किनेर ल्याउनेछाैँ ।”

यतिखेर उहाँको अनुहारमा वात्सल्य भाव प्रकट हुन्थ्यो । विस्तारै उठ्दै हाम्रो माग पूरा गर्नुहुन्थ्यो । र, चाउरी परेका खिरिला औँलाले हाम्रो कपाल सुम्सुम्याउँदै अर्को उखान ठोक्नुहुन्थ्यो, “रूप की रोव, करम की खाव” (रूपवान् रुन्छ, काम गर्नेले खान्छ ।)

आज उहाँले भन्नुभएका ती उखानहरूको मर्म बुझ्न थालेको छु, “रूपरंग भएर मात्र केही हुँदैन, जीवनयापनका लागि कर्म त गर्नैपर्छ ।”

एकपटक हाम्रो घरमा ठूलै हल्लीखल्ली भएको थियो । काकापट्टिको परिवार समेत मिलाएर घरमा हामी केटाकेटीहरूको संख्या कुल दश थियो । एक दिन सबैभन्दा जेठो दाइ बेपत्ता भएर ठूलै सुनामी आएको थियो ! उनको खोजतलासमा पूरै दिन बित्यो । तर, कतै फेला पार्न सकिएन ।

अन्त्यमा थाकेर प्रहरीमा जनाउ दिइयो । फलानो नाम भएको, उमेर, कद र बनोट यस्तो भएको, अमुक रङको लुगा लगाएको भनेर रिक्सामा ढ्वाङ माइक राखेर फुक्न समेत लगाइयो । तैपनि, कुनै सुराक हात लागेन । घरमा रुवाबासी सुरु भइसकेको थियो ।

साँझ सूर्यास्त हुनलाग्दा बेपत्ता भनिएका मेरा ठूल्दाइ पिताजीको सुत्ने कोठाबाट आँखा दल्दै बाहिर आए । ‘भोक लाग्यो’ भनेर खानेकुरा माग्न थाले । उनलाई एक्कासि प्रकट भएको देखेर सबैजना सुखद आश्चर्यमा डुबेका थिए ।

असलमा उति बेला प्रायः घरमा बच्चाहरूलाई सुत्न मिल्ने स–सानो खाट राख्ने गरिन्थ्यो । त्यस्ता ससाना खाट दिनभरि ठूला पलङमुनि राखिएका हुन्थे । राति सुत्ने बेलामा मात्रै झिकिन्थ्यो । र, बिहान काम सकिएपछि पलङमुनि पुनः थन्क्याइन्थ्यो ।

ठूल्दाइ त्यही पलङमुनि थन्क्याइएको खाटमा चोर–सिपाही खेल्ने क्रममा लुक्ने नियतले गएका रहेछन् । र, केही बेरमै भुसुक्कै निदाएछन् । साँझ लामखुट्टेले दुःख दिन थालेपछि मात्र उनी निद्राबाट जागा भएछन् ।

उक्त भेद खुलेपछि सबैजना मरी–मरी हाँस्न थाले । अनि, हजुरआमाले व्यंग्यात्मक पारामा भन्नुभयो, “घर म छोरो, गाँव म ढिँढोरो !” (छोरो घरमै, गाउँभरि खानतलासी !)

निकैपछि हजुरआमाले उक्त उखानको मूलमर्म हामी फुच्चेहरूलाई अवगत गराउनुभएको थियो, “हाम्रा समस्याहरूको समाधान प्रायः हामीभित्र नै हुन्छ । यसर्थ, समाधान खोज्ने काम भित्रबाटै सुरु गरिनुपर्दछ ।”

हाम्रो परिवारमा बच्चा, केटाकेटीहरूको जमात आफैँमा ठूलो थियो । त्यसमाथि छरछिमेकका बच्चाहरू पनि हाम्रो गुटमा सामेल भइहाल्थे । स्कुलबाट फर्किएदेखि अबेर रातिसम्म थरीथरीका समूहगत खेल खेलिराख्थ्याैँ । झैझगडा पनि उत्तिकै मात्रामा हुन्थ्यो ।

कहिलेकाहीँ झगडा उग्र भएपछि दाजुभाइ अथवा भाइबहिनाबीच बोलचाल नै पनि बन्द हुन्थ्यो । अनि, हाम्री आमाहरूलाई तनाव हुन्थ्यो । तर, हजुरआमा तनावमुक्त रहनुहुन्थ्यो । “तेरी मेरी बन ना, तेरा बिना सर ना” (तिम्रो र मेरो कुरो मिल्दैन, तर तिमीबगैर मेरो काम पनि चल्दैन) भन्दै आमाहरूलाई सम्झाउनुहुन्थ्यो, “बच्चाहरूको झगडा भनेको पानीको फोकाजस्तै हो । एक छिनअगाडि देखापरेको छ, केही बेरमै हराइहाल्छ । किन टाउको दुखाएकी ?”

हिन्दी फिल्म ‘शोले’मा वसन्तीकी सानीमा (मौसी)को भूमिकामा खेल्ने अभिनेत्री लीला मिश्राको अभिनय त अब्बल नै थियो । तिनको अनुहार, पहिरन र हाउभाव पनि ठ्याक्कै हाम्री हजुरआमाजस्तै रहेको देखेर सो फिल्म हजुरआमालाई देखाउन खोज्दा उहाँ मान्नु भएन । उति बेला त हजुरआमासित कुरो गर्दा ‘कमाल करती हैं मौसीजी, आप भी !” भनेर हाम्रो थेगो नै भएको थियो ।

उहाँलाई हँसाउने जति प्रयास गरे पनि मुस्कुराएर मात्र काम चलाउनुहुन्थ्यो । उहाँलाई खुलेर हाँसेको हामीले कहिल्यै देखेनौँ । मानौँ, उहाँको छातीभित्र गुजुल्टेर बसेका पीडाले सायद अनुमति नदिएका होऊन् !

कहिलेकाहीँ उहाँको उखान उहाँमाथि नै प्रयोग गर्न पाउँदा हामीलाई झनै मज्जा लाग्थ्यो । एक बिहान घरको भुइँतलामा ठूलै चोरी भयो भनेर हल्लाखल्ला भएछ । अनुसन्धान गर्दै जाँदा हजुरआमाको साबुन पनि चोरी भएछ भन्ने थाहा भयो ।

एकसे एक दामी सामानहरू चोरी भएको भनेर सबैजना पीडा पोख्दै थिए भने हजुरआमा फगत एउटा साबुनको पीडामा बेहाल हुनुहुन्थ्यो । “रमर्यौ ! मेरी साबन चुरा लियो ।” (मोरो ! मेरो साबुन चोरेर लग्यो ।)

गरगहना अथवा रंगीचंगी पहिरनबाट जमानाअगाडि नै विरक्तिनुभएकी हजुरआमालाई जाबो एउटा साबुनप्रति यतिबिघ्न आशक्ति किन ! भनेर हामीलाई समेत अचम्म लागेको थियो ।

हामी फुच्चेहरूले पनि आएको मौका त्यतिकै खेर जान दिएनाैँ, हजुरआमाको उखान हजुरआमाउपर नै ठोकिहाल्याैँ, ‘मोहर लुटाव, कोयलामा छाप !’ (असल रुपैयाँ लुटाउँदै, कोइलामा आशक्ति !)

