अचेल आफूजस्तै उमेर पाएको कुनै नयाँ मान्छेसित गफिन पाउँदा म प्रायः सोध्ने गर्छु, ‘तपाई कुन सालमा एसएलसी गर्नु भाको ?’ मान्छेको उमेर थाहा गर्ने मेरो सबैभन्दा सजिलो जुक्ति । म आफैं २०३७ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थी, अर्थात् आफ्नो जीवनको दुइतिहाइ भाग भोगिसकेको मनुवा । एसएलसी दिएपछि खास काम केही नभएर पिताजीको पसलमा बस्थें । उतिबेला नै सिनेमा जगतमा सानो पर्दाको शुरुवात भइसकेको थियो । स्थानीय बजारमा भिडियो क्यासेट र क्यासेट चलाउने भिसिआर (भिडियो क्यासेट रेकर्डर) प्रयोग हुन थालेको थियो । त्यसबेला ती सेवा दिने पसलहरू पनि प्रसस्तै खुलेका थिए । तीमध्ये कमल भिडियोको नाम त ‘मगजपुरको मेमोरी बैंक’मा अझै पनि सुरक्षित छ ।
गोजीमा गर्मी भएकारूले त प्रतिदिन प्रति क्यासेटको १० रूपैयाँदेखि १०० रुपैयाँसम्म (क्यासेटको मागअनुसार) भाडा तिरेर आफ्नै घरमा भिडियो हेर्थे । तर थोरै आम्दानी भएकाको लागि वीरगंजको गल्ली–गल्लीमा अंग्रेजी र हिन्दी सिनेमा हेराउने भिडियो हल नै खुलेका थिए । अचेल खुलेका मःम पसलजस्तै । एउटा अति सामान्य कोठामा केही काठका बेञ्च राखिएका हुन्थे । कोठाभित्र एकातिर १४ इञ्चको टेलिभिजनमा सिनेमा सुरु भइसक्थ्यो । अर्कोतिरबाट नयाँ दर्शक पाँच रूपैयाँ तिरेर भित्र छिरिराख्थे ।
ब्रुस ली स्टाइल
कोठाभित्र समाजवादी किसिमको व्यवस्था हुन्थ्यो । त्यहाँ न ‘अप्पर क्लास अथवा लोअर क्लास’ । जसले जता खाली ठाँउ भेट्यो, उतै बस्दा हुने । जेहोस बेरोजगार युवाका लागि इन्द्रावती दरबार हुन्थे ती भिडियो हलहरू । चिउँडोदेखि नाइटोसम्म असिनपसिन भए पनि सिनेमा नसकुन्जेल कोही आफ्नै स्थानबाट नहल्लिने । अचेल कहिलेकाहीँ बसमा भेटिएका ती दुवै हात गुमाएका युवाको आवाजले मेरो मन द्रविभूत हुन्छ । उनलाई सम्झेर मेरो शीर यसै निहुरिन्छ
तिनताक नै हो, ब्रुस लीको नाम चलेको । उसले खेलेका सिनेमा, बीग बोस, इन्टर दी ड्रागन, रिर्टन अफ दी ड्रागन, फिष्ट अफ फ्युरी इत्यादि अहिले पनि मानसपटलमा तरोताजै छन् । तिनै भिडियोको प्रभावका कारण हामीजस्ता युवामा ब्रुस लीजस्तै मार्शल आर्टमा परांगत हुने लहड सुरु भएको हो । हरेक युवाको घरमा ब्रुस लीको फोटो, हातमा ब्रुस लीले बोकेकोजस्तै ननचक्कु । यति मात्र होइन, कपालको स्टाइल, डे«स र जुत्ता ठ्याक्क ब्रुस लीकै जस्ता । त्यही बेला कतैबाट सूचना पायौं, ‘टिएस राई नाम भएका सितोरियो करातेमा परांगत गुरु वीरगंज आएका छन् । इच्छुक युवालाई उनले कराते सिकाउने रे । वीरगंजका थुप्रै ल्याउरे–ख्याउटे युवाको ठूलै जमात उनको शिष्य टोलीमा सामेल भए । तीमध्ये म पनि थिएँ ।
उतिबेला नेपालमा मार्शल आर्ट सिक्न र सिकाउन आमजनतालाई बन्देज लगाइएको थियो । त्यही भएर हामी रक्सौल जान्थ्यौं । त्यहाँको आर्यसमाज मन्दिर भनिने ठाउँमा हाम्रो कराँते प्रशिक्षण सुरु भयो । केही महिनापछि एसएलसी परीक्षाको नतिजा आयो । केही बाहेक मेरा प्रायः सहपाठी उत्तिर्ण भए । मैले आइकम (इन्टरमिडियट इन कमर्स)मा भर्ना लिएँ ।
