कुनै जमानामा वीरगन्जको ढुकढुकी भनिएको माईस्थानमा एउटा मात्र सिनेमाघर थियो, कीर्ति सिनेमा । काठ, पराल र माटोको सम्मिश्रणले जेनतेन ठड्याइएको टहराजस्तो । छाना पनि खपडाको ।
उति बेला म माईस्थान विद्यापीठ स्कुलमा पढ्थेँ । मौका मिल्यो कि त म तीन/चारजना स्कुले साथीहरूका साथ सिनेमा हेर्न पुगिहाल्थेँ । उक्त सिनेमाघरमा बाल्कनी, फर्स्ट, सेकेन्ड र थर्ड क्लास भनेर टिकट दर छुट्ट्याइएका हुन्थे ।
बाल्कनी क्लास सबैभन्दा महँगो । अनि, थर्ड क्लास सबैभन्दा सस्तो । थर्ड क्लासलाई हामी फुच्चेहरू ‘गान्धी क्लास’ भनेर सम्बोधन गर्ने गर्थ्यौँ । हामी त्यही क्लासको टिकट किन्थ्यौँ, त्यो पनि विद्यार्थी सहुलियत दरमा । अर्थात्, टिकटको दर हुन्थ्यो साठी पैसा, हामी तिर्थ्यौँ जम्मा ४५ पैसा ।
थर्ड क्लासमा कुर्सी अथवा बेन्च हुँदैनथ्यो । भुइँमै इँटा राखेर बस्नुपर्ने हुन्थ्यो । यसरी इँटाउपर बस्नु हाम्रो रहर होइन, डर हुन्थ्यो । कारण थियो, सिनेमाघरको कच्ची र सिमसार भूमि । गान्धी क्लासमा कहिलेकाहीँ पैताला डुब्ने गरी साक्षात् जलदेव पनि प्रकट भइदिन्थे ! त्यसमाथि लामखुट्टे देवको उपस्थिति पनि उत्तिकै बाक्लो ।
खैर, बाढीपीडितको शरणस्थलीजस्तो देखिए पनि उक्त सिनेमाघर हामी वीरगन्जेलीहरूका लागि इन्द्रको दरबारसरी थियो । उति बेला एउटा फिल्ममा एक–एक घण्टाका दुई मध्यान्तर हुन्थ्यो ।
पहिलो मध्यान्तरपछि हामीलाई स्कुले साथीहरूको अर्को डफ्फा सिनेमा बाहिर पर्खिरहेको हुन्थ्यो । तिनीहरूलाई परल मूल्यभन्दा आधा दरमा हाम्रा टिकट बिक्री गरेर हामीहरू स्कुल फर्किन्थ्याैँ ।
अर्को दिन त्यही फिल्मको पहिलो मध्यान्तरपछिको भाग हेर्न पुग्थ्यौँ । हामीभन्दा अघि फिल्म हेर्न पसेका स्कुले साथीहरूबाट आधी दरमा टिकट खरिद गरेर ।
र, दोस्रो मध्यान्तरपछि त्यो टिकट पुनः ३० प्रतिशत दरमा बिक्री गरेर पुनः स्कुल फर्किन्थ्यौँ । तेस्रो दिन बल्ल हामी सग्लो फिल्म हेर्न भ्याउँथ्यौँ ।
यसरी स्कुलबाट फरक–फरक समयमा केही विद्यार्थीहरू मात्र एक घण्टाका लागि बेपत्ता हुँदा कसैलाई शंका पनि नहुने, एउटा रोमाञ्चकारी अभियान सफलतापूर्वक सम्पन्न पनि हुने ।
अर्थात्, हामी फुच्चेहरूले उही बेलादेखि मितव्ययिताको सिद्धान्तलाई आत्मसात् गर्दै समूहगत समझदारीमा आफ्नो काम फतेह गर्ने काइदा सिकिसकेका थियौँ ।
उति बेलाका प्रायः फिल्ममा एक आदर्श सानीमा, आमा अथवा हजुरआमाको सशक्त भूमिकामा कुनै न कुनै पात्रालाई राखिएकै हुन्थ्यो । ती भूमिकामा सदैव प्रकट भइराख्ने दुर्गा खोटे र लीला मिश्रा मलाई औधी मनपर्थे । कारण, तिनको अनुहार र शरीरको बनोट मेरी हजुरआमासित मिल्दोजुल्दो थियो । हजुरआमाजस्तै सेतो सारी, सारीको सप्कोले हातमुख सफा गर्ने काइदा पनि उस्तै ।
सारीको आँचलले शिर ढाक्ने काइदा पनि उही, आँखा चौडा पार्दै अभिभावकीय पारामा बोल्दा हातमुख हल्लाउने दुवैको तौर–तरिका पनि उस्तै !