आज हजुरआमा हाम्रो माझमा हुनु हुन्न । उहाँ मात्र होइन, मेरा बा र काका पनि यो सांसारिक चोलाबाट मुक्त भइसक्नुभएको छ । कीर्ति सिनेमाघर त अलप भएको जुग नै बितिसकेको छ । कीर्ति सिनेमा हलपछि आएको विद्या चलचित्र मन्दिर, अप्सरा सिनेमा, दुर्गा टाकिज र सत्या सिनेमा पनि स्मृतिशेष भएका छन् ।

ठिकै भन्छन् भन्नेहरू, “चराचरजगत्मा शाश्वत भनेको कोही केही हुँदैन ।” तर, हजुरआमाका ती दामी–दामी उखानहरू, उति बेलाका सिने कलाकारका ती दमदार अभिनय र कीर्ति सिनेमाघरसित हाम्रो बाल्यकालीन साइनो आज पनि स्मृतिपटलमा जीवन्त छ । र, जीवनपर्यन्त जीवन्त नै रहिरहलान् ।

गद्दीदेखि ग्याजेटसम्म


इभिनिङ वाकमा म निस्केको थिएँ, बाटोमा सुधो मुख बनाउँदै एक जना मनुवाले हठात् सोधे, ‘भईया केतना बजता ?’ एकछिनको लागि म हतप्रभ भएँ । अचम्म लाग्यो, आजको जमानमा पनि ऊसित आफ्नो घडी छैन ?’ उसका आँखा अझैसम्म मेरो हातेघडीतिर नै गढेको थियो । उसलाई ध्यानपूर्वक हेर्दै भनें, ‘साढे ६ !’

कुनै यस्तो जमाना पनि थियो, मेरो हातमा घडी हुँदैनथ्यो, बाटो हिड्दै गरेको घडीधारक मनुवाबाट समय सोध्थें । उतिबेला हाते घडी लाएर हिड्नु चानचुने कुरो हुँदैनथ्यो । कक्षा आठ पास गरेपछि मात्र पुरस्कार स्वरुप जीवनको पहिलो हाते घडी पाएको थिएँ । अनि बाटो हिड्दै गर्दा बटुवाहरू हाते घडीतिर इंगित गर्दै समय सोध्दा म मख्ख पर्थे । बिस्तारै घडीधारकहरूको संख्या थपिँदै गयो, बाटोमा समय सोध्ने चलन हराउँदै गयो । सहर–बजारमा ठड्याइएका अग्ला घण्टाघरको उपादेयता समेत सौन्दर्य सामग्रीमा सीमित भएको छ ।

आज समय थाहा पाउने साधन त सबैसँग छ, तर समय कोहीसँग छैन

आज हामी ग्याजेट युगमा छौं। यो युगमा समय, मिति, तिथि, तारिख आदि थाहा पाइराख्न हातमा घडी नै भिर्नु पर्ने जरुरी रहेन । बजारमा उपलब्ध हरेक थरिका ग्याजेटमा यस्ता सुबिधाहरू उपलब्ध छन् । तर हिजोसम्म गद्दी युगमा थियौं । कुनै जमानामा व्यावसायिक प्रतिष्ठानहरूमा आजजस्तै शोकेस काउन्टर अथवा टेबल–कुर्सीहरू हुँदैनथ्यो , गद्दीकै हालिमुहाली रहन्थ्यो । ग्राहक होउन् अथवा साहुजी, सबैलाई भुईमै ओछ्याइएका गद्दीमा पलेटी कसेर बस्नु पर्ने हुन्थ्यो । उतिबेला व्यवसायीहरुको एउटा भाका नै थियो, ‘गद्दीमा बसेको छु, झुटो कुरो गर्दिनँ । गद्दीमा बसेको छु, बेइमानी गर्दिनँ ।’ मानौं ती गद्दी नहोस्, भगवानको मन्दिर होस् । हुन पनि हो, उतिबेला गद्दीलाई शुद्ध–सफा र पवित्र राख्नु पर्छ भनेर मान्यता नै थियो । त्यही भएर होला, व्यावसायिक प्रतिष्ठानहरूको वास्तविक नाम जतिसुकै विशाल अथवा आधुनिक किन न होस्, सबै जना ‘फलानोको गद्दी अथवा ढिस्कानोको गद्दी’ भनेरै सम्बोधन गर्थे ।

लाठजीको गद्दी आरोहण

उतिबेला वीरगञ्जका ती गद्दीहरूको हुलमा मेरा पिताजीको पनि गद्दी सामेल थियो, ‘लाठजीको गद्दी !’ फुर्सदको बेलामा म पनि त्यही गद्दीमा गएर बसिदिन्थें । एकदिन म गद्दीमा बसेको थिएँ, पिताजीले उर्दी जारी गरे, ‘बाबु, तिमीलाई गद्दीको कामले नेपालगञ्ज, धनगढी र महेन्द्रनगर जानु छ । उताका व्यापारीलाई भेटेर आफ्नो परिचयको सिमाना अझै फराकिलो बनाउनु छ । तिनीहरूबाट उधारो बापत विक्री गरिएका कपडाहरूको भुक्तानी संकलन गर्नु छ । व्यापारिक सिपहरू सिक्नु छ ।’ उतिबेलाको १७ बर्षे ठिटोलाई प्रतिवादमा एक शब्द बोल्ने आँट नै भएन । पिताजीहरुले आफ्नो सन्तानलाई आँखा तरेर एकपल्ट एक के हेर्थे, केटाकेटीको अवस्था पानीले निथु्रक्क भिजेको मुसोजस्तो हुन्थ्यो । अचेलका छोराछोरी मुख बिगार्दै भनिहाल्छन्, ‘नो ड्याड, नो । यु कान्ट इम्पोज सच बर्डन अपन अ गाय अफ सिक्सटिन इयर्स ।’ त्यो बेला कहाँ त्यति बोल्ने आँट गर्नु !

मन लागेर होस् अथवा नलागेर एक जना कर्मचारीका साथ मेरो जीवनको पहिलो व्यावसायिक यात्रा सुरु भयो । अनौठो थियो त्यो यात्रा पनि । उतिबेला नेपालगञ्ज, मैनापोखर, धनगढी, टिकापुर, राजापुर र महेन्द्रनगरजस्ता नाम चलेका पश्चिमी व्यापारिक गन्तब्यसम्म पुग्न नेपाली बाटो बनिसकेको थिएन । दार्चुला र सुर्खेतजस्ता गन्तब्यको त नामसमेत सुनेका थिएनौं । अनेकन भारतीय बस, रेल र काठे डुङ्गाजस्ता सवारी साधन प्रयोग गर्दै म र मेरा पिताजी खटाएका कर्मचारी आफ्नो एडवन्चर जर्नीमा होमियौं । उतिबेला त्यस्ता दुर्गम ठामहरूमा राती बास बस्न होटलसोटलको कल्पना गर्दा पनि पाप लाग्ने अवस्था थियो । कुनै ब्यापारिक गन्तब्यमा ब्यापारीकै दैलोमा शरण लिइयो, कतै सरकारी अतिथिगृहमा ओत पाइयो ।

उतिबेला छापाखानामा छापिएका चिल्ला परेका लेजर बुक, क्यासबुक अथवा जनरल बुक हुँदैनथे । रातो कपडाको गाता भएका हस्त निर्मित परम्परागत बहीखाता हुन्थे । झण्डै एक मिटर लामो, पहेँलो रङका सादा कागजमा हिसाबकिताब लेखिन्थ्यो