मगजमा ब्रुस ली बन्ने सनक चढेको थियो, पढाईमा मन कसरी लाग्नु । स्कुलको बेला मेरो गन्ती पढाकु विद्यार्थीमा हुन्थ्यो । तर आफ्नो जस्तो इच्छा, कलेजमा त्यस्तै सङ्गत हुँदै गयो । कलेज जान्थें, तर कक्षामा बस्न मन लागेन भने साथीहरूसँग कतै हिडिदिन्थें ।
गजबको कराँते खेलाडी हुँ भनेर आफुभित्र ठूलै भ्रम पालेको थिएँ । कुनै खाली भित्ता देख्यो कि ब्याक किक हानी हाल्थें । रुखको हाँगा भेटियो कि एक फन्को राउन्ड हाउस किक घुमाइहाल्थें । कसैले चर्किएर कुरो गर्यो कि घम्साघम्सी गर्न तम्सिहाल्थें ।
आइकम पहिलो वर्ष परीक्षामा नेपाली विषयमा एक नम्बरले फेल भएँ । दुःख लाग्यो । संयोगवश एकजना बाहेक कक्षाभरिकै विद्यार्थी फेल भए । त्यो कुरो थाहा भएपछि मेरो घाउमा मल्हम लागेसरह भयो । यस्तै न हो, हामी मान्छेको मनोविज्ञान । हिलोमा आफु एक्लै परेपछि दुःखी त भइन्छ नै । तर त्यही हिलोमा अन्य साथी पनि परेछन् भने आफ्नो दुःख कम हुँदो रैछ ।’ आफ्नो कमी कमजोरीलाई ढाकछोप गर्न मैले थुप्रै तर्क जुराइसकेको थिएँ । ‘यसरी सबै एकमुष्ट फेल हुनुको कारण विद्यार्थीको लापरवाही नभएर कलेजकै शिक्षादिक्षामा समस्या हो,’ हामी हाकाहाकी भन्दै हिड्थ्यौं । विद्यार्थी नेताको सङ्गतले जिन्दावाद–मुर्दावादको नारा घन्काउन पनि सिकिसकेको थिएँ ।
मोतिहारीको कलेजमा मेरो नामांकन भयो । उताबाट हरेक विषयको गेस पेपर खरिद गरेर ल्याइयो । गेस पेपर अनुसार घरमै बसेर पठनपाठन सुरु गरे । सजिलोको लागि स्थानीय शिक्षकको ट्युसन पनि लिएँ । तैपनि हाजिरी जनाउन बीचबीच कलेज गइराख्नु पथ्र्यो ।
यसका दुइटै हात नभएर केही समाउन सक्या छैन । झट्का लाग्यो कि सन्तुलन बिग्रिहाल्दो रैछ । यसलाई माफ गरिदिनोस्
हामी समूहमै आवतजावत गथ्र्यौं । एक त विद्यार्थीको तक्मा, अनि कराँते खेलाडी हुनुको घमण्ड । साथमा रक्सौलका केही उपद्य्राहा केटाको सङ्गत । बोलीबचन र पहिरन पनि स्थानीय विद्यार्थी नेताजस्तै । बसको कन्डक्टरले पैसो माग्यो भने हेपेर कुरो गर्ने, आँखा तरेर हेर्ने । सहयात्रीसित अलि झर्केर कुरो गर्ने । आपसमै कुरो गर्दा पनि जानाजानी अपशब्दको प्रयोग गर्ने । कोही जोरी खोज्न आयो कि हान्ने, ठोक्नेतिर लागिहाल्थ्यौं । तर प्रतिपक्ष संख्यात्मक रुपमा बलियो छ भने हामी सम्झौता पनि उतिकै द्रुत गतिले गथ्र्यौं ।
खैर, एकपटक म र केही साथी मोतिहारीबाट रक्सौल फर्किदै थियौं । अँध्यारो हुन आँटेको थियो । बसमा समान्यभन्दा दोब्बर मान्छे कोचिएका थिए । आधा मान्छे सिटमा आधा प्यासेज उभिएका । म आफ्नो सिटमा बसेको थिएँ, मेरै छेउमा एकजना मान्छे सिटको अडेस लिएर उभिएको थियो । अलि झट्का लाग्यो कि ऊ मसित ठोक्किहाल्थ्यो । उसको शरीरबाट कडा पसिनाको गन्ध आइरहेको थियो ।