मेरी हजुरआमा बाथ र हात्तीपाइले रोगबाट आक्रान्त, कलिलै उमेरमा श्रीमान गुमाइसकेकी वृद्धा हुनुहुन्थ्यो । तैपनि, उहाँको कार्यक्षमता हेरेर हामी दंग पर्थ्यौँ । उहाँ दिनको एक समय मात्र भोजन गर्नुहुन्थ्यो । राति उपवास नै हुन्थ्यो । ओखर त दुई बंगाराबीच राखेर सेकेन्डमै फुटाल्नुहुन्थ्यो ।
हाम्रो घरमा चापाकल थिएन । सरकारी धाराबाट तोकिएको समयावधिका लागि मात्र पानी उपलब्ध हुन्थ्यो । हजुरआमा मोटामोटी पाँच सय फिट पर भएको चापाकलबाट करिब २५–२५ लिटर खाम्ने दुई बाल्टी पानी भरेर ठिमठिम गर्दै घरसम्म ल्याउनुहुन्थ्यो । दुई हातकै भरमा ती बाल्टी विस्तारै भर्याङ चढ्दै एक तलामाथि पुग्नुहुन्थ्यो । यसरी उहाँको दिनचर्या सुरु हुन्थ्यो, बिहानको चार बजे । अनि, सुत्न जानुहुन्थ्यो सारा घर सुतिसकेपछि ।
हजुरआमाको कोठासँगै सदैव ताल्चामा बन्द एउटा भन्डारगृह अर्थात् हजुरआमाको खजाना कोठा पनि हुने गर्थ्यो । त्यसको साँचो हजुरआमाले आफूसँगै राख्ने गर्नुहुन्थ्यो । खजाना कोठामा पिठो, चामलजस्ता अन्न त हुन्थे नै, साथमा हुन्थ्यो हामी भुराहरूले औधी नै मन पराउने अचार, पापड र मिठाइजस्ता सामग्री पनि ।
खजाना कोठामा प्रवेशको अनुमति पाउनु हामी फुच्चेहरूका लागि यूएस प्रवेशको अनुमति पाउनुजत्तिकै सम्मानजनक कुरो हुन्थ्यो । एक त उति बेला फोनको सुविधा थिएन, थप उहाँ बाथरोगबाट आक्रान्त ।
उहाँ सन्देशवाहक अथवा सहयोगीका रूपमा हामी फुच्चेहरूलाई नै ठाउँठाउँ कुदाइराख्नुहुन्थ्यो । पारिश्रमिकका रूपमा त्यही भन्डारगृहको भित्री कक्षमा प्रवेश अनुमति र आफूले इच्छाएको खानेकुराको रसस्वादन नै हुन्थ्यो ।
हजुरआमा निरक्षर हुनुहुन्थ्यो, तर बडेबडे ज्ञानी–पण्डित उहाँका अगाडि पराजित हुन्थे । हरेक ज्ञानका कुराको उद्गम उहाँको अनौठो उखानबाटै सुरु हुन्थ्यो । उहाँले हामी फुच्चेहरूलाई कुनै पनि काम अह्राउँदा हामीले ‘हुँदैन, सकिँदैन अथवा भ्याउँदिनँ’ भन्नै हुँदैनथ्यो । भन्यो कि उखान ठोकिहाल्नुहुन्थ्यो, “रोवतो जावँ मरा की खबर ल्याव !” (रुँदै जानेले त नराम्रै समाचार ल्याउने हो । अर्को शब्दमा, पराजित मानसिकताबाट घरबाट हिँडेको मान्छेले पराजयकै समाचार त ल्याउने हो ।)
उहाँ ईश्वरपरायण महिला हुनुहुन्थ्यो । साथै कर्म र परिणामको सिद्धान्तप्रति पनि उहाँको विश्वास उत्तिकै रहेको थियो । कसैको लापरबाहीले कुनै काम बिग्रियो अथवा आफ्नै बदमासीका कारणले चोट लगायौँ भने पनि उहाँ रिसले मुर्मुरिँदै भन्नुहुन्थ्यो, “चालनी मँ दूध दुहव, करम न रोव ?” (चाल्नोमा दूध दुहुन्छौ अनि भाग्यलाई सराप्छौ ? अर्को अर्थमा, होस पुरयाएर काम गरिएन भने दुःख त पाइन्छ नै ।)