कतै–कतै बाटोमा त बस्ने ठाम नपाएर उभ्याउभ्यै खाना खाइन्थ्यो । हरेक ठाँउमा बैंक सेवा उपलब्ध हुँदैनथे । कतै हुण्डीको माध्यम प्रयोग गर्नु पर्ने बाध्यता थियो भने कतिपय बेला जोखिमसँगै बोकेर घुम्नु पर्ने अवस्था हुन्थ्यो । फोन सम्पर्कको कुरै भएन, टेलिग्राममार्फत नै दैनिकी विवरण संक्षेपमा पठाइन्थ्यो, त्यो पनि सांकेतिक भाषामा । यसरी ब्यावसायिक काममा हिडेकाहरूलाई छुरा हानी लुटपाट गरिएका घटना बेलाबखत थाहा पाउँदा झनै सातो जान्थ्यो ।

उतिबेला नै मैले थाहा पाएँ, ‘पश्चिमाञ्चलतिर हुने मालसमानको ढुवानी पनि भारतीय बाटो भएर नै हुने गरेको छ । वीरगञ्जका व्यसाायीहरू ती विक्री गरिएका कपडा र जिन्सी सामाग्रीहरू राम्ररी प्याक गरेर भारतीय यातायात कम्पनीलाई जिम्मा लगाउँदा हुन् । आजको जमानामा चौबिस घन्टामा पुग्ने सामग्री उतिबेला १५/२० दिन लगाएर अह्राएको नेपाली गन्तब्यसम्म पुर्‍याइदिँदा हुन् ।’ तैपनि ब्यवसायी खासै गुनासो गर्दैनथे ।’ फेरि मनमनै स्वयम्लाई सम्झाउँछु, ‘आम मान्छेको के दोष ? फराकिलो विकासलाई नाङ्गा आँखाले नदेखुन्जेल साँघुरो विकासलाई नै ठूलो उपलब्धी मान्ने नेपाली न हौं हामी ।’

खैर, लागौं त्यही चार दशक पुरानो कथामा । पिताजीले अह्राए बमोजिमको ब्यावसायिक जिम्मेवारी पूरा गरेर म सुरक्षित घर फर्किसकेको थिएँ । ‘सार्है खत्तम यात्रा थियो, यस्तो पनि हुन्छ काँही ?’ मैले पिताजीको अगाडि डराउँदै, अनकनाउँदै मौखिक गुनासो दर्ता गराउँदा उनी रिसाएनन् । बरू मख्ख पर्दै आफ्ना अतीतका कष्टहरूबारे बखान गर्न थाले, ‘अरे, त्यस्तो सुगम यात्रालाई खत्तम भन्छौ ? धन्न, तिमीहरूलाई पैदल यात्रा गर्नु परेन । हाम्रो जमानामा काठमाडौं जाने यात्रुहरूको निमित्त वीरगञ्जबाट हेटौडा हुँदै भिमफेदीसम्म मात्र सडकबाटो हुन्थ्यो । त्यसमा पनि राहदानी नभएकाहरूलाई चुरियापारी जाने अनुमति थिएन । त्यसपछि त हाम्लाई हिडेर जानु पर्ने हुन्थ्यो, दुईटा पहाड काटेपछि बल्ल काठमाडौं पुग्थ्यौं । बाटो यति भयावह, ज्यान त जहिले पनि जोखिममै हुन्थ्यो ।’

अर्को दिन मेरा पिताजीले मेरो हाते घडीतिर संकेत गर्दै कटाक्ष मिसाएर निर्देशन जारी गर्नुभयो, ‘समयको मूल्य बुझ्ने गर है बाबु । भोलिदेखि ठ्याक्क ८ः३० बजे बिहान गद्दीमा बस्नु ।’ नाई भन्ने कुरै भएन । यसरी मेरो व्यवहारिक प्रशिक्षण अथवा इन्ट्रनसीप आफ्नै पिताजीको ब्यवशायमा सुरू भयो, त्यो पनि आफ्नै मुनिमजी (परम्परागत बहिखाता चलाउने लेखापाल)को अधिनमा बसेर । उतिबेला यातायात ब्यवसायमा मूलतः पञ्जाबी सरदार सलंग्न थिए । उनीहरू नै नेपालको सुगमदेखि दुर्गम क्षेत्रसम्म मालसामानवाहक तथा यात्रुवाहक गाडी चलाउँथे । नेपाली सवारी चालक त नगन्य मात्रा थिए । आज समयले कोल्टो फेरेको छ । यातायात क्षेत्रमा मात्र होइन, समग्र नेपालमै पञ्जाबी सरदारको उपस्थिति नगन्य भएको छ । काइदाले नेपालमा पारवाहन क्रान्ति ल्याउने श्रेय ती पञ्जाबी सरदारहरूलाई नै जान्छ । तर उनीहको योगदानलाई सम्झिने फुर्सद कसैलाई छैन ।

टाइपराइटरको जमाना

पुराना कुरा सम्झिँदा हिजोअस्तिको जस्तो लाग्छ । वीरगञ्जबाट रौतहट जिल्लाको सदरमुकाम, गौरजस्तो नजिकको ठाममा मालसमान पठाउनु पर्दा पनि घोडाखच्चरमा पठाइन्थ्यो । अनि यात्रुहरू भारतको बैरगनिया भएर गौर पस्थे । बिस्तारै नेपालभरि बाटोघाटो तथा भौतिक संरचनामा ब्यापक सुधार भयो । मेचीदेखि महाकालीसम्म सडक सञ्जालको बिस्तार भयो । नेपालको एक भूभागबाट अर्को भूभागमा पुग्न भारतीय बाटोको प्रयोग गर्नु पर्ने बाध्यता रहेन । सो अनरूप आन्तरिक ढुवानी पनि सहज हुँदै गयो । कलकत्ता बन्दरगाहबाट वीरगञ्ज र विराटनगर नाका सबैभन्दा नजिक हुँदा यी दुबै नाका समुद्रपारीका मालसमानको कारोबारको केन्द्रका रुपमा स्थापित हुँदै गए । तथापि वीरगञ्जबाट नेपालको उत्तरी, पूर्वीय र पश्चिमी भूभागमा मालसमान ढुवानी गर्न सबैभन्दा सुगम एवम् सस्तो पर्ने हुँदा वीरगञ्ज नाका आयातकर्ता तथा उद्योगपतिको निमित्त मुख्य कारोबार विन्दु बन्दै गयो ।

यसो सोच्छु, विकासको गति कति चाँडै अघि बढेको होला ! आज स्टेनशील लिथोको स्थान फोटोकपी मेशिनले लिएको छ । त्यो पनि हुबहु निकाल्न सकिने । टाइपराइटरको स्थान कम्प्युटर, आइप्याड, स्मार्टफोन र प्रिन्टरले लियो । गद्दीहरू अलप हुँदै गएका, तिनको स्थानमा टेबल र कुर्सीले लिए । कम्प्युटर, आइप्याडजस्ता ग्याजेट आदिको त कल्पनासम्म गरिएको थिएन । ती दिनमा कुनै ब्यावसायिक प्रतिष्ठानमा टाइपराइटर हुनु नै प्रतिष्ठाको बिषय हुन्थ्यो । अनि हामी भुराहरू एकापसमा कानेखुशी गथ्र्यौं, ‘तिम्लाई थाहा छ रमुवा ? सोमुवाका बाबुजीसित टाइपराइटर छ, टाइपराइटर… !’

