Month: २२ चैत्र २०७८, मंगलवार १४:१६
वीरगन्ज अस्तित्वमा आउनुभन्दा अगाडिको कुरो हो । उतिबेला यस भेगका जनतालाई रेल चढेर भारतको कुनै भित्री भूभाग पुग्नु पर्ने भयो भने बस चढेर पहिला सुगौली पुग्नु पर्ने हुन्थ्यो । रक्सौल जसलाई कुनै बेला फलेजरगंजको नामले चिनिन्थ्यो, रक्सौलमा रेलवे स्टेशन त धेरै पछि आएको हो । दुई दसकअगाडिसम्म रक्सौल रेलवे स्टेशनबाट छोटो–छोटो दुरीका रेल मात्र चल्थे । आफू ट्रेन चढेर प्रथमपटक दिल्ली यात्रामा जाँदा मोटामोटी पाँच अथवा छ वर्षको हुनुपर्ने । हजुरआमा, बाआमा र दाइसँगै गएको थिए । उतिबेला हामीहरू रक्सौलबाट रेल चढेर मुजफ्फरपुर पुगेका थियौ । त्यहाँ एक जना नातेदारको घरबाट दिल्लीको टिकट संकलन गरेर आर्को रेलमा समस्तीपुर पुगेका थियौं । समस्तीपुरबाट जयन्तीजनता नाम भएको रेल समातेर दिल्ली पुगेका थियौं । यसरी दिल्ली पुग्न हामीलाई पुरै दिन र दुई रात लागेको थियो ।
खासमा हाम्रो यात्राको मूल प्रयोजन थियो, मेरो र मेरा दाइको कपाल मुण्डन संस्कार । हुन त म र मेरा दाइको मुण्डन संस्कार धेरै अगाडि ग्राम देउतालाई साक्षी राखेर सम्पन्न भइसकेको थियो । तथापि राजस्थानका विभिन्न भूभागमा अवस्थित कुलदेउताको दैलोमा पनि मुण्डन संस्कार गरिनु पर्छ भनेर हजुरआमाको उत्कट चाहना रहेको थियो । उनको चाहनाको मान राख्दै बाआमाले सो तिर्थाटनको योजना बनाएका थिए । उतिबेलाको यात्रा आजको जस्तो ठाँटबाँटवाला कहाँ हुनु । खासमा अभिभावकलाई गाँठको पनि समस्या थियो । त्यही भएर उनीहरूले झिटीगुण्टामा पिठो, चामल, दाल, थरिथरिका मरमसला, खाना पकाउने भाडो, थाल, मट्टीतेलबाट चल्ने स्टोभ चुल्हो पनि राखेका थिए । लालटेन, कपडालत्ता र सुत्ने ओछ्यान त नहुने कुरै भएन ।
रेलमा खाना पकाउने अनुमति थिएन । तैयारी खाजाको रूपमा चना, सुख्खा भुजा, च्युरा अथवा सत्तु साथमा जे थिए, बाटोमा त्यही खाएर काम चलाएका सन्तोष गरेका थियौ । कुनै स्टेशनमा लामो समयको लागि रेल रोकिँदा हामी भुराहरूलाई हतारहतार स्टेशनको खुल्ला धारामुनि नुहाउन लगाइको दृश्य मलाई मज्जाले याद छ । दिल्ली पुग्दा हामीहरू त्यो रात दिल्लीकै कुनै धर्मशालामा बास बस्नु परेको थियो । त्यही धर्मशालामा खाना पकाएर खाइएको थियो । भोलिपल्ट दिनभरि दिल्ली घुम्यौं । दिल्लीको दुई घोडे ताङ्गा, लालकिला र कुतुब मिनारको झिनो सम्झना छ ।
हाम्रो अगाडिको यात्रा राती आर्को रेलमा सुरु भएको थियो ।दिल्लीको सरायरोहिल्ला स्टेशनबाट राजस्थानको झुन्झुनुको लागि । अचेल दिल्लीको ट्रेन यात्रामा अधिकतम चौबिस घन्टा लाग्छ । हुनत्, चिनतिर चल्ने ट्रेनको परिकल्पना गर्ने हो भने रक्सौलबाट दिल्ली पुग्न चार घन्टाभन्दा बढी नलाग्नु पर्ने हो । हतारो भएकाहरू अचेल दरभंगा अथवा गोरखपुर अथवा पटनाबाट प्लेन समात्न थालेका छन् । उही दिन दिल्ली पुगिन्छ ।काठमाण्डौ–दिल्लीको प्लेन भाडाभन्दा आधी खर्चमा । सडक यात्रामा रमाउनेहरू आफ्नै गाडी चढेर पनि दिल्ली पुग्न थालेका छन् । बाटो गजबको चिल्लो र चाक्लो भएको छ । ठुलो हवाईजहाज समेत अवतरण गर्न मिल्ने खालको ।
