
अखिलेशबाबु नेपालका अति प्रतिष्ठित उद्योगपति हुन् । उनलाई नपत्याउने कुनै राजनैतिक शक्ति नै छैन देशमा । धितोजमानी केही नराखे पनि उनले जुनसुकै बैंकबाट जति पनि कर्जा पाउन सक्छन् । जस्तोसुकै उद्योग स्थापना गर्न चाहे, सहजै अनुमति पाउन सक्छन् । उनी सम्पन्न परिवारका मुखिया हुन् भनेर उनको शरीरको वजन र आयतनबाट सहजै अनुमान गर्न सकिन्छ । उनी ख्यालख्यालमा सफल भएका होइनन् । मैत्रीकलाको मामिलामा उनले विद्यावारिधि नै गरेका छन् । “जसरी लाभ नदिने औषधी प्रयोग गर्नुको कुनै औचित्य हुँदैन, ठीक त्यस्तै लाभ नदिने मित्रसित टाँसिएर बसिराख्नुको कुनै औचित्य हुदैन,” भन्ने उनको मान्यता रहेको छ । त्यही भएर होला, उनी प्रभावशाली अथवा शक्तिसम्पन्न व्यक्तिहरूसित मात्र मित्रता राख्न रुचाउछन् । सानातिना मान्छेसित हात मिलाउनु पनि अपव्यय नै लाग्छ उनलाई ।
उनको अर्को पनि ठम्याइ छ, जसरी हरेक औषधीको प्रयोग म्याद हुन्छ, त्यस्तै मित्रहरूको प्रयोगको पनि म्याद हुन्छ । त्यही भएर होला, उनी कुनै सेवानिवृत्त हाकिम अथवा सत्ताच्युत पार्टीको नेतासित मित्रता राख्दैनन् । जसरी बजारमा डिस्पोजेबल सामग्रीहरुको प्रयोग बढ्दो हो, त्यस्तै उनी पनि डिस्पोजेबल अर्थात युज एण्ड थ्रो खाले मित्रतामा विश्वास राख्छन् । क्यालकुलेटर त उनको मगजमै जडान गरिएकोजस्तो लाग्छ मलाई । त्यही भएर होला, उनी बेलाबखत भनिराख्छन्, ‘कुनै पनि निर्णय हृदयनगरबाट होइन, मगजपुरबाट लिनु पर्छ । कस्तो आपतविपद् कसरी लगानी गर्दा मूल, सुद, नाफा र प्रसिद्धि असुलउपर गर्न सकिन्छ भन्ने काइदा उनले खुबै जानेका छन् । त्यही भएर होला, उनी हरेक खाले दैवीयविपदामा अग्रणी भूमिका निर्वाह गरेका हुन्छन् ।
माफ गर्नु होला, मैले आफ्नै परिचय दिन छुटाएँ । म उनकी निजी सचिव हुँ, दामिनी । बेलाबखत उनकी परिचारिकाको भूमिका निर्वाह गर्छु । उनीसँगै नेपालबाहिर गएको बेला उनको सहधर्मिणीको भूमिका मैले नै निर्वाह गर्नु परेको हुन्छ । सो बापत उनले अतिरिक्त सुखसुविधा र शुल्क पनि इमन्दारीपूर्वक बेहोर्ने गरेका छन् । निसंकोच भन्छन्, “दामिनी जबसम्म तिम्रो जवानी र मेरो पहलमानीमा दम रहन्छ, तबसम्म म कुनै बेइमानी गर्दिनँ ।”
उनको जति ठूलो कार्यभार उति नै गहन व्यस्तता । तथापि उनी जति व्यस्त भए पनि सुस्वास्थको मामिलामा कुनै किसिमको हेलचेक्र्याईं गर्दैनन् । बिहान आँखा खुल्नेबित्तिक्कै उनी दिनहुँ सिरानी मुनिबाट योगप्राणायामबारे लेखिएको एउटा मोटो किताब झिक्छन् । पानाहरू पल्टाएर कम्तिमा एक दर्जन जति आसन ध्यानपूर्वक नियाल्छन् । र, श्रद्धापूर्वक निधारमा छुवाएर सो किताब पुनः त्यही सिरानीमुनि राख्छन् । त्यही ओछ्यानमै बसेर दुई-तीन मिनेट अनुलोमविलोम र कपालभाँति गर्छन् । र, दस मिनेट जति शवासन गर्छन् । अन्त्यमा कार्वन डाइअक्साईड विसर्जनका साथ आफ्नो शारीरिक व्यायामको विधिवत् समापन गर्छन् ।