उतिबेला छापाखानामा छापिएका चिल्ला परेका लेजर बुक, क्यासबुक अथवा जनरलबुक हुँदैनथे । रातो कपडाको गाता भएका हस्त निर्मित परम्परागत बहीखाता हुन्थे । झण्डै एक मिटर लामो, पहेलो रङका सादा कागजमा हिसाबकिताब लेखिन्थ्यो । उतिबेला कसैसित कुनै किसिमको लेनदेनबारे विवाद भएमा ती बहीखातालाई नै अन्तिम प्रमाण मानिन्थ्यो । देउताप्रति श्रद्धा राखेजस्तै बहीखाताप्रति श्रद्धा राखिन्थ्यो । बहीखातालाई जुठो हातले छुनु र फोहर स्थानमा राख्नुलाई त ठूलै अपराध मानिन्थ्यो । उतिबेला भागवद् गीता छोएर किरिया खाएजस्तै ब्यापारीहरू ‘म जे बोल्दै छु, सत्यतथ्य बोल्दै छु’ भन्दै आफ्नो बहीखाता छोएर व्रिmया खान्थे । आजको दिनमा न त्यस्ता किरिया खानेहरू जीवित छन्, न त किरिया खुवाउनेहरू नै ।

बुढापाकाहरुको पञ्चायती

उतिबेला खरिदबिक्रीको मामिलामा मौखिक सौदाकोे महत्व पनि उतिकै उच्च थियो । भाउ जति सुकै घटोस् अथवा बढोस्, सौदा मौखिक भए पनि कोही सौदाबाट पछि हट्दैनथ्यो । अनि व्यावसायिक समाजमा ज्येष्ठ नागरिकलाई उतिकै महत्व दिइन्थ्यो । मलाई अक्षरस याद छ, एक पुस्ताअघिसम्म व्यावसायिक अथवा पारिवारिक विवाद आइपरेमा वीरगञ्जमा केही पाको उमेरका भद्रभलाद्मीहरू बसेर सहमति निर्माण गर्थे । दुई व्यवसायी अथवा परिवारबीच कुनै विवाद भयो भने सकभर अड्डा अदालत गइदैनथ्यो । गाँउका भद्रभलाद्मीहरु नै एकापसमा बसेर निकास झिक्थे । उनीहरूको निर्णयको मान दुबै पक्षले उतिकै श्रद्धाका साथ राख्थे पनि । त्यसरी एकापसमा बसेर निकास झिक्ने कामलाई पञ्चायती भनिन्थ्यो । अहिले म यसो गम्न बाध्य हुन्छु, आजको जमानामा बावुको कुरो छोरोले त सुन्दैन । गाँउका बुढापाकाहरूको निर्णय के कसैले मानिदेला ?’

मेरा पिताजीले मेरो हाते घडीतिर संकेत गर्दै कटाक्ष मिसाएर निर्देशन जारी गर्नुभयो, ‘समयको मूल्य बुझ्ने गर है बाबु । भोलिदेखि ठ्याक्क ८ः३० बजे बिहान गद्दीमा बस्नु ।’ नाई भन्ने कुरै भएन । यसरी मेरो ब्यवहारिक प्रशिक्षण अथवा इन्ट्रनसीप आफ्नै पिताजीको ब्यवशायमा सुरू भयो, त्यो पनि आफ्नै मुनिमजी (परम्परागत बहिखाता चलाउने लेखापाल)को अधिनमा बसेर

आज परम्परागत खाताबहीको स्थानमा एकसे एक सफ्टवेयरहरू आएका छन् । बुढापाका मुनिमजीको स्थानमा कम्प्युटर चलाउन जानेका युवा एकाउन्टेन्टहरू आएका छन् । परम्परागत पत्राचारको स्थान इमेल र विभिन्न थरिका अनलाइन च्याट प्रविधिले लिएका छन् । अब हामी कुनै पनि खेल खेल्न खेलमैदानमा जाँदैनौ, स्मार्टफोनमा थुप्रै गेमहरू छन्, त्यसैमा खेलेर काम चलाउँछौ । आज समय थाहा पाउने साधन त सबैजना सँग छ, तर समय कोहीसँग छैन ।

आफन्त अथवा चिनजानमध्येको कोही दिवंगत हुँदा त आरआइपी (रेष्ट इन पीस) लेखेर अनलाइन संवेदना प्रकट गर्छौ । यसो हेर्दा हामी मनुवालाई समयले थुप्रै थोक दिएको छ । तर मलाई लाग्छ, समय पनि एक व्यवसायी नै हो । हामीलाई निशुल्क केही पनि दिएको छैन । परोक्ष रूपमा बाक्लो शुल्क असुलउपर गरेको छ ।

तालुखुइलेको कथा


मधेसतिर निकै चलेको एउटा आहान छ, ‘जिन्दगी झंड बा, फिर भी घमन्ड बा ।’ अर्थात्, ‘जन्मगत कपाल हटेकै छैन, तैपनि घमन्ड पल्हाएको छ ।’

कुनै बेला कपालको मामिलामा म स्कुले बबुरोको अवस्था पनि उस्तै थियो । मेरो ज्यान–प्राण आफ्नो कपालमै अड्केको हुन्थ्यो । घण्टौँ ऐनाअगाडि उभिएर आफ्नो कपाल मिलाउने प्रयास गरिराख्थेँ ।

नुहाउँदा आफ्नो कपाललाई कोमल र चिल्लो राख्न थरीथरीका स्याम्पु प्रयोग गर्थेँ । नुहाइसकेपछि कपालमा ब्राइलक्रिम लगाएर टल्काउँथेँ । अलि फुर्सद भयो कि पकेटबाट काइँयो झिकेर कपाल मिलाउने अभियानमा तल्लीन भइहाल्थेँ ।

कसैले जानेर अथवा नजानेर कपाल बिगार्यो भने मारामारी गर्न तम्सिन्थेँ । मानौँ, मेरो जेथा–सम्पति हात पार्न खोजेको होस् । तर, अरूको कपाल बिगार्ने मौका पायो कि उत्तिकै आनन्दित पनि हुन्थेँ ।

हामी मान्छेको शरीरमा अति हठी भनिएका दुइटा तत्व छन् क्यारे, कपाल र नङ । काँटछाँट गरी यसलाई जति सिध्याउन खोजिए पनि कहिल्यै सिद्धिदैनन्, पुनः जुर्मुराइहाल्छन् ।

तर, सैलुनवालाले जानाजानी होस् अथवा नजानी, चिताएजस्तो कपालको काँटछाँट वा बान्की मिलाउन सकेन भने झगडा गर्न तम्सिन्थँे ।

एउटा घटना मलाई अझैसम्म याद छ, सैलुनमा मेरो कपाल चाहेको भन्दा निकै छोटो गरिदिएपछि रुँदै पिताजीलाई गुनासो गरेको थिएँ । मेरो कपालको हविगत देखेर मेरा दाइहरू मरीमरी हाँसेका थिए । कहिल्यै खुलेर नहाँसेका मेरा पिताजी स्वयंले पनि आफ्नो हाँसो रोक्न सकेका थिएनन् ।

तिनको यस्तो रवैयाबाट मेरो मन झनै आहत भएको थियो । पछि मेरो घाउमा मल्हम लगाउने मनसायले सैलुनको मान्छेलाई आफ्नो पसलमा बोलाएर हप्काउने नाटक गरेका थिए ।

आफ्नो कपालप्रति यसरी आशक्ति राख्नेहरूको कित्तामा म एक्लै थिइनँ । मेरो कक्षाका सबै साथीहरूको मनोदशा त्यही थियो । हामी गफ छाट्थ्याैँ, ‘तिमी कुन स्याम्पु लगाउँछौ रे ? तुम्हारा हेयर स्टाइल तो बिलकुल जीतेन्द्र जैसा है रे !’

