तालुखुइलेको कथा


मधेसतिर निकै चलेको एउटा आहान छ, ‘जिन्दगी झंड बा, फिर भी घमन्ड बा ।’ अर्थात्, ‘जन्मगत कपाल हटेकै छैन, तैपनि घमन्ड पल्हाएको छ ।’

कुनै बेला कपालको मामिलामा म स्कुले बबुरोको अवस्था पनि उस्तै थियो । मेरो ज्यान–प्राण आफ्नो कपालमै अड्केको हुन्थ्यो । घण्टौँ ऐनाअगाडि उभिएर आफ्नो कपाल मिलाउने प्रयास गरिराख्थेँ ।

नुहाउँदा आफ्नो कपाललाई कोमल र चिल्लो राख्न थरीथरीका स्याम्पु प्रयोग गर्थेँ । नुहाइसकेपछि कपालमा ब्राइलक्रिम लगाएर टल्काउँथेँ । अलि फुर्सद भयो कि पकेटबाट काइँयो झिकेर कपाल मिलाउने अभियानमा तल्लीन भइहाल्थेँ ।

कसैले जानेर अथवा नजानेर कपाल बिगार्यो भने मारामारी गर्न तम्सिन्थेँ । मानौँ, मेरो जेथा–सम्पति हात पार्न खोजेको होस् । तर, अरूको कपाल बिगार्ने मौका पायो कि उत्तिकै आनन्दित पनि हुन्थेँ ।

हामी मान्छेको शरीरमा अति हठी भनिएका दुइटा तत्व छन् क्यारे, कपाल र नङ । काँटछाँट गरी यसलाई जति सिध्याउन खोजिए पनि कहिल्यै सिद्धिदैनन्, पुनः जुर्मुराइहाल्छन् ।

तर, सैलुनवालाले जानाजानी होस् अथवा नजानी, चिताएजस्तो कपालको काँटछाँट वा बान्की मिलाउन सकेन भने झगडा गर्न तम्सिन्थँे ।

एउटा घटना मलाई अझैसम्म याद छ, सैलुनमा मेरो कपाल चाहेको भन्दा निकै छोटो गरिदिएपछि रुँदै पिताजीलाई गुनासो गरेको थिएँ । मेरो कपालको हविगत देखेर मेरा दाइहरू मरीमरी हाँसेका थिए । कहिल्यै खुलेर नहाँसेका मेरा पिताजी स्वयंले पनि आफ्नो हाँसो रोक्न सकेका थिएनन् ।

तिनको यस्तो रवैयाबाट मेरो मन झनै आहत भएको थियो । पछि मेरो घाउमा मल्हम लगाउने मनसायले सैलुनको मान्छेलाई आफ्नो पसलमा बोलाएर हप्काउने नाटक गरेका थिए ।

आफ्नो कपालप्रति यसरी आशक्ति राख्नेहरूको कित्तामा म एक्लै थिइनँ । मेरो कक्षाका सबै साथीहरूको मनोदशा त्यही थियो । हामी गफ छाट्थ्याैँ, ‘तिमी कुन स्याम्पु लगाउँछौ रे ? तुम्हारा हेयर स्टाइल तो बिलकुल जीतेन्द्र जैसा है रे !’

कपालको देखरेख गर्ने तरिका पनि सबैको फरकफरक हुन्थ्यो । एकजना सहपाठीले त केशमा यति धेरै तेल चोपेको हुन्थ्यो, उसका दुवै कन्चटबाट तेल नाँच्दैगाउँदै घाँटीसम्म पुगेको हुन्थ्यो ।

संयोगवश कोही सहपाठी कुनै पनि कारणले पूरै कपाल खौरेर आएको छ भने उसलाई आपत् नै हुन्थ्यो । उसको मुडलो शिरमा पालैपालो गरी हामी तबलावादनको अभ्यास गर्थ्यौँ ।

हामीलाई पढाउने सरहरूमध्ये केही सरहरूसँग कपाल नामको बहुमूल्य सम्पति नै हुँदैनथ्यो । अनि, हामीले तिनको न्वारान गरेका हुन्थ्यौँ, ‘फलानो बेलमुन्डा सर, ढिस्कानो टक्लु सर, खप्परछिल्ला सर’ आदिआदि ।

साथीहरूसँगै बाटो हिँड्दा कोही टाउको खुइले देखियो कि ‘ऐ टक्लु’ भनेर जिस्क्याउन बेर लगाउँदैनथ्याैँ ।

कुन्नि कसको श्राप लाग्यो ! एक दिन मेरो शिरको पछिल्लो भागबाट कपाल एकाएक बेपत्ता हुन थाल्यो । त्यस बेला मेरो सातो नै गएको थियो । कसैलाई केही थाहा नदिई डा. चक्रवर्तीको क्लिनिक पुगेँ । कपाल, जुँगा सबै फुलेर सेताम्मे भएका ।