‘का ह भाइ का खोज तार, सोझ खडिया नैखे सकत ?’ भनेर उसलाई टर्रो स्वरमा सजग गराएँ । तर जति सजग गराउँदा पनि सरी भन्न त पर जाओस्, उसको ठक्कर दिने काम जारी नै रह्यो । “यो मान्छे जानाजानी निहु खोज्दै छ, यसलाई त एक दुई पञ्च दिनै पर्छ,” सँगैको साथीलाई मैले मुर्मुरिँदै भने ।
‘ध्यान राख्नु, कुनै लोकल दादाजस्तो लाग्छ भने ऊसित अल्झिनु यति बेला ठीक हुदैन,’ साथीले सजग गरायो । उसको कुरो त ठीकै थियो । म पनि सजग भएँ । तर एकछिन विचार गर्दा त्यो मान्छे दादाजस्तो लागेन । फेरि ऊ मसँग ठोक्कियो ।
उतिबेलासम्म मभित्र ब्रुस लीको प्रेतात्मा जागिसकेको थियो । म र मेरा अन्य साथी पनि जुर्मुराउँदै उफ्रिहाल्यौं । ‘हान सालेलाई !’ घरिघरि ठक्कर दिने मान्छेको सर्टको कलर समाउँदै चर्को स्वरमा तथानाम गाली गर्यौं । लगत्तै सम्बन्धित मान्छेले माफी पनि मागिहाल्यो । तैपनि मैले थप धमास जमाउन खोजें, ‘यो अन्तिम पटक हो । अब पनि निहुँ खोजिस् भने खान्छेस् ब्रुस ली ब्राण्ड मुक्का ।’
अँध्यारोमा उसको मुख पनि राम्ररी देख्न सकेको थिइनँ । उसको छेउमा उभिएको अर्को एकजना मान्छेलाई डराउँदै अड्की–अड्की मसिनो स्वरमा जनाउ दियो, ‘यसका दुइटै हात नभएर केही समाउन सक्या छैन । झट्का लाग्यो कि सन्तुलन बिग्रिहाल्दो रैछ । यसलाई माफ गरिदिनोस् ।’
उसको कुरो सुनेर म हतप्रभ भएँ । मेरो कराँतेको गर्मी बाफ भइसकेको थियो । ब्रुस लीको प्रेतात्मा पनि कतै कुलेलाम ठोकिसकेको थियो । ध्यानपूर्वक सम्बन्धित मान्छेलाई हेर्ने प्रयास गरें, हो रैछ उसका दुइटै हात थिएनन् । ‘जन्मेदेखि हो कि ?’ आफ्नो लज्जाबोधलाई सक्दो लुकाउँदै मैले सोधे । ‘बाल्यकालमा ट्रेन एक्सिडेन्टमा परेर काट्नु पर्यो । त्यही बेलादेखि जता गयो उतै हप्कीदप्की, छिःछि, दुरदुर खेप्दै आएको छु । आज पनि त्यही भएछ । खैर, केही छैन, जेही बिधी राखी राम, तेही बिधी रहिए ।’ यतिकुरा भनिसक्दा उसको घाँटी अवरुद्ध भएको थियो ।
अनुहार प्रष्ट हेर्न नपाए पनि ऊ आफ्ना रसाएका आँखालाई निकै कष्टले काँधमा दलेर सफा गर्न प्रयास गरे । मेरो अहंकारी मन आत्मग्लानीले पोल्यो । थप केही बोल्ने आँट भएन । केहीबेर निर्निमेष ऊतिर हेरिरहें । बसले अर्को झट्का दिँदा हामी दुवैको सन्तुलन बिग्रियो । तर यो पटक उसले कसैलाई ठक्कर दिएन । बरु म नै छेउमा उभिएको अर्को मान्छेसित ठोक्किएँ ।
मेरो चेत बल्ल खुल्यो । उभिराख्न गाह्रो भइराखेको होला, मेरो सिटमा बस्नु नि,’ उसलाई आग्रह गरे । ‘मेरो चिन्ता लिनु पर्दैन । उभ्याउभ्यै आवतजावत गर्ने अभ्यास भइसकेको छ ।’ उसले मलिन स्वरमा भन्यो । म झनै गलें । ‘होइन, तपाइजस्तो अपाङ्ग मान्छे उभिराख्ने, अनि मजस्तो तन्दरुस्त मान्छे बसिराख्ने ?’ मेरो सम्बोधन तँबाट तपाईमा आएको थियो ।