कपालको देखरेख गर्ने तरिका पनि सबैको फरकफरक हुन्थ्यो । एकजना सहपाठीले त केशमा यति धेरै तेल चोपेको हुन्थ्यो, उसका दुवै कन्चटबाट तेल नाँच्दैगाउँदै घाँटीसम्म पुगेको हुन्थ्यो ।

संयोगवश कोही सहपाठी कुनै पनि कारणले पूरै कपाल खौरेर आएको छ भने उसलाई आपत् नै हुन्थ्यो । उसको मुडलो शिरमा पालैपालो गरी हामी तबलावादनको अभ्यास गर्थ्यौँ ।

हामीलाई पढाउने सरहरूमध्ये केही सरहरूसँग कपाल नामको बहुमूल्य सम्पति नै हुँदैनथ्यो । अनि, हामीले तिनको न्वारान गरेका हुन्थ्यौँ, ‘फलानो बेलमुन्डा सर, ढिस्कानो टक्लु सर, खप्परछिल्ला सर’ आदिआदि ।

साथीहरूसँगै बाटो हिँड्दा कोही टाउको खुइले देखियो कि ‘ऐ टक्लु’ भनेर जिस्क्याउन बेर लगाउँदैनथ्याैँ ।

कुन्नि कसको श्राप लाग्यो ! एक दिन मेरो शिरको पछिल्लो भागबाट कपाल एकाएक बेपत्ता हुन थाल्यो । त्यस बेला मेरो सातो नै गएको थियो । कसैलाई केही थाहा नदिई डा. चक्रवर्तीको क्लिनिक पुगेँ । कपाल, जुँगा सबै फुलेर सेताम्मे भएका ।

साह्रै राम्रा डाक्टर, तर रिसाहा पनि उत्तिकै । उनलाई देखाउँदा ‘सब पेट के रोग से होता है’ भनेर केही खाने औषधि दिए । तर, त्यसले ठिक भएन ।

पिताजीका अगाडि पीडा पोख्दा उनले एक कर्मचारीका साथ डा. केदार आचार्यसँग जँचाउन पठाइदिएका थिए । उनले अदुवा दल्ने सल्लाह दिए ।

मोटामोटी एक महिनाको प्रयासपश्चात् मेरा अलप कपाल यथास्थानमा फर्किन सुरु भए । मेरो जेथा–सम्पत्ति जोगियो भनेर मलाई सन्तोष भयो ।

भन्नेले ठिकै भन्छन्, ‘समय र उमेर दुवै अविश्रान्त हिँडिराख्ने सहयात्री हुन्, कहिल्यै थाक्दैनन् । बिराम कुनै हालतमा लिँदैनन् ।’ समयसँगै म स्कुले विद्यार्थीबाट कलेजको विद्यार्थी, कलेजको विद्यार्थीबाट पूर्णकालीन व्यवसायी भएको थिएँ ।

साथै, बालबच्चेदार पनि । तर, कपालको मोह कम भएको थिएन । कपालमा चाया पनि बढ्न थालेको थाहा पाएर चिन्तित भएको थिएँ । चाया हटाउन कहिले दही, कहिले कागतीको रस, कहिले अमला, कहिले यो त कहिले त्यो, केही न केही प्रयोग गरिराख्थेँ ।

फेरि एकपटक कपाल कोर्दा काइँयोमा सामान्यभन्दा बढी कपाल फुत्केर आएको देखेँ । पुरानो रोग सम्झँे । ‘ठिकै छ, अदुवा दलिन्छ । ठिक भइहाल्छ नि !’ स्वयंलाई आश्वस्त पारेँ । र, अदुवा दल्ने अभियानमा होम्मिएँ ।

यसपटक अदुवाको उपचार काम लागेन । हैरान भएर पुनः डा. केदार आचार्यकै शरणमा पुग्न खोजेँ । उनले धेरै अगाडि चराचर चोलो त्यागिसकेको थाहा भयो ।

उति बेला पिताजीलाई भेट्न उनका अभिन्न मित्र डा. गोपाल अधिकारी आइराख्थे । उनका अगाडि आफ्नो पीडा पोख्दा उनले पनि खाने र लाउने औषधि दिए ।

उनले भनेको औषधि प्रयोग गरेको केही दिनपछि कपाल झर्ने क्रिया अलि पातलो भयो । तर, अल्पकालका लागि मात्र ।

एक दिन नुहाएर बाथरुमबाट बाहिर निस्किन लागेको थिएँ, नालाको प्वालमा थुप्रै कपाल अड्किएको देखेँ । मनभित्र नमिठो गरी चसक्क भयो । मनको एउटा भागले भन्यो– हेर, यी तिम्रै कपाल हुन् !

अर्को भागले झुटो आश्वासन दिन खोज्यो– तिमीभन्दा अघि दाइ नुहाएका थिए । उनको कपाल पनि त हुनसक्छ !

केही दिनपछि त कपाल कोर्दा पानीको झरीझैँ कपाल झर्न थाल्यो । म आकुलव्याकुल भएँ ।

आफूले चिनेजानेका सबै डाक्टरहरूको ढोका ढक्ढाकाएँ । आयुर्वेदिक र होमियोप्याथिक औषधोपचारमा पनि लागेँ । उता कपाल झर्ने क्रिया झन्झन् तीव्र भएर गयो ।

बूढापाकाहरूले अह्राएानुसार घरेलु उपचार पनि गरेँ । केही लाभ भएन । ऐनाअगाडि पर्दा आफ्नै अनुहारसित भय लाग्न थाल्यो । सपनामा हिन्दी सिनेमाका कुख्यात खलनायक ‘सेट्टी’ प्रकट हुन थाल्यो । ‘अब तिमी पनि मजस्तै टक्लु हुने भयौ’ भनेर गिज्याउन थालेको भान हुन थाल्यो ।

अब चाँडै नै आफू पनि कपाल खुइलेको कित्तामा परिन्छ भनेर कल्पना गर्दा आङ नै सिरिङ्ङ भयो । खाइलाग्दो जवानीमै तालुखुइले हुनुभन्दा नबाँचेकै ठिक लाग्न थालेको थियो ।

मेरो केशका एकएक रौँ बहुमूल्य हीराजस्तै थियो । कपाल कोर्दा बडो जतनका साथ सक्दो विस्तारै र नरम पारामा कोर्न थालेँ, कमसेकम कपाल नझरोस् भन्ने मनसायका साथ । तर, मेरा कपालको क्षय यात्रा जारी नै रह्यो ।

कुनै अखबार अथवा म्यागेजिनमा कपाल झर्नलाई रोक्ने कुनै औषधिको प्रचार छापिएको हेर्नेबित्तिक्कै म हुरुक्क हुन्थेँ । एक दिन कुनै भारतीय अखबारमा ‘अर्निका प्लस’ नामको कुनै औषधीय तेल र खाने ट्याबलेटको प्रचार आँखाअगाडि पर्यो । सो तेल र औषधिको प्रयोगपछि कपाल झर्ने रोग जतिसुकै पुरानो भए पनि रोकिनेछ । र, नयाँ कपाल पनि ग्यारेन्टीका साथ पलाउनेछ भनेर लेखिएको थियो ।

मनमा विश्वास पलायो– बल्ल अहिल्याले रामलाई भेट्ने भयो ! मैले त्यो औषधि पनि झिकाएँ । अनि, निर्देशन दिएजसरी नै प्रयोग गरेँ । तर, कपाल झर्ने समस्या यथावत् नै रह्यो ।