साह्रै राम्रा डाक्टर, तर रिसाहा पनि उत्तिकै । उनलाई देखाउँदा ‘सब पेट के रोग से होता है’ भनेर केही खाने औषधि दिए । तर, त्यसले ठिक भएन ।

पिताजीका अगाडि पीडा पोख्दा उनले एक कर्मचारीका साथ डा. केदार आचार्यसँग जँचाउन पठाइदिएका थिए । उनले अदुवा दल्ने सल्लाह दिए ।

मोटामोटी एक महिनाको प्रयासपश्चात् मेरा अलप कपाल यथास्थानमा फर्किन सुरु भए । मेरो जेथा–सम्पत्ति जोगियो भनेर मलाई सन्तोष भयो ।

भन्नेले ठिकै भन्छन्, ‘समय र उमेर दुवै अविश्रान्त हिँडिराख्ने सहयात्री हुन्, कहिल्यै थाक्दैनन् । बिराम कुनै हालतमा लिँदैनन् ।’ समयसँगै म स्कुले विद्यार्थीबाट कलेजको विद्यार्थी, कलेजको विद्यार्थीबाट पूर्णकालीन व्यवसायी भएको थिएँ ।

साथै, बालबच्चेदार पनि । तर, कपालको मोह कम भएको थिएन । कपालमा चाया पनि बढ्न थालेको थाहा पाएर चिन्तित भएको थिएँ । चाया हटाउन कहिले दही, कहिले कागतीको रस, कहिले अमला, कहिले यो त कहिले त्यो, केही न केही प्रयोग गरिराख्थेँ ।

फेरि एकपटक कपाल कोर्दा काइँयोमा सामान्यभन्दा बढी कपाल फुत्केर आएको देखेँ । पुरानो रोग सम्झँे । ‘ठिकै छ, अदुवा दलिन्छ । ठिक भइहाल्छ नि !’ स्वयंलाई आश्वस्त पारेँ । र, अदुवा दल्ने अभियानमा होम्मिएँ ।

यसपटक अदुवाको उपचार काम लागेन । हैरान भएर पुनः डा. केदार आचार्यकै शरणमा पुग्न खोजेँ । उनले धेरै अगाडि चराचर चोलो त्यागिसकेको थाहा भयो ।

उति बेला पिताजीलाई भेट्न उनका अभिन्न मित्र डा. गोपाल अधिकारी आइराख्थे । उनका अगाडि आफ्नो पीडा पोख्दा उनले पनि खाने र लाउने औषधि दिए ।

उनले भनेको औषधि प्रयोग गरेको केही दिनपछि कपाल झर्ने क्रिया अलि पातलो भयो । तर, अल्पकालका लागि मात्र ।

एक दिन नुहाएर बाथरुमबाट बाहिर निस्किन लागेको थिएँ, नालाको प्वालमा थुप्रै कपाल अड्किएको देखेँ । मनभित्र नमिठो गरी चसक्क भयो । मनको एउटा भागले भन्यो– हेर, यी तिम्रै कपाल हुन् !

अर्को भागले झुटो आश्वासन दिन खोज्यो– तिमीभन्दा अघि दाइ नुहाएका थिए । उनको कपाल पनि त हुनसक्छ !

केही दिनपछि त कपाल कोर्दा पानीको झरीझैँ कपाल झर्न थाल्यो । म आकुलव्याकुल भएँ ।

आफूले चिनेजानेका सबै डाक्टरहरूको ढोका ढक्ढाकाएँ । आयुर्वेदिक र होमियोप्याथिक औषधोपचारमा पनि लागेँ । उता कपाल झर्ने क्रिया झन्झन् तीव्र भएर गयो ।

बूढापाकाहरूले अह्राएानुसार घरेलु उपचार पनि गरेँ । केही लाभ भएन । ऐनाअगाडि पर्दा आफ्नै अनुहारसित भय लाग्न थाल्यो । सपनामा हिन्दी सिनेमाका कुख्यात खलनायक ‘सेट्टी’ प्रकट हुन थाल्यो । ‘अब तिमी पनि मजस्तै टक्लु हुने भयौ’ भनेर गिज्याउन थालेको भान हुन थाल्यो ।

अब चाँडै नै आफू पनि कपाल खुइलेको कित्तामा परिन्छ भनेर कल्पना गर्दा आङ नै सिरिङ्ङ भयो । खाइलाग्दो जवानीमै तालुखुइले हुनुभन्दा नबाँचेकै ठिक लाग्न थालेको थियो ।