योगप्राणायामपछि उनको फोन सम्वाद सुरू हुन्छ । एक दर्जन ठाँउमा फोन घुमाउँछन्, अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर, क्रुड आयल र सुन इत्यादिको अद्यावधिक मूल्य जाँचपडताल गर्छन् । तत्पश्चात् मलाई निर्देशन दिन्छन् । नेपालमै भएको बेलामा फोनमार्फत, अन्यथा कोठामै बोलाएर । बल्ल उनको तल्लो उदरमा कुतकुती सुरू हुन्छ र उनी बाथरुममा पस्छन् । उनको उदर खन्याउने अभियान कम्तिमा एक घन्टा चल्दो रै’छ । त्यही भएर उनले समयको कदर गर्दै उनी ट्वीट, फेसबुक आदिमा आफ्ना प्रेरणादायी सन्देश सम्प्रेषित गर्ने काम बाथरुमभित्रै सक्छन् ।
“उनी धर्मकर्ममा समय दिँदैनन्” यसो भन्न पनि मिलेन । बिहान तयार भएर उनी सर्वप्रथम घरभित्रै अवस्थित भगवानकोठामा पस्छन्, अगरबत्ति बालेर लगभग एक दर्जनजति मागपत्र ईश्वरसमक्ष प्रस्तुत गर्छन् । कुनै अन्यथा नलागोस्, उनी एकतर्फी रुपमा माग मात्र राख्दैनन्, बरु दुई तर्फी लेनदेनको प्रस्ताव नै राख्छन् । हे भगवान्, तिमी मलाई अमूकअमूक खालको लाभ गराई देऊ, सट्टामा म पनि तिम्रो दरबारमा फलानोफलानो भेट चढाउने छु । भगवानलाई उनको प्रस्ताव आकर्षक लागेर होला, उनको प्रार्थना कहिल्यै टार्दैनन् । उनको आम्दानी दिन‑दोब्बर रात्री‑चौब्बर हुँदै गएको छ ।
एक वर्ष पुरानो घटना हो । दिपावलीको पूर्वसन्ध्याको अवसर थियो । साँझ उनी आफ्नो कारमा कतै जाँदै थिए, सँगै म पनि थिएँ । बाटामा एउटा मन्दिरतिर उनको ध्यान गयो, पूर्ण रुपेण अँध्यारोमा डुबेको मन्दिर ! उनलाई अनौठो लाग्यो । हामी गाडीबाट ओर्लिएर मन्दिरभित्र पस्यौँ । मन्दिरको पुजारीलाई सोध्दा थाहा भयो- अपर्झट लोडसेडिङको मारमा परेर मन्दिर भित्र-बाहिर अँध्यारो भएको हो । “छ्या ! दिपावलीको अवसरमा त मन्दिर झनै झिलिमिली हुनु पर्ने थियो ।” उनलाई उकुसमुकुस भयो । उनले दुवै हात जोर्दै भगवानलाई मनमनै प्रस्ताव राखे, “हे भगवान ! तिम्रो यो मन्दिरलाई तीन दिनसम्म झिलीमिली राख्ने जिम्मा मेरो भयो । बरू सोधभर्नामा तिम्ले पनि मेरो एउटा सानो काम फत्ते गरिदिनु पर्ला । मन्त्रालयमा एउटा फाइल अडकेको छ, त्यो फुकुवा गराइदिनु पर्ला ।”
प्रस्ताव सकिएलगत्तै उनले पुजारीलाई उदार मालिकको पारामा सोधे, “पुजारी बाबा, यो मन्दिरलाई तीन दिनसम्म तैलीय दियोबत्तीले झिलिमिली गरिराख्न कति खर्च वहन गर्नु पर्ला ?” पुजारीले आभारभावका साथ जजमान पाँच हजार जति रुपैयाँ भयो भने तपैँले चिताएजस्तै झिलिमिली गर्न सकिन्छ ।”