मथिंगलमा हेलिप्याड त बनिसकेकै थियो, विस्तारै त्यो हेलिप्याड पनि रनवेमा परिणत हुन थालेको थियो । एकजना नातेदारले सुझायो, ‘भारतको दरभंगानजिकै मधुबनी भन्ने गाउँ छ, त्यहाँ एकजना वृद्ध होमियोप्याथिक वैद्य छन्, उनले धेरै मानिसको कपाल झर्ने रोग ठिक पारेका छन् ।’

आफ्नो बाल्यकालीन साथी महेशसँगै म कुद्दै मधुबनी पुगिहालेँ । छ महिना बित्यो । तथापि, उनको औषधिले पनि कुनै लाभ भएन ।

एक दिन सदैव देशविदेश घुमिराख्ने एकजना अतिथि घरमा आएका थिए । मेरो तालुको हविगत हेरेर उनले ठूलै उपकार गर्न खोजेको पारामा जानकारी गराए, ‘सिंगापुरमा एउटा औषधि पाइन्छ । असाध्यै महँगो छ । त्यो लगाएपछि ग्यारेन्टीका साथ कपाल झर्न बन्द हुनेछ ।’

उनको भनाइमा गजबको आत्मविश्वास थियो । मलाई लाग्यो– उनी साक्षात् देउता नै हुन् ! कृतज्ञता प्रकट गर्दै म हत्त न पत्त उक्त औषधि सिंगापुरबाट झिकाउने अभियानमा लागेँ ।

त्यो औषधिको प्याकिङ गजबको थियो । नामचाहिँ ‘वन हन्डरेड वन’ थियो क्यारे ! असाध्यै गन्हाउँथ्यो । तर, लगाउनु परिहाल्यो । तीन बोतल सकाएँ । कुनै परिणाम आएन ।

शिर दिनानुदिन उघ्रिँदै गएको हुनाले जाडोयाममा टाउकोमा असाध्यै चिसो लाग्थ्यो । टन्टलापुरे गर्मीमा परियो भने तालु तातो तावाजस्तै हुन्थ्यो । साथीहरूले मेरो नाम राखिदिएका थिए, ‘बुढुवा’ (बूढा) । साथीभाइको जमघट हुँदा मलाई नै इंगित गर्दै तालुखुइलेको कथा सुरु गरिहाल्थे । खिल्ली उडाउने पारामा कुनै न कुनै चुटकिला झिकिराख्थे ।

बाटो हिँड्न पनि मलाई गाह्रो हुन थालेको थियो । फुच्चेहरू टक्लु टक्लु भन्दै मतिर औँला ठड्याइहाल्थे । बिहेबारी आदिमा जाँदा प्रायःको दृष्टि मेरो तालुतिर नै हुन्थ्यो ।

कसैको आँखामा सहानुभूतिको छाया हुन्थ्यो भने कसैको आँखामा उपहासको । अरूहरूको टाउकोमा कपाल लहलहाउँदै गरेको देखेर डाहा हुन्थ्यो । ‘ह्वाई मी ?’ भनेर भगवान्सित झगडा पनि गर्थेँ ।

कुनै जमानामा तालुखुइलेहरूप्रति मेरो व्यवहार पनि उस्तै हुने गर्थ्यो । सबै मेरै कर्मको फल हो कि भनेर मनमनै पछुतो मनाउ गरेँ । भगवान्सित माफी मागेँ । तर, कुनै सुनवाइ भएन ।

समय बित्दै गयो । मेरो जीवनमा दिवस नाम भएका एकजना यस्ता मित्रको आगमन भयो, जसले मेरो खुइलिएको तालुलाई इंगित गरेर कहिल्यै उपहासपूर्ण व्यवहार गरेन । बरु, तालुखुइले हुनुको फाइदा नै गनाउन थाल्यो, “संसारभरिका सबै विद्वान् तालुखुइले नै हुन्छन् । तालुखुइलेलाई सैलुन धाइराख्नु पर्दैन । काइँयोले कपाल कोरीराख्नु पर्दैन । स्याम्पुको खर्च पनि जोगिने भयो । ब्ला…ब्ला…ब्ला…।”

ऊसित जतिखेर भेट हुँदा पनि उसले नयाँनयाँ टोपी लगाएकै हुन्थ्यो । एक दिन म र ऊ होटेलमा कफी खाँदै थियौँ । उसले आफ्नो टोपी फुकालेर टेबलमा राख्यो ।

लौ मार्यो ! यो मान्छे पनि मजस्तै तालुखुइले रै’छ । म त हतप्रभ भएँ !

ऊ आप्mनो तालु सुम्सुम्याउँदै थियो । म निःशब्द उसको तालुतिरै आँखा गाडेर हेरिरहेँ । एउटा हरुवा नेताले अर्को हरुवा नेतालाई भेट्दा जुन अदम्य प्रसन्नताको अनुभूति हुन्छ, त्यही अनुभूति मलाई पनि भइराख्या थियो ।

‘के हेरेको ? मैले जमानाअघि नै तालुखुइले क्लबको सदस्यता लिइसक्या हो । तिमी पो भर्खरै भर्ना भएका हौ । नयाँ नौलो सदस्य ।’ मुस्कुराउँदै उसले आफ्नो भेद खोलिदिँदा मैले बल्ल चेतेँ ।

‘होइन, यतिका दिनदेखि संगतमा छौ । कहिल्यै कुरो झिकेनौ । त्यही भएर अनौठो लाग्यो ।’ संकोच मान्दै मैले जवाफ फर्काएँ । उप्रान्त हामी दुवै मित्र आफ्नोआफ्नो ‘तालुबार’मा कुरो गर्न थाल्याँै । अर्थात्, उसले आफ्नो पीडा झिक्यो, मैले आफ्नो ।

उसले ज्ञानी मनुवाजस्तै भंगिमा बनाउँदै जानकारी गरायो, ‘हेर, तिमीजस्तै मैले पनि कम्तीको दौडधुप नगरेको होइन । पैसो पनि उत्तिकै बर्बाद गरेँ । दिल्लीका डाक्टरहरूसम्म धाएँ । एक दिन मलाई चेतना भयो, मेरो तालुमा खेतीपाती गर्न खोज्ने डाक्टरहरूको आफ्नै तालु बाँझो छ । यिनीहरूसित कुनै उपचार भएको भए सबैभन्दा पहिले आफ्नै तालु भर्थे नि ! त्यसपछि एक दिन मउपर गजबको ईश्वरीय कृपा भयो र समस्त समस्याको समाधान भयो ।’

उसको कुरो कन्थोबाट म प्रभावित थिएँ । तर, अन्तिम वाक्यबाट अचम्मित पनि ।
‘तिम्रा समस्त समस्याको समाधान कसरी भयो त ?’ मैले प्रश्न तेर्स्याएँ ।

‘टोपी लाउने जुक्ति मगजमा फुरेर । यो टोपीले घामपानी र चिसोबाट जोगाएकै छ । टक्लु भनेर जिस्क्याउन खोज्नेहरूको मुखमा बुजो पनि लगाएकै छ । दिनहुँ फरकफरक पारामा मथिंगलको सौन्दर्य पनि बढाएकै छ । बरु, कहिलेकाहीँ पाका उमेरका विद्वान्हरूबीच बस्नुपर्दा टोपी हटाएर गइन्छ । यो मान्छे पनि हामीजस्तै अनुभवी र खारिएकै होला भनेर अतिरिक्त भाउ पाइँदो रै’छ । कतै कुनै औपचारिक कार्यक्रममा राष्ट्रियता दर्शाउनुपर्यो भने आकलझुक्कल ढाकाटोपी पनि लगाइन्छ ।’ मुस्कुराउँदै उसले प्रवचन दियो ।