मेरो केशका एकएक रौँ बहुमूल्य हीराजस्तै थियो । कपाल कोर्दा बडो जतनका साथ सक्दो विस्तारै र नरम पारामा कोर्न थालेँ, कमसेकम कपाल नझरोस् भन्ने मनसायका साथ । तर, मेरा कपालको क्षय यात्रा जारी नै रह्यो ।

कुनै अखबार अथवा म्यागेजिनमा कपाल झर्नलाई रोक्ने कुनै औषधिको प्रचार छापिएको हेर्नेबित्तिक्कै म हुरुक्क हुन्थेँ । एक दिन कुनै भारतीय अखबारमा ‘अर्निका प्लस’ नामको कुनै औषधीय तेल र खाने ट्याबलेटको प्रचार आँखाअगाडि पर्यो । सो तेल र औषधिको प्रयोगपछि कपाल झर्ने रोग जतिसुकै पुरानो भए पनि रोकिनेछ । र, नयाँ कपाल पनि ग्यारेन्टीका साथ पलाउनेछ भनेर लेखिएको थियो ।

मनमा विश्वास पलायो– बल्ल अहिल्याले रामलाई भेट्ने भयो ! मैले त्यो औषधि पनि झिकाएँ । अनि, निर्देशन दिएजसरी नै प्रयोग गरेँ । तर, कपाल झर्ने समस्या यथावत् नै रह्यो ।

मथिंगलमा हेलिप्याड त बनिसकेकै थियो, विस्तारै त्यो हेलिप्याड पनि रनवेमा परिणत हुन थालेको थियो । एकजना नातेदारले सुझायो, ‘भारतको दरभंगानजिकै मधुबनी भन्ने गाउँ छ, त्यहाँ एकजना वृद्ध होमियोप्याथिक वैद्य छन्, उनले धेरै मानिसको कपाल झर्ने रोग ठिक पारेका छन् ।’

आफ्नो बाल्यकालीन साथी महेशसँगै म कुद्दै मधुबनी पुगिहालेँ । छ महिना बित्यो । तथापि, उनको औषधिले पनि कुनै लाभ भएन ।

एक दिन सदैव देशविदेश घुमिराख्ने एकजना अतिथि घरमा आएका थिए । मेरो तालुको हविगत हेरेर उनले ठूलै उपकार गर्न खोजेको पारामा जानकारी गराए, ‘सिंगापुरमा एउटा औषधि पाइन्छ । असाध्यै महँगो छ । त्यो लगाएपछि ग्यारेन्टीका साथ कपाल झर्न बन्द हुनेछ ।’

उनको भनाइमा गजबको आत्मविश्वास थियो । मलाई लाग्यो– उनी साक्षात् देउता नै हुन् ! कृतज्ञता प्रकट गर्दै म हत्त न पत्त उक्त औषधि सिंगापुरबाट झिकाउने अभियानमा लागेँ ।

त्यो औषधिको प्याकिङ गजबको थियो । नामचाहिँ ‘वन हन्डरेड वन’ थियो क्यारे ! असाध्यै गन्हाउँथ्यो । तर, लगाउनु परिहाल्यो । तीन बोतल सकाएँ । कुनै परिणाम आएन ।

शिर दिनानुदिन उघ्रिँदै गएको हुनाले जाडोयाममा टाउकोमा असाध्यै चिसो लाग्थ्यो । टन्टलापुरे गर्मीमा परियो भने तालु तातो तावाजस्तै हुन्थ्यो । साथीहरूले मेरो नाम राखिदिएका थिए, ‘बुढुवा’ (बूढा) । साथीभाइको जमघट हुँदा मलाई नै इंगित गर्दै तालुखुइलेको कथा सुरु गरिहाल्थे । खिल्ली उडाउने पारामा कुनै न कुनै चुटकिला झिकिराख्थे ।

बाटो हिँड्न पनि मलाई गाह्रो हुन थालेको थियो । फुच्चेहरू टक्लु टक्लु भन्दै मतिर औँला ठड्याइहाल्थे । बिहेबारी आदिमा जाँदा प्रायःको दृष्टि मेरो तालुतिर नै हुन्थ्यो ।

कसैको आँखामा सहानुभूतिको छाया हुन्थ्यो भने कसैको आँखामा उपहासको । अरूहरूको टाउकोमा कपाल लहलहाउँदै गरेको देखेर डाहा हुन्थ्यो । ‘ह्वाई मी ?’ भनेर भगवान्सित झगडा पनि गर्थेँ ।

कुनै जमानामा तालुखुइलेहरूप्रति मेरो व्यवहार पनि उस्तै हुने गर्थ्यो । सबै मेरै कर्मको फल हो कि भनेर मनमनै पछुतो मनाउ गरेँ । भगवान्सित माफी मागेँ । तर, कुनै सुनवाइ भएन ।