“जम्मा पाँच हजारले काम चल्छ ?” अखिलेशबाबुलाई अचम्भ भयो ।
“हो चल्छ,” पुजारीले आत्मविश्वासका साथ दोहर्याए । उनले आफ्नो गोजीबाट आतुरीमा पाँच हजार झिकेर पुजारीको हात राखे । गाडीमा फर्किएपछि उनले मलाई हाँस्दै भने, “दामिनी, आज मभित्र उदारताको सुनामी नै चलेको थियो, पुजारीले लाख रुपैयाँ पनि मागेको भए म सजिलै दिन्थेँ तर खै, मेरो उदारता ठम्याउनै सकेनन् उनले ।” भन्दै उनी हो हो गरी हाँस्न थाले । त्यो दिन मैले बल्ल बुझेँ, “उनी त ईश्वरभन्दा ठूला भएका छन् । जुन ईश्वरको कृपा भएर उनले त्यत्रो धन आर्जन गरेका छन्, त्यही ईश्वरको घर आज उनको उदारतामा निर्भर भएको छ ।”
उनी आम्दानीको निमित्त मात्र मरिहत्ते गर्छन् भन्ने कुरो पनि होइन रहेछ । समाजसेवामा खर्चिनु पर्दा अप्ठेरो मान्दैनन् । गरिब-दीनदुःखीको पीडा देख्नै सक्नु हुन्न । खासगरी दुरुस्त काया र सुन्दर मुहारकी अप्ठेरोमा परेकी कोही महिला आँखाअगाडि पर्ने बित्तिक्कै भने उनको उदारमन झनै फराकिलो भइदिन्छन् । उनीभित्र लुकेको कामदेव सक्रिय भइदिन्छ । उनले इच्छाएअनुसारको कुरो मिल्यो भने बाक्लो सहयोग, अन्यथा थोरबहुत भए पनि आर्थिक सहयोग अवश्य नै गर्छन् ।
गत सोमबारका दिन उनको अति ब्यस्तम् दिन भएको थियो । “आज बेलुकी मलाई साँझ ४ बजे होटल हयातमा एक बहुराष्ट्रिय कम्पनीका डेलिगेट्सका साथ बस्नु नै पर्ने । बैठक छुट्नुको अर्थ करोडको परियोजना गुम्न सक्ने । तीन महिनादेखिकै तयारी ! दुर्भाग्यवस ठ्याक्क त्यही बेला मलाई आर्यघाट पनि पुग्नु पर्ने भयो । मेरो एकजना बाल सहपाठी मित्रको आकस्मिक मृत्यु भएको छ । ऊ कम्तिमा आफ्नो मृत्युवरण एक दिन अगाडिपछाडि पनि गर्न सक्थ्यो नि ! तर उसलाई आज नै मर्नुपर्ने थियो । उसको छोरो नेपाल सरकार प्रथम श्रेणीको राजपत्रांकित कर्मचारी छ । आज होइन भने भोलि त कुनै न कुनै काम परिहाल्छ । फेरि आज नै साँझ ६ बजे सम्मानीय प्रधानमन्त्रीले निमन्त्रणा गर्नु भएको रात्रिभोजमा सामेल हुनु पर्ने । भोलि बिहान जर्मनीको निमित्त उड्नु पर्ने,” यावत अपर्झट आइपरेको धर्मशंकटउपर उनी बिहानदेखि नै गनगन गर्दै थिए ।
तर जेहोस्, अखिलेशबाबु त बहुमुखी प्रतिभाका धनी रहेछन् । दुई बजेसम्म उनले अनौठा जुक्ति निकालिसकेका थिए । बेलुकी चार बजे आर्यघाट नगई एक घन्टाअगावै दिवंगत मित्रको घरमा पुग्ने, साधारण कुर्तापैजामाको पहिरन लगाएर । त्यहाँ शोकसन्तप्त परिवारको बीचमा आधा घन्टाजति समय व्यतित गरेर त्यहाँबाट उम्किने । ह्यातको काम सकाएर छ बजेसम्म बालुवाटार छिरिहाल्ने । उनले आफ्नो योजनाबमोजिम सेता रङको तैयारी कुर्तापैजामा झिकाइसकेका थिए ।