‘धन्यवाद ! मैले यो सिटमा बस्न नपाएर खासै फरक पर्दैन । खासमा सताउने कुरो हो तिरस्कारपूर्ण व्यवहार । दिनहुँ कुनै न कुनै ठाँउमा कसैले न कसैले मलाई तथानाम गाली गरेर होच्याइराख्छ । कतिपय ठाँउमा धक्काधक्की लगाउन पनि बेर लगाउँदैनन् । जुन भोगाई आज भोगें, यो मेरो नित्य नै बनेको छ ।’ यति भनिसक्दा उसको स्वरमा अनौठो चिसोपन थियो । मलाई थप केही भन्ने आँट नै भएन । खैर, केही बेरपछि उसको गन्तव्य आइसकेको थियो । मतिर हेर्दै नहेरी ऊ ओर्लियो ।
केही दिनपछि बिहानको कराँते अभ्यास सकिएपछि हाम्रा सहायक गुरू श्याम दाइले उर्दी जारी गरे, ‘केटाहरू हो ! आ–आफ्नो गी (करातेको युनिफर्म) चेन्ज गरेर पुनः भेला हुनु, टिएस गुरूले जरुरी कुरो गर्नुहुन्छ ।
बेल्ट ग्रेडिङको कुरो होला भनेर हामी मख्ख थियौं । सेतो बेल्टबाट सुन्तले हुँदै हरियोमा आइसकेका थियौं, खैरोमा जाने पालो थियो । हतारहतार कपडा फेरेर हामी गुरुका सामु उभियौं ।
उनले एकएक प्रशिक्षार्थीका आँखामा आँखा गडाउँदै भन्न थाले, ‘तिमीहरुलाई हेक्का रहोस्, असफल मान्छेभित्र सदैव दुष्ट प्रवृत्ति हावी रहन्छ । अरुलाई सताउनुमै आफ्नो जीत ठान्छ । सफलताको बाटोमा भर्खर हिड्न सुरु गरेको मान्छेभित्र पनि मैले गजबको सफलता हात पारे भन्ने ठूलै भ्रम पलाएको हुन्छ । ऊ आफुबाहेक अन्यलाई मान्छे नै गन्दैन । अनि सफल मान्छेको व्यवहारमा विनम्रता हुन्छ । अरुलाई होच्याउनु र आफ्नो सफलताको जथाभावी प्रर्दशन गर्नुमा उसको रुचि हुँदैन ।’
हामीजस्ता युवामा ब्रुस लीजस्तै मार्सल आर्टमा पारंगत हुने लहड शुरु भएको थियो । हरेक युवाको घरमा ब्रुस लीको फोटो, हातमा ब्रुस लीले बोकेको जस्तै ननचक्कु । यति मात्र होइन, कपालको स्टाइल, ड्रेस र जुत्ता ठ्याक्कै उस्तै
हामी एकोहोरो उनको कन्थो सुन्दै थियौं । ‘कुन्नि के भन्न खोज्दै हुन् ?’ मनमा जिज्ञासा खेल्दै थियो । उनले थपे, ‘सुन्दै छु । केही कराँते खेलाडी बजारमा जथाभावी झगडा–झन्झट र कुटपिट गर्दै हिड्न थालेका छन् । कमजोर र निर्धा मान्छेलाई सताउँछन् रे । कति सत्य हो ?’
कसैले केही फर्काउन सकेन । मेरो मनमा चिसो पस्यो । उनले आफ्नो कुरोलाई अगाडि बढाए, ‘खेल मैदानभित्र भर्खर छिरेको कराँते खेलाडीको झुकाव अफेन्स अर्थात् आक्रमणमा हुनु स्वभाविक कुरो हो । तर खेलमैदानबाहिर पनि खेलाडी आक्रामक रह्यो भने त्यो उसको अहंकार हो । पोख्त कराँते खेलाडी आफ्नो कौशलको प्रदर्शन खेल मैदानभित्र मात्र गर्छ । मैदान बाहिर कुटपिट गर्नु त परै जाओस्, कसैसित चर्को स्वरमा कुरो समेत गर्दैन । ऊ त करुणाका खानी हुनुपर्छ । त्यही नै उसको सफलताको लक्षण हो ।’
उनले कुन्नि के के भन्दै गरे, केही ख्याल भएन । केही दिनअगाडि मोतिहारीबाट फर्किदै गर्दाको घटना मेरा आँखा अगाडि बारम्बर प्रकट हुँदै थियो । गुरु कुन बेला म नजिक आइपुग्नु भयो, थाहै भएन । उनका आँखासित मेरा आँखा जुधे । मैले शीर ठाडो राख्न सकिनँ । लज्जाले मेरो शीर निहुरेको थियो । मनभित्रको अहंकार पग्लिएर आँखाको डिलमा पुगिसकेकोे थियो । अचेल पनि कहिलेकाँही बसमा भेटिएका ती दुवै हात गुमाएका युवाको आवाजले मेरो मन द्रविभूत हुन्छ । उनलाई संझेर मेरो शीर यसै निहुरिन्छ ।