खैर, म चर्चा गर्न चाहन्छु पच्चीस वर्ष पुरानो दिल्ली यात्राबारे । तिनताक मलाई व्यवसायिक प्रयोजनवश दिल्ली गइराख्नु पर्ने हुन्थ्यो । रक्सौलबाट बस अथवा रेल समातेर मुजफ्फरपुर पुग्थे । मुजफ्फरपुरबाट बैशाली एक्सप्रेस नाम भएको रेल समातेर दिल्ली । पुरानी दिल्लीको फतेहपुरीमा स्थित व्यापारी निवास गेष्टहाउसमा बसाइ हुन्थ्यो । फुर्सद भएको बेलामा चाँदनीचौक, लालकिलातिर घुम्न निस्किन्थे । पसलहरूबाट इच्छाएका समानहरू मोलमोलाई गरेर खरिद गर्थे । उताको मोलमोलाई पनि अनौठो, सयको दाम पचास लगाउनु पर्ने ।
उतिबेला प्रत्येक आइतबार दरियागञ्जतिर किताबको बजार पनि लाग्थ्यो । खुद्रा मुल्यको पचास प्रतिशत दरमा । म आइतबार पारेर उतै पुग्थे । एक पटक म दरियागञ्जतिर घुम्दै रुचिकर लागेका किताबहरू किन्दै अगाडि बढ्दै थिए । एकाएक मेरो ध्यान एक फुटपाथे पसलमा ओछ्याइएका थरिथरिका रुपैयापैसातिर गयो । अचम्भ लाग्यो । म नजिक पुगेर सो पसलका प्रत्येक सामग्री ध्यानपुर्वक हेर्न बाध्य भए । सो पसलमा आदिम जमानाका रुपैया, सिक्का र डाक टिकटहरू राखिएका थिए । “कुनै बेला मैले पनि यस्तै पुराना सिक्का र डाकटिकटहरू संकलन गर्ने सौख राख्थें ।” छात्रकालको कुरो सम्झेर कौतुहल झन् थपियो । सिक्का हातमा लिएर हेर्न चाहे । “रख दो छुने की जरुरत नहीं ।” कसैको कर्कस स्वर कानमा पस्यो ।” कराउने मान्छेतिर मेरा आँखा फर्किए । छेउमै एक जना बूढा बसेका थिए ।
रविन्द्रनाथ टैगोरकाजस्तै निख्खर सेता लामा कपाल र दाढी । पहिरन पनि जताततैबाट च्यातिएका । मलाई ती बूढाको मानसिक अवस्था ठीक लागेन । तैपनि आँट गर्दै फर्काएँ, “मै सचमुच खरिदना चाहता हुँ ।”
“अच्छा ? तुम्हारी किमत तो दो फूटी कौडी भी नहीं ?” उनको स्वरमा तिक्तता जसको तस नै थियो । मेरो अहंकारलाई ठूलै चोट पुग्यो । कुनै जमानामा सबैभन्दा तल्लो मुल्य भएको मुद्राको रुपमा कौडीकै लेनदेन गरिन्थ्यो भन्ने कुरो त मैले बुढापाकाहरूबाट सुनेको थिए । पाकेटबाट पर्स झिकेर मैले उनलाई हजार हजारका नोट हेराएँ, “देखो, मेरे पास बहुत पैसे है ।”उनको तिक्तता कम भएको थियो । “ठीक है, अब तुम छुकर भी देख सकते हो ।”गम्भीर मुद्रामै फर्काए ।
केहीबेरसम्म अवलोकन गरिरहेँ । खरिद गर्ने मन थिएन, तर आफ्नो अहंकारको पृष्टपोषण पनि गर्नु थियो । मैले ऐतिहासिक पृष्टभूमि केही सिक्का छनौट गरे । मोलमोलाई गरेर, भुक्तान पनि गरे । गोजी गरम भएर होला, बूढाको व्यवहार समान्य भएको थियो । मैले खोतल्ने आँट गरे, “बाबा, आपके जमाने में कौडियोँ को पैसे की तरह चलाया जाता था क्या ?” उनको अनुहारमा मुस्कानको हलुको आभा बल्ल झुल्कियो । “देखो, हमारे जमाने में तीन फूटी कौडी के बराबर एक साबुत कौडी, दस साबुत कौडी के बराबर एक दमडी, दो दमडी के बराबर एक धेला होता था । बाद में पाई, पैसे और रुपये भी आ गए । उस वक्त एक धेले के बराबर डेढ पाई, तिन पाई के बराबर एक पैसा, चार पैसे के बराबर एक आना, सोलह आने के बराबर एक रुपया होता था ।”