बेलुकी दुई तीसमा उनी अफिसबाट सेतो कुर्तापाइजामामै निस्के, सँगै म पनि थिएँ । दिवंगत मित्रको घरभित्र गोडा टेक्न नपाउँदै अखिलेशबाबुको रोदनक्रन्दन र विलाप सुरु भयो । दिवंगतको पार्थिव शरीरसित टाँसिएर उनले निकै बेरसम्म अश्रुका थोपा चुहाइराखे । उनको अवस्था देखेर त मेरा आँखा पनि रसाएका थिए । आधा घन्टाको विलापपछि उनी कसैलाई कुनै सुईको लाग्न नदिई त्यहाँबाट लुसुक्क हिँडे, सँगै म पनि । गाडीमा बस्दासम्म उनी फरक मान्छे भइसकेका थिए । उनको अनुहारमा एकपैसोको दुःख अथवा पीडाको छनक देखा परेन । त्यो दिन म उनको रङ्कौशलको कायल नै भएको थिए ।
उनले गाडीमा बस्याबस्यै कुर्तापैजामा फुकालेर सुटबुट र गरगहना धारण गरे । घडी, औँठी र सिक्री इत्यादि जोरेर हिसाब निकाल्ने हो भने दसपन्ध्र लाख रुपैयाँका सरसमान त उनले आफ्नो पहिरनमा सामेल गरिसकेका थिए । केही बेरअगाडिसम्म शोकाकुल परिवारका अगुवाझैँ देखिने अखिलेशबाबु यतिखेर सेलिब्रेटी हिरो जस्तै भएका थिए । एकसरो उनीतिर नै हेर्दै गरेको भेउ पाएर उनले मलाई स्पष्ट्याए, “हेर दामिनी, आजको आडम्बरी जमानामा तिमी भित्रबाट कति चोखी छ्यौ, कसैले वास्ता गर्दैन, बाहिरबाट आफू चिटिक्क परेकी र सम्पन्न देखाउन सक्नु पर्छ ।”
ह्यातमा उनको तार्किक प्रस्तुति र आत्मीय व्यवहारबाट पाहुनाहरु सम्मोहित नै भएका थिए । उनको साझेदारीमा सोलार बिजुलीको उद्योग लगाउने पाहुनाहरूले सहमति जनाए । स्याम्पेन खोलियो, चियर्सभन्दै दुई प्रतिष्ठित प्रतिष्ठानबीचको साझेदारी दीर्घकालीन रहोस् भनेर कामना गरियो । गम्भीर बैठक हँस्यौलीठट्यौलीमा परिणत भयो । समय बित्न बेर नै लागेन । बाध्य भएर मैले नै उनलाई साउती गरे, “सर अब निस्किनु पर्यो, पाँच तीस भयो ।”
उनी र म हतारहतार त्यहाँबाट निस्कियौ । गाडीभित्र बस्याबस्यै उनी पुनः आफ्नो पहिरन फेर्ने उपक्रममा लागे । यो पटक उनी दाउरा सुरुवाल र ढाका टोपी लाउने सुरमा थिए । मलाई अचम्भ भयो, “सुट‑टाई पनि हजुरलाई सुहाएकै थियो, किन फेर्नु पर्यो ?”
“कस्तो लाटीजस्तो कुरो गरेकी ? पाँच वर्षदेखि मेरो निजी सचिव छ्यौ, यति पनि अर्थ्याउन सक्दिनौ ?” मायालु पारामा मलाई हप्काउँदै उनले स्पष्ट्याए, “हेर, रात्रिभोजमा थुप्रै मन्त्री र उच्चपदस्थ सरकारी हाकिमहरू पुग्ने छन् । विभिन्न वैदेशिक नियोगका राजदूतहरू पनि पुग्दैछन् । त्यस्तो अवस्थामा आफूलाई कट्टर राष्ट्रवादीको रुपमा प्रस्तुत गर्न पाउने मौका मैले कसरी चुक्नु ?”