उसको प्रवचनले मेरो अन्तर्मनलाई छोयो । तसर्थ, आफूले पनि आजै दुई चारवटा टोपी किन्नुपर्छ भनेर मनमनै प्रण गरेँ ।
(वीरगन्ज)

दो फूटी कौडी


वीरगन्ज अस्तित्वमा आउनुभन्दा अगाडिको कुरो हो । उतिबेला यस भेगका जनतालाई रेल चढेर भारतको कुनै भित्री भूभाग पुग्नु पर्ने भयो भने बस चढेर पहिला सुगौली पुग्नु पर्ने हुन्थ्यो । रक्सौल जसलाई कुनै बेला फलेजरगंजको नामले चिनिन्थ्यो, रक्सौलमा रेलवे स्टेशन त धेरै पछि आएको हो । दुई दसकअगाडिसम्म रक्सौल रेलवे स्टेशनबाट छोटो–छोटो दुरीका रेल मात्र चल्थे । आफू ट्रेन चढेर प्रथमपटक दिल्ली यात्रामा जाँदा मोटामोटी पाँच अथवा छ वर्षको हुनुपर्ने । हजुरआमा, बाआमा र दाइसँगै गएको थिए । उतिबेला हामीहरू रक्सौलबाट रेल चढेर मुजफ्फरपुर पुगेका थियौ । त्यहाँ एक जना नातेदारको घरबाट दिल्लीको टिकट संकलन गरेर आर्को रेलमा समस्तीपुर पुगेका थियौं । समस्तीपुरबाट जयन्तीजनता नाम भएको रेल समातेर दिल्ली पुगेका थियौं । यसरी दिल्ली पुग्न हामीलाई पुरै दिन र दुई रात लागेको थियो ।

खासमा हाम्रो यात्राको मूल प्रयोजन थियो, मेरो र मेरा दाइको कपाल मुण्डन संस्कार । हुन त म र मेरा दाइको मुण्डन संस्कार धेरै अगाडि ग्राम देउतालाई साक्षी राखेर सम्पन्न भइसकेको थियो । तथापि राजस्थानका विभिन्न भूभागमा अवस्थित कुलदेउताको दैलोमा पनि मुण्डन संस्कार गरिनु पर्छ भनेर हजुरआमाको उत्कट चाहना रहेको थियो । उनको चाहनाको मान राख्दै बाआमाले सो तिर्थाटनको योजना बनाएका थिए । उतिबेलाको यात्रा आजको जस्तो ठाँटबाँटवाला कहाँ हुनु । खासमा अभिभावकलाई गाँठको पनि समस्या थियो । त्यही भएर उनीहरूले झिटीगुण्टामा पिठो, चामल, दाल, थरिथरिका मरमसला, खाना पकाउने भाडो, थाल, मट्टीतेलबाट चल्ने स्टोभ चुल्हो पनि राखेका थिए ।  लालटेन, कपडालत्ता र सुत्ने ओछ्यान त नहुने कुरै भएन ।

रेलमा खाना पकाउने अनुमति थिएन । तैयारी खाजाको रूपमा चना, सुख्खा भुजा, च्युरा अथवा सत्तु साथमा जे थिए, बाटोमा त्यही खाएर काम चलाएका सन्तोष गरेका थियौ । कुनै स्टेशनमा लामो समयको लागि रेल रोकिँदा हामी भुराहरूलाई हतारहतार स्टेशनको खुल्ला धारामुनि नुहाउन लगाइको दृश्य मलाई मज्जाले याद छ । दिल्ली पुग्दा हामीहरू त्यो रात दिल्लीकै कुनै धर्मशालामा बास बस्नु परेको थियो । त्यही धर्मशालामा खाना पकाएर खाइएको थियो । भोलिपल्ट दिनभरि दिल्ली घुम्यौं । दिल्लीको दुई घोडे ताङ्गा, लालकिला र कुतुब मिनारको झिनो सम्झना छ ।

गणेशप्रसाद लाठ

हाम्रो अगाडिको यात्रा राती आर्को रेलमा सुरु भएको थियो ।दिल्लीको सरायरोहिल्ला स्टेशनबाट राजस्थानको झुन्झुनुको लागि । अचेल दिल्लीको ट्रेन यात्रामा अधिकतम चौबिस घन्टा लाग्छ । हुनत्, चिनतिर चल्ने ट्रेनको परिकल्पना गर्ने हो भने रक्सौलबाट दिल्ली पुग्न चार घन्टाभन्दा बढी नलाग्नु पर्ने हो । हतारो भएकाहरू अचेल दरभंगा अथवा गोरखपुर अथवा पटनाबाट प्लेन समात्न थालेका छन् । उही दिन दिल्ली पुगिन्छ ।काठमाण्डौ–दिल्लीको प्लेन भाडाभन्दा आधी खर्चमा । सडक यात्रामा रमाउनेहरू आफ्नै गाडी चढेर पनि दिल्ली पुग्न थालेका छन् । बाटो गजबको चिल्लो र चाक्लो भएको छ । ठुलो हवाईजहाज समेत अवतरण गर्न मिल्ने खालको ।

खैर, म चर्चा गर्न चाहन्छु पच्चीस वर्ष पुरानो दिल्ली यात्राबारे । तिनताक मलाई व्यवसायिक प्रयोजनवश दिल्ली गइराख्नु पर्ने हुन्थ्यो । रक्सौलबाट बस अथवा रेल समातेर मुजफ्फरपुर पुग्थे । मुजफ्फरपुरबाट बैशाली एक्सप्रेस नाम भएको रेल समातेर दिल्ली । पुरानी दिल्लीको फतेहपुरीमा स्थित व्यापारी निवास गेष्टहाउसमा बसाइ हुन्थ्यो । फुर्सद भएको बेलामा चाँदनीचौक, लालकिलातिर घुम्न निस्किन्थे । पसलहरूबाट इच्छाएका समानहरू मोलमोलाई गरेर खरिद गर्थे । उताको मोलमोलाई पनि अनौठो, सयको दाम पचास लगाउनु पर्ने ।

उतिबेला प्रत्येक आइतबार दरियागञ्जतिर किताबको बजार पनि लाग्थ्यो । खुद्रा मुल्यको पचास प्रतिशत दरमा । म आइतबार पारेर उतै पुग्थे । एक पटक म दरियागञ्जतिर घुम्दै रुचिकर लागेका किताबहरू किन्दै अगाडि बढ्दै थिए । एकाएक मेरो ध्यान एक फुटपाथे पसलमा ओछ्याइएका थरिथरिका रुपैयापैसातिर गयो । अचम्भ लाग्यो । म नजिक पुगेर सो पसलका प्रत्येक सामग्री ध्यानपुर्वक हेर्न बाध्य भए । सो पसलमा आदिम जमानाका रुपैया, सिक्का र डाक टिकटहरू राखिएका थिए । “कुनै बेला मैले पनि यस्तै पुराना सिक्का र डाकटिकटहरू संकलन गर्ने सौख राख्थें ।” छात्रकालको कुरो सम्झेर कौतुहल झन् थपियो । सिक्का हातमा लिएर हेर्न चाहे । “रख दो छुने की जरुरत नहीं ।” कसैको कर्कस स्वर कानमा पस्यो ।” कराउने मान्छेतिर मेरा आँखा फर्किए । छेउमै एक जना बूढा बसेका थिए ।

रविन्द्रनाथ टैगोरकाजस्तै निख्खर सेता लामा कपाल र दाढी । पहिरन पनि जताततैबाट च्यातिएका । मलाई ती बूढाको मानसिक अवस्था ठीक लागेन । तैपनि आँट गर्दै फर्काएँ, “मै सचमुच खरिदना चाहता हुँ ।”