उनी खुल्दै गएकाले मेरो रुचि पनि झन्झनै थपिँदै गएको थिए । “कौडियों के मोल बिकनाः यह कहावत बचपन से ही सुनता आया हूँ । इसका अर्थ क्या है ?” “अर्थात् अकलपनीय रूप में सस्ते दामों में बिकना ।” उनले छोटकरीमा फर्काए । “तो फिर, चमडी जाए पर दमडी न जाए, इसका क्या अर्थ होता है ?” मैंले पूनः नयाँ जिज्ञासा प्रकट गरे । “किसी जमाने में लोग भुखे मर जाते थें, किन्तु अंटी से दमडी नहीं निकालते थें । यह कहावत ऐसे ही महाकंजुसो पर बनी है ।” दाढी कोट्याउँदै गर्दै उनले थपे, “इसके ठीक उलट भी एक कहावत हैः अंटी में न धेला, देखन चली मेला । अर्थात सौख है पुरे, किन्तुपाकेट खाली ।” केही बेरसम्म म यस्तै कुरोमा मग्न भएँ । ढिलो हुँदै छ भनेर मलाई एकाएक चेत भयो । बिदा माग्दै फर्किन खोजेँ । बूढोले आदेशात्मक स्वरमा भने, “जरा एक मिनट रुकना ।”
उनले मलाई दुइटा प्वाल परेका कौडी दिँदै भने, “जब भी घमण्ड तुम्हारे सर चढ जाए तो इन कौडियो को देख लेना और मेरी बात को याद कर लेनाः तुम्हारी किमत तो दो फूटी कौडी भी नहीं ।” यस पटक उनको स्वरमा तिक्तता होइन, करुणा थियो । फर्किन लागेका मेरा गोडा टक्क रोकिए । “मैं समझा नहीं बाबा ।” उनी विस्तारपुर्वक आफ्नो अतीत बताउन थाले । मलाई उनको इतिहास रोचक लाग्यो, सुन्दै गरेँ । उनको नाम जगजित सिंह हो, मूलतः पाकिस्तानको सिन्ध प्रान्तका वासिन्दा हुन् । आफ्नो जमानाका ठूलै जमिंदारका सन्तान । भारतबाट पाकिस्तान नछुटिँदासम्म जगजितको परिवार सो गाँउमा सबैभन्दा धनाढ्य र रवाफवाला परिवारमा गनिन्थ्यो । भारत टुक्रिँदा जगजितको गाँउ पाकिस्तानी भूभागमा पर्यो ।
दुवै देशमा लुटमाट र नरसंहारका घटना अनियन्त्रित पारामा बढ्दै गए । त्यसको शिकार जगजितको परिवार पनि भयो । जगजितका बाआमा रातारात आफ्ना धनसम्पत्तिमध्ये जेजति बोकेर ल्याउन सक्थे, लिएर भारतीय भूभागमा आइपुगे । झण्डै दस बयलगाडा रुपैया, सुनका सिक्का, गरगहनाहरूका साथ उनीहरू भारत छिरेका थिए । जगजितका बाले नैतीतालमा घरजग्गाको जोहो गरेर नयाँ ढङ्गले जीवनयापन सुरु गरे । जमिंदारी खोसिएको थियो तर जगजितको पुराना रवाफ जसको तस नै थियो । जगजितले सुरासुन्दरी र जुवातासमा निकै पैसो बर्बाद गरे ।आफ्नो एक मात्र छोरोका यस्ता आनाबानीबाट बाआमा दुवै दुःखी रहन्थे । असाध्य रोग लागेर जगजितका बा बिते । आफ्नी आमासित जगजितको ब्यवहार बिग्रिँदै गयो । जगजितको कुरो सुनिएन भने आमा अथवा श्रीमतीउपर हात छोड्न बेर लगाउदैनथे । एक दिन जगजितकी आमा पनि बितिन् । र, सुरु भयो जगजितको दुर्दिन । जगजितका घरमा दुई पटक डाँकाहरू पसे । हाड भाँचिने गरी नै जगजितको पिटाई गरे । जति सके, लुटेर लगे । निकै दिनसम्म जगजितलाई अस्पतालमा रहनु पर्यो ।
हुँदाहुँदा जगजितको घरसमेत बिक्री भयो । ईश्वरको बिडम्बना भनौ, जगजितलाई सन्तानसुख पनि प्राप्त हुन सकेको थिएन । आफ्नी श्रीमतीसहित दिल्ली आए । केही वर्षपछि जगजितकी श्रीमतीले समेत संसार त्यागिन् ।
“मसँग उतिबेलाका कागजी रुपैयाँ आज पनि लाखौँमा छन् । तर भारतीय सरकारले बदर गरिदिएको कारणले कागजको ठेलीबाहेक केही रहेनन् । इतिहासमा रुचि राख्ने मान्छे आकलचुकल आउँछन्, किनेर लैजान्छन् । थोरबहुत यी सिक्काहरू छन्, जुन बेचेर दुई जुनको खानाको जोहो गर्दैछु । हिजो जमिन्दार थिए, आज हरिकङ्गाल भएको छु । सबै मेरो कर्मको फल र समयको कमाल हो ।”
जगजितले गहभरि आँसु चुहाउँदै आत्मवृतान्त सुनाए । म त निशब्द भएको थिए । मलाई असाध्यै ढिलो भएको थियो । जान लाग्दा उनले पूनः दोहर्याए, “भाई ! मेरी बात को सदैव याद रखना, तुम्हारी किमत दो फूटी कौडी की भी नहीं ।”