समय बित्दै गयो । मेरो जीवनमा दिवस नाम भएका एकजना यस्ता मित्रको आगमन भयो, जसले मेरो खुइलिएको तालुलाई इंगित गरेर कहिल्यै उपहासपूर्ण व्यवहार गरेन । बरु, तालुखुइले हुनुको फाइदा नै गनाउन थाल्यो, “संसारभरिका सबै विद्वान् तालुखुइले नै हुन्छन् । तालुखुइलेलाई सैलुन धाइराख्नु पर्दैन । काइँयोले कपाल कोरीराख्नु पर्दैन । स्याम्पुको खर्च पनि जोगिने भयो । ब्ला…ब्ला…ब्ला…।”

ऊसित जतिखेर भेट हुँदा पनि उसले नयाँनयाँ टोपी लगाएकै हुन्थ्यो । एक दिन म र ऊ होटेलमा कफी खाँदै थियौँ । उसले आफ्नो टोपी फुकालेर टेबलमा राख्यो ।

लौ मार्यो ! यो मान्छे पनि मजस्तै तालुखुइले रै’छ । म त हतप्रभ भएँ !

ऊ आप्mनो तालु सुम्सुम्याउँदै थियो । म निःशब्द उसको तालुतिरै आँखा गाडेर हेरिरहेँ । एउटा हरुवा नेताले अर्को हरुवा नेतालाई भेट्दा जुन अदम्य प्रसन्नताको अनुभूति हुन्छ, त्यही अनुभूति मलाई पनि भइराख्या थियो ।

‘के हेरेको ? मैले जमानाअघि नै तालुखुइले क्लबको सदस्यता लिइसक्या हो । तिमी पो भर्खरै भर्ना भएका हौ । नयाँ नौलो सदस्य ।’ मुस्कुराउँदै उसले आफ्नो भेद खोलिदिँदा मैले बल्ल चेतेँ ।

‘होइन, यतिका दिनदेखि संगतमा छौ । कहिल्यै कुरो झिकेनौ । त्यही भएर अनौठो लाग्यो ।’ संकोच मान्दै मैले जवाफ फर्काएँ । उप्रान्त हामी दुवै मित्र आफ्नोआफ्नो ‘तालुबार’मा कुरो गर्न थाल्याँै । अर्थात्, उसले आफ्नो पीडा झिक्यो, मैले आफ्नो ।

उसले ज्ञानी मनुवाजस्तै भंगिमा बनाउँदै जानकारी गरायो, ‘हेर, तिमीजस्तै मैले पनि कम्तीको दौडधुप नगरेको होइन । पैसो पनि उत्तिकै बर्बाद गरेँ । दिल्लीका डाक्टरहरूसम्म धाएँ । एक दिन मलाई चेतना भयो, मेरो तालुमा खेतीपाती गर्न खोज्ने डाक्टरहरूको आफ्नै तालु बाँझो छ । यिनीहरूसित कुनै उपचार भएको भए सबैभन्दा पहिले आफ्नै तालु भर्थे नि ! त्यसपछि एक दिन मउपर गजबको ईश्वरीय कृपा भयो र समस्त समस्याको समाधान भयो ।’

उसको कुरो कन्थोबाट म प्रभावित थिएँ । तर, अन्तिम वाक्यबाट अचम्मित पनि ।
‘तिम्रा समस्त समस्याको समाधान कसरी भयो त ?’ मैले प्रश्न तेर्स्याएँ ।

‘टोपी लाउने जुक्ति मगजमा फुरेर । यो टोपीले घामपानी र चिसोबाट जोगाएकै छ । टक्लु भनेर जिस्क्याउन खोज्नेहरूको मुखमा बुजो पनि लगाएकै छ । दिनहुँ फरकफरक पारामा मथिंगलको सौन्दर्य पनि बढाएकै छ । बरु, कहिलेकाहीँ पाका उमेरका विद्वान्हरूबीच बस्नुपर्दा टोपी हटाएर गइन्छ । यो मान्छे पनि हामीजस्तै अनुभवी र खारिएकै होला भनेर अतिरिक्त भाउ पाइँदो रै’छ । कतै कुनै औपचारिक कार्यक्रममा राष्ट्रियता दर्शाउनुपर्यो भने आकलझुक्कल ढाकाटोपी पनि लगाइन्छ ।’ मुस्कुराउँदै उसले प्रवचन दियो ।

उसको प्रवचनले मेरो अन्तर्मनलाई छोयो । तसर्थ, आफूले पनि आजै दुई चारवटा टोपी किन्नुपर्छ भनेर मनमनै प्रण गरेँ ।
(वीरगन्ज)