हामी फुच्चेहरू पनि कम थिएनौँ, उहाँसित कुनै खानेकुरा अथवा पैसो तान्नुपर्दा अथवा अन्य कुनै कामका लागि फकाउनुपर्दा उहाँको प्रशंसागानमा लिप्त हुन्थ्यौँ । उहाँका गोडा मिच्न थाल्थ्याैँ । अनि, उहाँ मुस्कुराउँदै फर्काउनुहुन्थ्यो, “करनी न धरनी, नाम सुमरनी…” (कामधाम क्यै नगरेर नामको जपना मात्र गरिबस्नु ।)
अनि, हामी पनि एकसुरमा बोलकबोल गर्थ्याैँ, “हाम्लाई ठूलो त हुन दिनुस्, खुब काम गर्नेछौँ । हजुरका लागि पनि एकसे एक गिफ्ट किनेर ल्याउनेछाैँ ।”
यतिखेर उहाँको अनुहारमा वात्सल्य भाव प्रकट हुन्थ्यो । विस्तारै उठ्दै हाम्रो माग पूरा गर्नुहुन्थ्यो । र, चाउरी परेका खिरिला औँलाले हाम्रो कपाल सुम्सुम्याउँदै अर्को उखान ठोक्नुहुन्थ्यो, “रूप की रोव, करम की खाव” (रूपवान् रुन्छ, काम गर्नेले खान्छ ।)
आज उहाँले भन्नुभएका ती उखानहरूको मर्म बुझ्न थालेको छु, “रूपरंग भएर मात्र केही हुँदैन, जीवनयापनका लागि कर्म त गर्नैपर्छ ।”
एकपटक हाम्रो घरमा ठूलै हल्लीखल्ली भएको थियो । काकापट्टिको परिवार समेत मिलाएर घरमा हामी केटाकेटीहरूको संख्या कुल दश थियो । एक दिन सबैभन्दा जेठो दाइ बेपत्ता भएर ठूलै सुनामी आएको थियो ! उनको खोजतलासमा पूरै दिन बित्यो । तर, कतै फेला पार्न सकिएन ।
अन्त्यमा थाकेर प्रहरीमा जनाउ दिइयो । फलानो नाम भएको, उमेर, कद र बनोट यस्तो भएको, अमुक रङको लुगा लगाएको भनेर रिक्सामा ढ्वाङ माइक राखेर फुक्न समेत लगाइयो । तैपनि, कुनै सुराक हात लागेन । घरमा रुवाबासी सुरु भइसकेको थियो ।
साँझ सूर्यास्त हुनलाग्दा बेपत्ता भनिएका मेरा ठूल्दाइ पिताजीको सुत्ने कोठाबाट आँखा दल्दै बाहिर आए । ‘भोक लाग्यो’ भनेर खानेकुरा माग्न थाले । उनलाई एक्कासि प्रकट भएको देखेर सबैजना सुखद आश्चर्यमा डुबेका थिए ।
असलमा उति बेला प्रायः घरमा बच्चाहरूलाई सुत्न मिल्ने स–सानो खाट राख्ने गरिन्थ्यो । त्यस्ता ससाना खाट दिनभरि ठूला पलङमुनि राखिएका हुन्थे । राति सुत्ने बेलामा मात्रै झिकिन्थ्यो । र, बिहान काम सकिएपछि पलङमुनि पुनः थन्क्याइन्थ्यो ।
ठूल्दाइ त्यही पलङमुनि थन्क्याइएको खाटमा चोर–सिपाही खेल्ने क्रममा लुक्ने नियतले गएका रहेछन् । र, केही बेरमै भुसुक्कै निदाएछन् । साँझ लामखुट्टेले दुःख दिन थालेपछि मात्र उनी निद्राबाट जागा भएछन् ।
उक्त भेद खुलेपछि सबैजना मरी–मरी हाँस्न थाले । अनि, हजुरआमाले व्यंग्यात्मक पारामा भन्नुभयो, “घर म छोरो, गाँव म ढिँढोरो !” (छोरो घरमै, गाउँभरि खानतलासी !)