“अच्छा ? तुम्हारी किमत तो दो फूटी कौडी भी नहीं ?” उनको स्वरमा तिक्तता जसको तस नै थियो । मेरो अहंकारलाई ठूलै चोट पुग्यो । कुनै जमानामा सबैभन्दा तल्लो मुल्य भएको मुद्राको रुपमा कौडीकै लेनदेन गरिन्थ्यो भन्ने कुरो त मैले बुढापाकाहरूबाट सुनेको थिए । पाकेटबाट पर्स झिकेर मैले उनलाई हजार हजारका नोट हेराएँ, “देखो, मेरे पास बहुत पैसे है ।”उनको तिक्तता कम भएको थियो । “ठीक है, अब तुम छुकर भी देख सकते हो ।”गम्भीर मुद्रामै फर्काए ।

सम्बन्धित पोस्टहरु

केहीबेरसम्म अवलोकन गरिरहेँ । खरिद गर्ने मन थिएन, तर आफ्नो अहंकारको पृष्टपोषण पनि गर्नु थियो ।  मैले ऐतिहासिक पृष्टभूमि केही सिक्का छनौट गरे । मोलमोलाई गरेर, भुक्तान पनि गरे । गोजी गरम भएर होला, बूढाको व्यवहार समान्य भएको थियो । मैले खोतल्ने आँट गरे, “बाबा, आपके जमाने में कौडियोँ को पैसे की तरह चलाया जाता था क्या ?” उनको अनुहारमा मुस्कानको हलुको आभा बल्ल झुल्कियो । “देखो, हमारे जमाने में तीन फूटी कौडी के बराबर एक साबुत कौडी, दस साबुत कौडी के बराबर एक दमडी, दो दमडी के बराबर एक धेला होता था । बाद में पाई, पैसे और रुपये भी आ गए । उस वक्त एक धेले के बराबर डेढ पाई, तिन पाई के बराबर एक पैसा, चार पैसे के बराबर एक आना, सोलह आने के बराबर एक रुपया होता था ।”

उनी खुल्दै गएकाले मेरो रुचि पनि झन्झनै थपिँदै गएको थिए । “कौडियों के मोल बिकनाः यह कहावत बचपन से ही सुनता आया हूँ । इसका अर्थ क्या है ?” “अर्थात् अकलपनीय रूप में सस्ते दामों में बिकना ।” उनले छोटकरीमा फर्काए । “तो फिर, चमडी जाए पर दमडी न जाए, इसका क्या अर्थ होता है ?” मैंले पूनः नयाँ जिज्ञासा प्रकट गरे । “किसी जमाने में लोग भुखे मर जाते थें, किन्तु अंटी से दमडी नहीं निकालते थें । यह कहावत ऐसे ही महाकंजुसो पर बनी है ।” दाढी कोट्याउँदै गर्दै उनले थपे, “इसके ठीक उलट भी एक कहावत हैः अंटी में न धेला, देखन चली मेला । अर्थात सौख है पुरे, किन्तुपाकेट खाली ।” केही बेरसम्म म यस्तै कुरोमा मग्न भएँ । ढिलो हुँदै छ भनेर मलाई एकाएक चेत भयो । बिदा माग्दै फर्किन खोजेँ । बूढोले आदेशात्मक स्वरमा भने, “जरा एक मिनट रुकना ।”

उनले मलाई दुइटा प्वाल परेका कौडी दिँदै भने, “जब भी घमण्ड तुम्हारे सर चढ जाए तो इन कौडियो को देख लेना और मेरी बात को याद कर लेनाः तुम्हारी किमत तो दो फूटी कौडी भी नहीं ।” यस पटक उनको स्वरमा तिक्तता होइन, करुणा थियो । फर्किन लागेका मेरा गोडा टक्क रोकिए । “मैं समझा नहीं बाबा ।” उनी विस्तारपुर्वक आफ्नो अतीत बताउन थाले । मलाई उनको इतिहास रोचक लाग्यो, सुन्दै गरेँ । उनको नाम जगजित सिंह हो, मूलतः पाकिस्तानको सिन्ध प्रान्तका वासिन्दा हुन् । आफ्नो जमानाका ठूलै जमिंदारका सन्तान । भारतबाट पाकिस्तान नछुटिँदासम्म जगजितको परिवार सो गाँउमा सबैभन्दा धनाढ्य र रवाफवाला परिवारमा गनिन्थ्यो । भारत टुक्रिँदा जगजितको गाँउ पाकिस्तानी भूभागमा पर्यो ।

दुवै देशमा लुटमाट र नरसंहारका घटना अनियन्त्रित पारामा बढ्दै गए । त्यसको शिकार जगजितको परिवार पनि भयो । जगजितका बाआमा रातारात आफ्ना धनसम्पत्तिमध्ये जेजति बोकेर ल्याउन सक्थे, लिएर भारतीय भूभागमा आइपुगे । झण्डै दस बयलगाडा रुपैया, सुनका सिक्का, गरगहनाहरूका साथ उनीहरू भारत छिरेका थिए । जगजितका बाले नैतीतालमा घरजग्गाको जोहो गरेर नयाँ ढङ्गले जीवनयापन सुरु गरे । जमिंदारी खोसिएको थियो तर जगजितको पुराना रवाफ जसको तस नै थियो । जगजितले सुरासुन्दरी र जुवातासमा निकै पैसो बर्बाद गरे ।आफ्नो एक मात्र छोरोका यस्ता आनाबानीबाट बाआमा दुवै दुःखी रहन्थे । असाध्य रोग लागेर जगजितका बा बिते । आफ्नी आमासित जगजितको ब्यवहार बिग्रिँदै गयो । जगजितको कुरो सुनिएन भने आमा अथवा श्रीमतीउपर हात छोड्न बेर लगाउदैनथे । एक दिन जगजितकी आमा पनि बितिन् । र, सुरु भयो जगजितको दुर्दिन । जगजितका घरमा दुई पटक डाँकाहरू पसे । हाड भाँचिने गरी नै जगजितको पिटाई गरे । जति सके, लुटेर लगे । निकै दिनसम्म जगजितलाई अस्पतालमा रहनु पर्यो ।

हुँदाहुँदा जगजितको घरसमेत बिक्री भयो । ईश्वरको बिडम्बना भनौ, जगजितलाई सन्तानसुख पनि प्राप्त हुन सकेको थिएन । आफ्नी श्रीमतीसहित दिल्ली आए । केही वर्षपछि जगजितकी श्रीमतीले समेत संसार त्यागिन् ।

“मसँग उतिबेलाका कागजी रुपैयाँ आज पनि लाखौँमा छन् । तर भारतीय सरकारले बदर गरिदिएको कारणले कागजको ठेलीबाहेक केही रहेनन् । इतिहासमा रुचि राख्ने मान्छे आकलचुकल आउँछन्, किनेर लैजान्छन् । थोरबहुत यी सिक्काहरू छन्, जुन बेचेर दुई जुनको खानाको जोहो गर्दैछु । हिजो जमिन्दार थिए, आज हरिकङ्गाल भएको छु । सबै मेरो कर्मको फल र समयको कमाल हो ।”

जगजितले गहभरि आँसु चुहाउँदै आत्मवृतान्त सुनाए । म त निशब्द भएको थिए । मलाई असाध्यै ढिलो भएको थियो । जान लाग्दा उनले पूनः दोहर्याए, “भाई ! मेरी बात को सदैव याद रखना, तुम्हारी किमत दो फूटी कौडी की भी नहीं  ।”