कसैलाई फोन गरेर उनले सल्लाह गरे, “मैले कुनकुन कुरा, कसोकसो राख्दा प्रधानमन्त्री मख्ख पर्नु हुन्छ ? बाफ रे यिनी त कहिल्यै नथाक्ने कर्मयोगी पो रहेछन्, मनमनै गम्न म बाध्य भएँ ।
खैर मलाई मेरो फ्ल्याटसम्म पु्र्याएर उनी बालुवाटारको निमित्त हिँडे । अर्को दिन म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलि चाँडै पुगेँ । अखिलेशबाबुको त्यस्तै निर्देशन थियो । सुरक्षा जाँच आदि सकेर बोर्डिङ लन्जमा बसेकी थिए । उनी हस्याङ्गफस्याङ्ग गर्दै बोर्डिङ लन्जमा पुगे । रिसाएको जस्तो भंगिमा बनाउँदै मभन्दा अलि परको कुर्सीमा बसे । मुख बङ्ग्याउँदै फोन गरेर भने, “हिजो मेरी श्रीमतीको जन्मदिन थियो, तिमीले किन सम्झना गराइनौ ? हिजो घर फर्किंदा कस्तो बेमज्जा भयो मलाई । श्रीमतीलाई फकाउन हम्मे पर्या थियो मलाई ।”
“ला, हजुरकी श्रीमतीको जन्मदिन पनि सदैव मैले नै सम्झाइराख्नु पर्ने ?” मैले अचम्म मान्दै मसिनो स्वरमा फर्काएँ ।
“हो त नि, एक हिसाबले तिमी पनि मेरी अघोषित श्रीमती नै हौ,” उनले दायाँबायाँ हेर्दै मसिनो स्वरमा थपे ।
प्लेनमा बस्दासम्म उनको रिस वाष्फ भइसकेकको थियो । केही बेरपछि उनी मेरो छेउको सिटमा आएर बसे । हाँस्दै भने, “ तिम्लाई थाहा छ दामिनी हिजो राती श्रीमतीको क्रोधलाई शान्त पार्न के गर्नु पर्यो मैले ?”
“हजुरले नभन्दासम्म कसरी थाहा हुनु ?” मलाई कौतुहल भयो ।
“श्रीमतीको रातोपिरो अनुहार हेर्नेबित्तिक्कै म बुझिसकेको थिए, दाल में कुछ काला है ! बस् मैले पनि मेरो रोदनक्रन्दनको एक्टिङ्ग दोहोर्याइदिएँ । लौ जा ! आर्यघाटमा मित्रको अन्त्येष्टि सकेर सोझै घर आउँदै छु । बेलुकादेखि केही खान नपाएर आन्द्राभित्र सुनामी चल्दै छ ।”
“अनि उनले पत्याइन् त ?” मैले अचम्भ मान्दै सोधेँ ।
“अरे, किन नपत्याउनु ? उसको क्रोध त करुणामा परिवर्तित भएको थियो । उनी त मलाई निकै बेरसम्म माया गरेर सुम्सुम्याई राखी । बरू याद राख्नू, जर्मनीबाट फर्किन लाग्दा उसका लागि कुनै दामी उपहार किनेर ल्याइदिनु पर्ला !”
उनको कुरो सुनेर मेरो मुखबाट हठात् निस्कियो, “मान गए उस्ताद !” केही बेरपछि मैले जिज्ञासा प्रकट गरेँ, “तपाईंभित्र त एक राजनीतिज्ञभित्र हुनुपर्ने सबै गुण छन्, राजनीतिमा किन छिर्नु भएन त ?“
उनको अनुहारमा मन्द मुस्कानको आभा प्रकट भयो, “तिमी हेर्दै जाऊ, लेनदेनको बार्गेनिङ चल्दैछ । आउँदो आमनिर्वाचनमा कुनै एक राजनैतिक पार्टीको समानुपातिक कोटाबाट सभासद् बन्ने तयारी गर्दैछु ।”
म ट्व्वाँ परेर उनीतिर हेरिरहेँ ।