निकैपछि हजुरआमाले उक्त उखानको मूलमर्म हामी फुच्चेहरूलाई अवगत गराउनुभएको थियो, “हाम्रा समस्याहरूको समाधान प्रायः हामीभित्र नै हुन्छ । यसर्थ, समाधान खोज्ने काम भित्रबाटै सुरु गरिनुपर्दछ ।”
हाम्रो परिवारमा बच्चा, केटाकेटीहरूको जमात आफैँमा ठूलो थियो । त्यसमाथि छरछिमेकका बच्चाहरू पनि हाम्रो गुटमा सामेल भइहाल्थे । स्कुलबाट फर्किएदेखि अबेर रातिसम्म थरीथरीका समूहगत खेल खेलिराख्थ्याैँ । झैझगडा पनि उत्तिकै मात्रामा हुन्थ्यो ।
कहिलेकाहीँ झगडा उग्र भएपछि दाजुभाइ अथवा भाइबहिनाबीच बोलचाल नै पनि बन्द हुन्थ्यो । अनि, हाम्री आमाहरूलाई तनाव हुन्थ्यो । तर, हजुरआमा तनावमुक्त रहनुहुन्थ्यो । “तेरी मेरी बन ना, तेरा बिना सर ना” (तिम्रो र मेरो कुरो मिल्दैन, तर तिमीबगैर मेरो काम पनि चल्दैन) भन्दै आमाहरूलाई सम्झाउनुहुन्थ्यो, “बच्चाहरूको झगडा भनेको पानीको फोकाजस्तै हो । एक छिनअगाडि देखापरेको छ, केही बेरमै हराइहाल्छ । किन टाउको दुखाएकी ?”
हिन्दी फिल्म ‘शोले’मा वसन्तीकी सानीमा (मौसी)को भूमिकामा खेल्ने अभिनेत्री लीला मिश्राको अभिनय त अब्बल नै थियो । तिनको अनुहार, पहिरन र हाउभाव पनि ठ्याक्कै हाम्री हजुरआमाजस्तै रहेको देखेर सो फिल्म हजुरआमालाई देखाउन खोज्दा उहाँ मान्नु भएन । उति बेला त हजुरआमासित कुरो गर्दा ‘कमाल करती हैं मौसीजी, आप भी !” भनेर हाम्रो थेगो नै भएको थियो ।
उहाँलाई हँसाउने जति प्रयास गरे पनि मुस्कुराएर मात्र काम चलाउनुहुन्थ्यो । उहाँलाई खुलेर हाँसेको हामीले कहिल्यै देखेनौँ । मानौँ, उहाँको छातीभित्र गुजुल्टेर बसेका पीडाले सायद अनुमति नदिएका होऊन् !
कहिलेकाहीँ उहाँको उखान उहाँमाथि नै प्रयोग गर्न पाउँदा हामीलाई झनै मज्जा लाग्थ्यो । एक बिहान घरको भुइँतलामा ठूलै चोरी भयो भनेर हल्लाखल्ला भएछ । अनुसन्धान गर्दै जाँदा हजुरआमाको साबुन पनि चोरी भएछ भन्ने थाहा भयो ।
एकसे एक दामी सामानहरू चोरी भएको भनेर सबैजना पीडा पोख्दै थिए भने हजुरआमा फगत एउटा साबुनको पीडामा बेहाल हुनुहुन्थ्यो । “रमर्यौ ! मेरी साबन चुरा लियो ।” (मोरो ! मेरो साबुन चोरेर लग्यो ।)
गरगहना अथवा रंगीचंगी पहिरनबाट जमानाअगाडि नै विरक्तिनुभएकी हजुरआमालाई जाबो एउटा साबुनप्रति यतिबिघ्न आशक्ति किन ! भनेर हामीलाई समेत अचम्म लागेको थियो ।
हामी फुच्चेहरूले पनि आएको मौका त्यतिकै खेर जान दिएनाैँ, हजुरआमाको उखान हजुरआमाउपर नै ठोकिहाल्याैँ, ‘मोहर लुटाव, कोयलामा छाप !’ (असल रुपैयाँ लुटाउँदै, कोइलामा आशक्ति !)
आज हजुरआमा हाम्रो माझमा हुनु हुन्न । उहाँ मात्र होइन, मेरा बा र काका पनि यो सांसारिक चोलाबाट मुक्त भइसक्नुभएको छ । कीर्ति सिनेमाघर त अलप भएको जुग नै बितिसकेको छ । कीर्ति सिनेमा हलपछि आएको विद्या चलचित्र मन्दिर, अप्सरा सिनेमा, दुर्गा टाकिज र सत्या सिनेमा पनि स्मृतिशेष भएका छन् ।
ठिकै भन्छन् भन्नेहरू, “चराचरजगत्मा शाश्वत भनेको कोही केही हुँदैन ।” तर, हजुरआमाका ती दामी–दामी उखानहरू, उति बेलाका सिने कलाकारका ती दमदार अभिनय र कीर्ति सिनेमाघरसित हाम्रो बाल्यकालीन साइनो आज पनि स्मृतिपटलमा जीवन्त छ । र, जीवनपर्यन्त जीवन्त नै रहिरहलान् ।